काठमाडौं । भारतबाट आमाबुवासँगै घर फर्किएकी बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाकी बालिकाको आइतबार विहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । दुई वर्षिया बालिका सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, बालिकामा झाडापखाला, ज्वरोका साथै श्वासप्रश्वासमा समेत समस्या भएको थियो । स्वास्थ्यमा जटिलता आएपछि स्थानीय क्वारेन्टाइनबाट जेठ १५ गते बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन जेठ १६ गते गरिएको थियो । उनकी आमालाई पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ । बुवामा भने कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
आइसोलेसनमा भर्ना हुनु अघि बुढीगंगा —१ स्थित स्थानीय विद्यालयको क्वारेन्टाइनमा परिवारसँग बसेकी थिइन । भारतबाट बुवाआमासँगै उनी आठ दिन अघि स्वदेश फर्केको डा. देवकोटाले जानकारी दिए ।उनको स्वाब परीक्षण सेती प्रादेशिक अस्पतालमा गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा कोराना भाइरसबाट ज्यान गएको यो पहिलो घटना हो ।
यस बाहेक मृत्यु भएका अन्य तीन जना व्यक्तिमा पनि कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण भइरहेको छ । डडेल्धुराका ६ वर्षिय बालक र गुल्मीका ५६ वर्षिय वर्षिय र काठमाडौंको नीजि अस्पतालमा मृत्यु भएका गरि कुल तीन जना मृतक व्यक्तिको सम्बन्धमा परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए ।
२ सय १९ जनाको डिस्चार्ज
कोरोना संक्रमितको अस्पताल बसाई औसत १६ दिन रहेको छ । निको भएपछि अस्पतालबाट डिस्चार्ज हुनेको कुल संख्या २ सय २० पुगेको छ । कोरोना जितेकामध्ये १ सय ७२ जना पुरुष र ४८ जना महिला छन् ।
डा. देवकोटाका अनुसार कोरोना संक्रमणको पुष्टि भएका एक हजार तीन सय ४९ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । एक लाख १९ हजार १ सय ९२ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन ।
कति भयो परीक्षण ?
अहिलेसम्म पीसीआर विधिबाट कुल परीक्षण ६९ हजार पाँच सय ८२ पुगेको छ । आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट चार हजार ५४ वटा नमूना परीक्षण गरिएको छ । डा. देवकोटाका अनुसार पछिल्लो समय पीसीआर र आरडीटी विधिबाट गरिएको परीक्षणको दायरा क्रमशः विस्तार गरिएको छ ।

