काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक भए। भदौ २४ गते निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण र घरमा आगजनी भएको थियो।
सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि पनि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए।
सभापति देउवाले आफू र परिवारका सदस्यको ज्यान लिने हिसाबले आक्रमण गरिएको बताए। आफूहरूलाई घन्टौंपछि उद्धार गरिएको बताउँदै उनले उद्धार गर्नेहरूलाई धन्यवाद पनि दिए।
त्यसयता सभापति देउवा उपचारमा थिए र स्वास्थ्य लाभ गरिरहेका थिए। केन्द्रीय समिति बैठक कक्ष प्रवेश गर्दै गर्दा पत्रकारहरूले स्वास्थ्य अवस्थाबारे सोधेका थिए। त्यसबेला देउवाले ठिकै छ भन्ने संकेत मात्रै गरेका थिए। तर सम्बोधनको अन्तिममा उनले आफूलाई अझै समस्या रहेको बताए।
‘कहिलेकाहीँ चक्कर (रिँगाटा चल्ने) समस्या छ,’ उनले भने, ‘धेरैबेरसम्म एकै ठाउँमा बोल्न र बस्न सक्दिनँ।’

