काठमाडौँ, नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोके बमोजिमको पारिश्रमिक नर्सलाई दिन नसक्ने जनाएको छ।
एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउदै नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा दिन नसक्ने भन्दै सरकारलाई चुनौती दिएको हो।
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरुको आर्थिक संरचना लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रुपमा फरक भएकाले समान पारिश्रमिक दिन नसकिने जनाईएको छ।
एसोसिएसनका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनेका छन्, ‘नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।’
मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक ३४,७३० रुपैयाँ र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो।
मन्त्रालयको निर्देशन पछि सेवा सुविधा नपाएको भन्दै कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरुले आन्दोलनमा छन्। नर्सहरुको आन्दोलन पछि मन्त्रालयले पुन पत्र पठाउदै सरकारी बमोजिम पारिश्रमिक दिन निर्देशन दिएको थियो। एशोसिएसनका अनुसार निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक भएकाले समान पारिश्रमिक लागू गर्न कठिन छ।
पत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरू
१. निजी मेडिकल तथा डेन्टल कलेजहरूले प्रचलित श्रम ऐन तथा नियमावली अनुसार नै पारिश्रमिक निर्धारण गर्दै आएका छन्। स्वास्थ्यकर्मीहरूको अनुभव, दक्षता, जिम्मेवारी र सेवाकालका आधारमा पारिश्रमिक क्रमशः वृद्धि हुँदै जाने व्यवस्था समेत गरिएको छ। कतिपय अवस्थामा अनुभवी नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको भन्दा उच्च पारिश्रमिक प्रदान गरिएको तथ्य पनि विद्यमान छ ।
२. सरकारी संस्थानहरूका पूर्वाधार, उपकरण, जनशक्तिमा सरकारको प्रत्यक्ष लगानी तथा अनुदान उपलब्ध हुने गर्छ, भत्ता र सुविधा राज्यको बजेटबाट व्यहोरीन्छ भने निजी मेडिकल तथा डेन्टल कलेजहरूले आफ्नै आम्दानी र स्रोतहरूबाट ती खर्चहरू व्यवस्थापन गर्नुपर्छ अधिकांश निजी कलेज र अस्पतालहरू बैंक ऋणमार्फत सञ्चालनमा रहेका छन् ।
३. निजी मेडिकल तथा डेन्टल कलेजहरूले स्वास्थ्य बीमा बोर्ड लगायत सरकारका विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरू अन्तर्गत प्रदान गरिने सेवाहरूमा नेपाल सरकारले तोकेको दरमै सेवा शुल्क लिने गरेका छन् । सेवा शुल्क सरकारी दरमा लिने र पारिश्रमिक पनि सरकारी सरह गर्नाले आर्थिक सन्तुलन कायम गर्न व्यावहारिक देखिदैन ।
४. निजी क्षेत्रले स्वास्थ्य शिक्षा र उपचार सेवामा गुणस्तर सुधारका लागि निरन्तर लगानी गर्दै आएको छ । यस्ता अवस्थामा सरकारी सरह पारिश्रमिक लागू गर्दा आर्थिक दिगोपनामा नकारात्मक असर पर्न सक्ने, शिक्षण गुणस्तर, सेवा निरन्तरता र रोजगार सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ ।
५. यस एशोसिएसनले चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, उचित पारिश्रमिक, सुरक्षात्मक कार्य वातावरण र सामाजिक सुरक्षा सुनिश्चित गर्न सधैं प्रतिबद्ध रहेको स्पष्ट गर्दछ। यस सन्दर्भमा, मन्त्रालय, सम्बन्धित निकाय र निजी क्षेत्रबीच सहकार्य र संवादद्वारा व्यावहारिक, दिगो र सबै पक्षको हित हुने समाधान खोज्न प्रस्ताव गर्दछौं।
एशोसिएसनले सरकारी सरह पारिश्रमिक लागू गर्न खोजिए निजी स्वास्थ्य शिक्षाको दिगोपनामा नकारात्मक असर, सेवा निरन्तरता र रोजगार सुरक्षामा जोखिम आउन सक्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी स्वास्थ्यकर्मीहरूको हकहित, उचित पारिश्रमिक र सुरक्षित कार्य वातावरणप्रति प्रतिबद्ध छौं। तर समाधान संवाद र सहकार्यबाटै खोजिनुपर्छ।’
सरकारले निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ। मन्त्रालयको निर्देशन पछि एसोसिएसनले पारिश्रमिक बढाउन नसकिने भन्दै पत्र पठाएको हो।‘हामीले अरु केही भनेका होइनौँ सरकारले तोकेको हाम्रो न्युनतम पारिश्रमिक दिनुहोस् भनेका हौँ,’आन्दोलनरत पक्षको एक जना एक जना नर्सले भनिन्, ‘स्टाफ नर्स (पाँचौँ तह)को तलव सरकारले ३४ हजार ७३० रुपैयाँ तोकेको भए पनि आफूहरु त्यसको आधा भन्दा कम रुपैयाँमा सेवा दिन बाध्य भइरहेपछि आवाज उठाएको हो । मणिपालमा कसैलाई ९ हजार ३००, कसैलाई १० हजार ५०० रुपैयाँ बेसिक स्यालरी भनेर तोकिएको छ । नाइट डिउटी भत्ता १२५ रुपैयाँ तोकिएको छ । रातीको १०\१२ घण्टा काम गरेर १२५ रुपैयाँ जायज हो ?’
उनले तलव तथा भत्ता गरेर खातामा १५ १६ हजार रकम आउने गरेको बताईन् ।
नेपाल नर्सिङ एसोसिएसनका रमेश सुब्बा आन्दोलनरत नर्सहरुको माग र वस्तुस्थिति बुझ्न पोखरा पुगेका थिए । उनले पनि नर्समाथि श्रम शोषण भएको बताए ।‘डिउटी आवर, बिरामीको लोड कति हो कति, तर सुविधा भने लाजमर्दो छ । एउटा नर्सले आइसीयूमा ५ ६ जना बिरामी हेर्नु पर्दो रहेछ, जनरल वार्ड तिर त २५, ३० जना बिरामी हेर्नु पर्ने । तर सुविधा भने दशैं पेस्की पनि बेसिक तलवबाट एक एक हजार कटाएर दिदो रहेछ । यो त अन्याय भयो । अब बेसिक तलव सोध्नुहुन्छ भने लाजमर्दो नै छ,’ उनले भने ।
मणिपाल मेडिकल कलेजले नर्सहरुको आन्दोलनपछि तलव सुविधा बढाउने निर्णय भएको बताएको छ । अस्पताल प्रशासनले नयाँ प्रस्ताव गरेको तलव अनुसार एक वर्ष अनुभव भएको बीएस्सी र बीएन स्टाफ नर्सको तलव २९ हजार ५८७ रुपैयाँ गर्ने भनिएको छ । यस्तै पीसीएल स्टाफ नर्स एक वर्ष अनुभवीलाई २८ हजार ५८७ रुपैयाँ र सीएमए अनमीहरु जो एक वर्ष अनुभवी छन्, उनीहरुको २६ हजार ५८७ रुपैयाँ तोक्ने निर्णय भएको बताइएको छ । कलेजले फ्रेस स्टाफ नर्सको तलव २४४ हजार २८७ रुपैयाँ तोकिएको समेत उल्लेख गरेको छ । कलेज सञ्चालक शान्तराज बतासले नयाँ प्रस्तावमा अधिकांश नर्सहरुले समर्थन जनाएको बताएका छन् ।
तर आन्दोलनरत नर्सले अस्पताल प्रशासनको नयाँ प्रस्तावलाई आन्दोलनरत पक्षले अस्विकार गरेको दावी गरेकी छन् । अस्पतालमा कार्यरत २८० बढी नर्सहरु आन्दोलनमा हुँदा बिरामीहरुको उपचारमा समेत असर परेको छ ।

