भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा कर्मचारी शनिबार बिहान एउटा मेडिकल रिपोर्टको नतिजा थाहा पाउँदा निकै खुसी भए । रिपोर्ट थियो– बिरामी लक्ष्मणकिशोर चौधरीले शुक्रबार तीन लिटर पिसाब गरे । बिरामीको प्रगति विवरण हेर्न भक्तपुरस्थित अस्पतालको पोस्ट अपरेसन कक्षमा पुगेका डा. पुकार श्रेष्ठको आँखा हर्षले चम्किलो भयो ।
‘उहाँको मिर्गौला प्रत्यारोपण भएको यो तेस्रो पटक हो । यसरी तेस्रो पटक प्रत्यारोपण गरिएको घटना नेपालमै पहिलो हो’ डा. श्रेष्ठले भने, ‘प्रत्येक पटक प्रत्यारोपण जटिल बन्दै जाने हुँदा जोखिम उच्च हुन्छ, यसका बाबजुद हामीले सफल प्रत्यारोपण गरेका छौं ।’
अस्पतालले स्थापनाको १३ वर्षमा १५ सयको मिर्गौला प्रत्यारोपण गरे पनि हालसम्म दोस्रो पटक प्रत्यारोपण २० जनाको मात्रै भएको छ । तेस्रो प्रत्यारोपण भने देशमै पहिलो पटक यही ९ भदौमा भएको थियो । मिर्गौला प्रत्यारोपित चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री हुन् । ‘दोस्रो पटक फेरेको मिर्गौलाले पनि काम गर्न छाडेपछि मैले उपचारकै लागि गत चैतमा राजीनामा दिएँ’ चौधरी भन्छन्, ‘अपरेसनपछि स्वास्थ्य सामान्य हुँदै गएको छ, अब छिट्टै घर फर्किन्छु होला ।’
लखनउमा प्रत्यारोपण गर्दा ३० लाख खर्च
कुनै समय भिडियो फिल्म बनाउने चौधरीलाई ३३ वर्षको उमेरमा पहिलो पटक २०६६ मा मिर्गौला फेर्नुपर्ने भयो । त्यतिखेर डा. पुकार लन्डनबाट फर्किएर वीर अस्पतालमा भर्खर प्रत्यारोपण सेवा सुरु गर्दै थिए । चौधरीले नेपालमा उपचार होला भनेर पत्याउन सकेनन् । ‘भारतको लखनउ गएँ र प्रत्यारोपण गराएँ, ३० लाख खर्च लाग्यो,’ उनी भन्छन्, ‘आखिर नेपालमै यस्ता सीप भएका डाक्टर रहेछन्, सुरुमा विश्वासै लागेको थिएन ।’
दोस्रो पटक २०७२ मा उनको मिर्गौलामा समस्या आउँदा भक्तपुरमा प्रत्यारोपण सेवाले गति लिइसकेको थियो । त्यस बेला अरू धेरैको प्रत्यारोपण सस्तोमा सजिलै भएको खबरले चौधरी लखनउ नगई सिधै भक्तपुर आए । ‘त्यस बेला मलाई निमोनियाले गालेको थियो, खोक्दा रगतै आउँथ्यो’ चौधरी सम्झन्छन्, ‘र पनि, डाक्टरहरूले पूरै बेहोस नपारीकनै अपरेसन गर्ने भागमा मात्रै लट्याएर प्रत्यारोपण गरिदिनुभयो, यो मेरा लागि दोस्रो जुनी थियो ।’
पहिलो प्रत्यारोपणले ६ वर्ष र दोस्रो प्रत्यारोपणले १० वर्ष काम गरेपछि यसपालि उनलाई फेरि मिर्गौला फेर्नुपर्ने भयो । यस पटक मनमा कुनै दुविधै नलिई उनी भक्तपुर पुगे । पहिलो प्रत्यारोपणमा उनकी आमा सुरत कुमारीले मिर्गौला दिएकी थिइन् । दोस्रो पटक कान्छी बहिनी असर्फी चौधरीले दिइन् । तेस्रो पटक भने उनकी पत्नी सरस्वती चौधरीले दिएकी छन् ।
पत्नी र उनको रक्त समूह अलग अलग भएकाले सिधै एउटाको मिर्गौला अर्काकोमा राख्न मिल्दैनथ्यो । यस्तो समस्या भएका अरू बिरामीसँग रक्त समूह मिल्दा मिर्गौला साटासाट गरी प्रत्यारोपण गर्न मिल्ने कानुनी सुविधाको उपयोग यस पटक चौधरीले गरे । उनकी पत्नीले पोखराकी हरिमाया गुरुङकी छोरी अमृतालाई मिर्गौला दिइन् । सट्टामा हरिमायाले उनका पति चौधरीलाई मिर्गौला दिइन् ।
‘लिने दुई र दिने दुई चारैलाई लस्करै राखेर एकै दिन एकै पटक प्रत्यारोपण गर्यौं,’ डा. श्रेष्ठले भने । प्रत्यारोपण सफल भए बिरामीले सामान्य अवस्थामा झैं पिसाब गर्न सक्छ । सँगै प्रत्यारोपण गरिएकी अमृतालाई पिसाब लागेको दुई दिन भइसक्दा पनि चौधरीको पिसाब खुल्न सकेको थिएन । त्यो देखेपछि कुर्न बसेकी उनकी जेठी बहिनी पार्वती डाँको छाडेर रुँदै डाक्टर पुकारलाई गुहार्न पुगेकी थिइन् । ‘उहाँको तेस्रो पटक हो नि त, समय लाग्छ नि’ डा. श्रेष्ठले सम्झाएका थिए, ‘केही दिन धैर्य गर्नुस् न ।’
प्रत्यारोपणको एक सातापछि नै अमृता डिस्चार्ज भएर घर गएकी छन् । लक्ष्मणको पिसाब भने बल्ल सामान्य अवस्थामा फर्केको छ । यो खुसीले बहिनी पार्वतीको अनुहारको उदासी मेटाइदिएको छ । ‘अब केही दिनमा उहाँ पनि घर जानुहुनेछ’ डा. श्रेष्ठले भने, ‘तेस्रो पटकको प्रत्यारोपण भएकाले कुनै जटिलता आउन सक्छ कि भनेर बिरामीलाई सघन निगरानी चाहिन्छ, नत्र त अब उहाँको अवस्थाका अरूलाई पठाइसक्ने बेला हो यो ।’ यो उपचार नेपालको चिकित्सा क्षेत्रका लागि एउटा सामूहिक र गर्व गर्न लायक उपलब्धि भएको डा. श्रेष्ठको विश्लेषण छ ।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए ।
के हो पेयर एक्सचेन्ज ?
पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबिच अंग साटासाट गरी गरिएको केन्द्रले जनाएको छ । यसलाई मिर्गौला साटासाट पनि भनिन्छ । आफ्नो प्रत्यक्ष आफन्तबिच प्रत्यारोपण गर्न रक्त समूह नमिलेपछि चौधरी तनाबमा थिए । अस्पतालले उनीजस्तै भौतारिएका अर्का मिर्गौलापीडितलाई भेट गराएको थियो । रक्त समूह मिलेपछि दुई मिर्गौला एक–अर्कामा साटासाट भएको थियो ।
प्रत्यारोपित मिर्गौला किन हुन्छ फेल ?
डा. श्रेष्ठका अनुसार, ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । ‘यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ । प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउनसमेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ ।
३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।

