काठमाडौँ, लिंकन कलेजमा अध्ययनरत कल्पना गुरुङ महिनावारी हुँदा डिस्पोजेबल स्यानिटरी प्याड प्रयोग गर्छिन् । राति सुत्दा ह्विस्पर अल्ट्रा ओभरनाइट र दिनमा ह्विस्परकै अल्ट्रा सफ्ट वा स्टेफ्री सेक्योर लगाउने गरेकी छन् ।
कतिपय प्याडबाट भने दुर्गन्ध आउने, चुहावट हुने, कापमा घाउ हुने जस्ता समस्या झेलेको उनले बताइन् । ‘थरीथरीका प्याड फेरीफेरी लगाइसकेकी छु,’ उनले भनिन्, ‘लगभग सबै ब्रान्ड ट्राई गरिसकें । कपडा लगाएको अनुभव छैन ।’
कल्पनालेझैं महिनावारी हुँदा स्यानिटरी न्याप्किन प्रयोग गर्नेको संख्या पछिल्ला दिनमा बढेको छ । स्वदेशमै पनि प्याड उत्पादन गर्ने उद्योग बढेका छन् । ती कम्पनी भने अप्ठ्यारामा रहेको उद्योगीहरूको गुनासो छ । ‘हामी आफैं पनि पछिल्लो दुई वर्षदेखि घाटामा छौं,’ शारदा ग्रुपका प्रबन्ध निर्देशक पुनित शारदाले भने । वीरगन्ज र काठमाडौंमा रहेका दुई उद्योग बन्द भएका छन् ।
नेपालमा यसको उत्पादन गर्ने शारदाले भने, ‘नेपालमा स्यानिटरी प्याडको वार्षिक १ अर्बको मार्केट छ तर ९० प्रतिशत बजार विदेशी ब्रान्ड वा विदेशबाट आयातित प्याडले ओगटेका छन् ।’स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगहरूको रक्षाका लागि आफूहरूले सरकारसँग माग गरिरहेको उनले बताए । ‘कच्चा पद्धार्थ आयातमा हामीलाई कुनै छुट सुविधा दिइएको छैन,’ उनले भने, ‘नेपाली ब्रान्डका प्याडको जम्मा १० प्रतिशत मार्केट छ ।’ विदेशी ब्रान्डको व्यापक विज्ञापनले आफूहरूलाई छायाँमा पारेको उनको अनुभव छ ।
शारदा ग्रुपको ज्यास्मिन हाइजिन प्रोडक्टले १४ वर्षअघिबाट ‘सेफ्टी’ स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । शारदाका अनुसार यो नेपालमा उत्पादित पहिलो स्यानिटरी प्याड पनि हो । योसँगै ‘माया ममता’, ‘लभ लेडी’, ‘सजिलो कपडा’ लगायत ब्रान्डका नेपाली प्याड बन्ने गरेका छन् । यी प्रायः इको–प्याड हुन् । महिला समूह वा सरकारी/गैरसरकारी संस्थाहरूले महिला उद्यमशीलता बढाउन र महिला स्वास्थ सुधारका लागि इको–प्याड बनाउने गरेको बताउँदै आएका छन् ।‘हामीले माया ममता प्याड बनाउन थालेको दुई वर्ष भयो,’ फर्पिङस्थित होप इज लाइफ नेपालकी अध्यक्ष सम्झना शर्मा भन्छिन्, ‘यही क्षेत्रका दिदीबहिनीहरूलाई तालिम दिएर प्याड बनाउन सिकाएका छौं । दिनमा ५/६ वटा बन्छ । आठजना महिलाले रोजगारी पाउनुभएको छ ।’ उनीहरूले बनाउने भनेको सुती कपडाको प्याड हो, यो पुनः प्रयोग गर्न मिल्ने र प्लास्टिक एवं रसायन प्र्रयोग नहुने शर्माको भनाइ छ । चुहावट रोक्ने वस्तु राखिएको प्याड धुन मिल्ने बताइन् ।
चितवनको मितेरी जीविका स्यानिटरी उद्योगले यसै साताबाट डिस्पोजेबल इको–स्यानिटरी प्याड बजारमा ल्याएको छ । राधा पौडेल फाउन्डेसन र विमेन फोरम फर जस्टिसको संयुक्त लगानीमा मितेरी जीविका स्थापना गरिएको अध्यक्ष सावित्री भण्डारीले जानकारी दिइन् ।
पुनः प्रयोग गर्न मिल्ने यो मितेरी प्याडको मूल्य १ सयदेखि १५० रुपैयाँ छ । पछिल्लो समय वातावरणमैत्री प्याड बनाउने लहरजस्तै चलेको छ । धुलिखेलको धर्ती माता सस्टेनेबल वर्कसपले पनि इको–प्याड बनाउन थालेको लामै भइसक्यो ।‘सुती कपडाको प्याड त पुरानै कन्सेप्ट हो,’ होप इज लाइफकी शर्माले भनिन्, ‘यसलाई अलिकति परिमार्जन गरेर, लेयरहरू थपेर, लिक प्रुफ बनाउन हामीले महिलाहरूलाई तालिम दिँदै आएका छौं । यस्ता प्याडको माग बढ्दो छ ।’ होप फर लाइफको माया ममता प्याडलाई २ सय रुपैयाँ पर्छ । एउटा प्याड दुई वर्षसम्म प्रयोग मिल्ने हुँदा डिस्पोजेबल स्यानिटरी प्याडभन्दा यो सस्ता पर्ने शर्माको दाबी छ । शारदा समूहले पनि इकोप्याड बनाउने गरेको छ ।
‘हामीले १४ वर्षअघि प्याड उत्पादन थाल्दा नेपालमा विदेशी ब्रान्ड मात्र थिए,’ शारदा समूहका पुनितले भने, ‘यसको बजार सम्भावना राम्रो देख्यौं । प्रयोगकर्ता बढ्दै थिए । कम्पनी स्थापनाको दुई/तीन वर्ष गाह्रै भयो । बीचमा राम्रो भइसकेको थियो तर अहिले फेरि अप्ठ्यारो अवस्थामा छौं ।’ घरेलु उद्योगहरूले म्यानुअल म्यानुफ्याक्चरिङ (हातैले बनाएको) मार्फत प्याड बनाउनुलाई पनि उनले सराहना गरे । ठूला उद्योगलाई अझ प्रोत्साहन गर्नुपर्ने उनको माग छ ।
‘नेपालका ८० प्रतिशत महिला तथा युवतीहरू अझै पनि स्यानिटरी प्याडको पहुँचभन्दा बाहिर छन्,’ उनले भने, ‘स्वदेशी उद्योग सबल बने मात्रै प्याडको उपलब्धता बढ्छ । विदेशी ब्रान्डले गाउँगाउँमा प्याड पुर्याउँदैनन् । पुर्याए पनि हामीले जस्तो सस्तोमा बेच्दैनन् ।’
कतिपयले अझै पनि महिनावारी हुँदा पुरानो, फोहोर, मिल्काएको कपडा प्रयोग गर्ने गरेका छन् । त्यसलाई धोएर घाममा सुकाउनुपर्छ भन्नेबारे पनि कतिलाई जानकारी नहुँदा उनीहरूले प्रजननसम्बन्धी अनेक समस्या झेल्ने गरेका छन् ।
नेपालमा भारत, अमेरिका, क्यानडा, जापान, चीन, सिंगापुरबाट प्याड आयात हुने गर्छ । यहाँ करिब २७ वटा ब्रान्डका स्यानिटरी प्याड बजारमा उपलब्ध रहेको शारदाले जानकारी दिए । विशेषतः सहरी क्षेत्रमा प्याडको विकल्पमा ट्याम्पुन र मेन्स्ट्र्युअल कपसमेत प्रयोग गर्ने चलन छ । प्याडहरूको मूल्य चर्को भएकामा महिलाहरूले बेलाबखत गुनासो गर्दै आएका छन् ।
१ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ विदेशियो
चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अवधिमा ११ करोड ४५ लाख वटा स्यानिटरी प्याड आयात भएको छ ।
भन्सार विभागका अनुसार उक्त परिमाण बराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ विदेशिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँ बराबर राजस्व उठाएको छ ।यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ विदेशिएको छ । ७ महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।
चालु आव ७ महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमार्फत सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड बराबर राजस्व उठाएको छ ।
हातहातमा स्यानिटरी प्याड
अम्बिका गैह्रे
काठमाडौँ — हरेक महिला आफ्नो जीवनकालमा करिब ६.२५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५,००० वटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ ।
नेपालका सहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु नपर्ने सहरी महिलाले भने घरायसी सामग्री नै प्रयोग गरेको पाइन्छ । गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति छैन, जानकारी भए पनि प्याड किन्ने खर्च जुटाउन गाह्रो छ । जीवन धान्न दुई छाक जोहो गर्न धौधौ पर्ने हाम्रा धुलाम्मे जीवनहरूमा महिनावारीको रगतको के कुरा ! धूलोसँगै मिल्छ ।
उनीहरूका लागि महिनावारी स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्दैपर्दैन । आर्थिक रूपमा समस्या नहुनेहरूले पनि परम्परागत कपडाले हुने ठाउँमा प्याड फजुल खर्च जस्तो बनिदिन्छ । प्याडमा खर्च गर्ने पैसाले छोराछोरी वा परिवारका अन्य आवश्यकता पूरा हुन्छन् । तर गम्भीर रोग निम्तिनुमा महिनावारीमा प्रयोग गरेकै फोहोर र घाममा नसुकाइएको कपडाको असर पनि हुन सक्छ भनी तिनलाई हेक्कै हुँदैन ।
महिनावारीका कारण धेरै छात्राले विद्यालय छाड्नुपरेको समस्यालाई ख्याल गर्दै सरकारले सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड कार्यक्रम अगाडि सारेको छ । तर नेपालमा उपलब्ध, आयातित वा स्वदेशी उत्पादन, स्यानिटरी प्याड कति सुरक्षित होलान् ? जवाफ कसैसँग छैन ।
नेपालमा पाइने स्यानिटरी प्याडको गुणस्तर कस्तो छ ? सुरक्षित महिनावारीको कल्पनामा एउटी छात्राले मक्ख पर्दै प्रयोग गर्ने प्याडले उसको स्वास्थ्य थप जटिल बनाउँदैन भनेर ढुक्क हुने अवस्था छ त ? अबको बहस स्यानिटरी प्याडको गुणस्तर तथा प्रयोग गरी फालिएका प्याडले वातावरणमा पार्ने असरतिर मोडिनु अत्यावश्यक छ ।
नेपालमा भारतसहित चीन, जापान, सिंगापुर लगायतबाट प्याडको आयात हुन्छ । स्वदेशी उत्पादन पनि उल्लेख्य छ । नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा भन्दा तयारी प्याडमा भन्सार थोरै हुँदा नेपाली उत्पादनले भारतीयसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ । तर प्याडमा प्रचारमा देखाइए जस्तो नभएर कटनबाहेक सिन्थेटिक फाइबर, नाइलन, प्लास्टिक, सेलुलोज जेल राखिएका हुन्छन् । यी सेतो नहुने हुँदा सेतो पार्न गरिने ब्लिचिङका क्रममा निस्कने डाइअक्जिन तथा सोस्ने क्षमता बढाउन प्रयोग गरिने जेलले महिलाको पाठेघरको मुखमा क्यान्सर तथा बाँझोपन ल्याउन सक्छन् ।
अचेल महिलाहरूमा पाठेघर सम्बन्धी क्यान्सरको समस्या निकै बढ्दो छ । यसको एउटा कारण असुरक्षित स्यानिटरी प्याडको प्रयोग पनि हो । प्लास्टिसाइजिङ रसायनहरूले मुटुरोग र क्यान्सर तथा भ्रूण नष्ट गर्ने समस्या निम्त्याउन सक्छन्, मधुमेह र थाइराइड समेत हुनसक्छ । दुर्गन्ध हटाउन तथा बास्नादार बनाउन प्रयोग हुने रसायनहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्, रसायनले गर्भ नै नरहने समस्या उब्जाउँछ । समय–समयमा प्याड परिवर्तन नगर्ने तथा ६ घण्टाभन्दा बढी एउटै प्याड प्रयोग गरेमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । फोहोर संकलन गर्ने र छुट्याउने कर्मचारीको स्वास्थ्यमा पनि असर पर्न सक्छ ।
विशेष किसिमको मेसिनले बाहेक सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढलनिकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छ ।
नेपालमा लगभग ९० प्रतिशत प्याडको मागलाई आयातले धानेको छ । आयात गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता प्याडको गुणस्तर हेरिँदैन । स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असर र संवेदनशीलतालाई गौण रूपमा नलिई अरू सामानसरह आयात गर्ने प्रचलन छ । स्वदेशी उत्पादनमा पनि अन्य उद्योगसरह दर्ता गरिदिँदा काम सकिन्छ । स्वदेशी उद्योगलाई त झन् टेलिभिजनका विज्ञापनका आधारमा चर्चा कमाएका विदेशी कथित ब्रान्डले उँभो लाग्न दिएका छैनन् ।
त्यो कथित ब्रान्डभित्रको सामानको गुणस्तर भने कसैलाई थाहा हुँदैन । नेपालमा स्यानिटरी प्याडको गुणस्तर के हुनुपर्ने र कसरी हेर्ने भन्ने राष्ट्रिय मापदण्ड छैन । प्याडको गुणस्तरमा ध्यान नदिई रगत सोस्ने हिसाबले मात्रै लिइँदा स्वास्थ्यका दृष्टिले परम्परागत कपडाभन्दा केही फरक नहोला, तर खर्च भने बढाउँछ ।
अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्मा हुन सक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन–अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् । नेपालमा पनि प्याडको सट्टा मेन्सुरल कपको प्रविधि भित्रिइसकेको छ । तर पनि नेपाली महिलाहरूमा प्याडकै पहुँच छैन । प्याड सस्तो, गुणस्तरीय र सर्वसुलभ हुनु जरुरी छ ।
नेपालमा व्यक्तिगत प्रयोगबाहेक स्यानिटरी प्याडको ठूलो बजार हस्पिटल सप्लाईको छ । कसरी सस्तोमा सप्लाइ गर्ने भन्ने होडबाजीले गर्दा गुणस्तर गौण बनेको छ । कुनै पनि सामग्रीको बजार सस्तो हुनु राम्रो हो, तर गुणस्तरसँग सम्झौता गर्नु पक्कै राम्रो होइन ।
हाम्रा गाउँ–गाउँमा कपडाबाट पुनः प्रयोग गर्न सकिने प्याड उत्पादन गर्ने तालिम धमाधम सञ्चालन भइरहेका छन् । प्याड घरमै बनाउँदा सहज र सस्तो पर्ने हुँदा सबैको पहुँचमा पुर्याउन सकिन्छ र यो वातावरणीय दृष्टिले केही सुरक्षित पनि छ । प्रयोग गरिने कपडाको गुणस्तर तथा प्रयोगमा सरसफाइको अवस्थामा भने विशेष ध्यान पुर्याइनुपर्छ ।
नेपालमा वातावरणमैत्री जैविक प्याडको उत्पादन पनि छ । प्रयोगकर्तालाई त्यस्तो प्याडबारे थाहा छैन । सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधा छैन, किनकि यसबारे कहीँ कसैको ध्यान पुग्नसकेको छैन ।
तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ । स्वदेशी उत्पादनको हकमा पनि परीक्षणको व्यवस्था गरी स्यानिटरी प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र सुरक्षामा पर्न जाने असर घटाउन तुरुन्त पहल गरिनुपर्छ ।
लेखक नेपाल गुणस्तर तथा नापतौल विभागकी केमिस्ट हुन् ।

