काठमाडौं– साउदी अरबमा मृत्यु भएका नेपालीसहित आप्रवासी श्रमिकहरूको मृत्युको स्पष्ट कारण नखुलाउने गरेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले साउदी सरकारको आलोचना गरेको छ ।
आप्रवासी श्रमिकको मामिलामा अनुसन्धान गर्ने बेलायतस्थित फेयरस्क्वायरले साउदीमा आप्रवासी श्रमिकको मृत्युको कारण निर्धारण गर्न प्रभावकारी नीति र प्रक्रियाको गम्भीर अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त नीतिको अभावका कारण नेपालसहित श्रमिक पठाउने देशका कामदारहरूको ज्यान जोखिममा परेको उल्लेख गरिएको छ ।
२०३४ को पुरुष विश्वकप फुटबल तथा आधुनिकीकरण परियोजना ‘नियोम’ सँग सम्बन्धित निर्माण कार्यमा संलग्न श्रमिकहरूलाई मृत्युबाट जोगाउन साउदीसँग स्पष्ट नीतिको अभाव रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । मृतक श्रमिकहरूको मृत्युको स्पष्ट कारण नहुँदा मृतकका आश्रित परिवार क्षतिपूर्तिबाट वञ्चित हुनुपरेको फेयरस्क्वायरले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार २०६५/६६ यता साउदी अरबमा ३ हजार ७ सय ९३ जना नेपाली श्रमिकको मृत्यु भइसकेको छ । जसमध्ये कार्यस्थल वा दुर्घटनामा मृत्यु भएको भनेर स्पष्ट रूपमा पहिचान गरिएका ७ सय जना मृतकका परिवार मात्र क्षतिपूर्ति पाउन योग्य देखिएका थिए ।
फेयरस्क्वायरका सहनिर्देशक जेम्स लिन्चले साउदीको चिकित्सा प्रणालीप्रति नै प्रश्न उठाएका छन् । ‘युवा परिवार छोडेर साउदी पुगेका लाखौं नेपाली श्रमिकको जीवन गम्भीर जोखिममा पार्ने श्रम प्रणालीमा उनीहरू फसेका छन् । उनीहरू मृत्यु हुँदा स्पष्ट कारण पहिचान गर्ने क्षमता साउदीको चिकित्सा प्रणालीमा छैन,’ उनले भनेका छन् । ‘साउदीमा आप्रवासी श्रमिकप्रति गम्भीर लापरबाही देखिन्छ । उनीहरूलाई सुरक्षा दिने वा उनीहरूको मृत्यु कसरी भयो भनेर पत्ता लगाउने चिन्ता न प्रशासनिक तहमा देखिन्छ, न राजनीतिक नेतृत्वमा । साउदीको लापरबाहीले चकनाचुर भएका परिवारलाई क्षतिपूर्ति दिने त निकै परको कुरा भयो,’ लिन्चको भनाइ छ ।
फेयरस्क्वायरले साउदीद्वारा लगानी गरिएको पश्चिमी देशका कानुनी फर्ममार्फत साउदीको प्रतिष्ठा जोगाउने प्रयासमा फिफा पनि संलग्न भएको आरोप लगाएको छ । ‘पश्चिमी देशका कानुनी फर्महरू साउदीबाट ठूलो नाफा कमाउन तल्लीन छन् । तर नेपालजस्ता देशका बालबालिका आफ्ना बुबाबिना कसरी हुर्कन्छन् र उनीहरूको मृत्यु कसरी भयो भनेर कहिल्यै खुलाइएको छैन,’ फेयरस्क्वायरद्वारा जारी विज्ञप्तिमा जेम्सले भनेका छन् ।
फेयरस्क्वायरले साउदीमा मृत्यु भएका २३ देखि ५७ वर्ष उमेर समूहका १७ जना नेपाली श्रमिकको मेडिकल रिपोर्ट अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । ती रिपोर्ट साउदी अधिकारीहरूले जारी गरेका हुन् । प्रतिवेदनअनुसार १२ जना मृतकका परिवारसँग मृत्युको खास कारण पुष्टि गर्न सक्ने कुनै कागजात उपलब्ध थिएन । कार्यस्थलमै मृत्यु भएका ५ जनाको परिवारसँग पनि परिस्थितिजन्य प्रमाणहरू उपलब्ध नभएको जनाइएको छ, जसमा रोजगारदाताको लापरबाही कारक हुन सक्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार साउदीमा मृत्यु भएका ३९ वर्षीय बद्री भुजेल नियोम परियोजनाअन्तर्गत सुरुङभित्र मेसिन अपरेटरका रूपमा कार्यरत थिए । काम गर्ने क्रममा अत्यधिक रगत बान्ता गरेपछि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । तर गृह मन्त्रालयअन्तर्गतको निकायले जारी गरेको मृत्यु प्रमाणपत्रमा भने ‘प्राकृतिक कारण’ ले मृत्यु भएको उल्लेख गरिएको र यसलाई गम्भीर त्रुटिका रूपमा फेयरस्क्वायरले उल्लेख गरेको छ ।
मानवअधिकार वाचको पछिल्लो प्रतिवेदनले पनि साउदी अधिकारीहरूले श्रमिकको मृत्यु दर कम गर्ने पर्याप्त उपाय हुँदाहुँदै पनि गम्भीरतापूर्वक काम नगरेको जनाएको छ । वाचले विशेष गरी कार्यस्थल सुरक्षा घटनाको अनुसन्धान गर्न र परिवारलाई समयमा उचित क्षतिपूर्ति सुनिश्चित गर्न साउदी सरकार असफल भएको दाबी गरेको छ ।

