मुगु , दुई–चार हजार कमाउने उद्देश्यले शिलाजित संकलन गर्न हिँडेका थिए, जाजरकोट बारेकोटका धर्मजित विक । तर, शिलाजित संकलन गर्नु सहज थिएन । डोरीको सहायताले झन्डै सय मिटर अग्लो भीर चढ्दै थिए । अचानक डोरी चुँडियो, उनी जमिनमा बजारिए । भारतमा मजदुरी गरिरहेका जेठा छोरा अंकलालले उनलाई दिल्ली लगेर झन्डै ९ महिना उपचार गराए । तर अझै धर्मजितको शरीरको बायाँ भाग चल्दैन । ‘दुई दिनसम्म बेहोस भएछु,’ उनले भने, ‘२/४ हजारको लोभले ९ लाख रुपैयाँ उपचारमै सकियो ।’
घरको खर्च धान्ने ५२ वर्षीय धर्मजित नै थला परेपछि परिवार अहिले आर्थिक समस्यामा छ । ‘खेतबारीको अन्नले खान पुग्दैन,’ उनी भन्छन्, ‘९ कक्षा पढ्ढापढ्दैको कान्छो छोरालाई पनि कमाउन भारत पठाएको छु ।’
कर्णालीमा यार्चागुम्बु, गुच्ची च्याउ, वन लसुन, चिराइतोजस्ता जडीबुटी खोज्न पाटनदेखि भीरसम्म उक्लिँदा स्थानीयले ज्यानसमेत गुमाउने गरेका छन् । कोरोनाका बेला २०७५ असोजमा लुकीछिपी कटुकी टिप्न गएका कार्तिगाउँका छिरिङ तामाङको हिमपहिरोमा परेर मृत्यु भयो । यार्चा टिप्न जाँदा मुगुको मुगुमकार्मारोङ गाउँपालिका–३ खारीका ४४ वर्षीय ग्याम्जो तामाङले २०७३ साउनमा र गुच्ची च्याउ टिप्न जंगलमा गएका बेला भीरबाट लडेर २०७२ चैतमा माग्रीगाउँका कार्मा टोन्डुल तामाङले पनि ज्यान गुमाएका थिए ।
‘ज्यानकै माया मारेर जडीबुटी टिप्न जानुपर्छ,’ टोन्डुलकी पत्नी छिजुले भनिन्, ‘बुटी टिप्न गएका सकुशल फर्किए वर्षभरिको खर्च चल्छ, नत्र जीवनभरि परिवार पाल्न सास्ती ।’ पतिको मृत्युपछि उनी आफैं जडीबुटी टिप्न जाने गरेकी छिन् । यो वर्ष उनले जडीबुटी बिक्रीबाट झन्डै ८० हजार रुपैयाँ कमाइन् ।
यार्चागुम्बु खोज्न स्थानीय हरेक वर्ष जेठदेखि साउनसम्म समुद्र सतहदेखि ४५ सय मिटर उचाइका पाटन चढ्छन् । ‘जाँदाको दुःख त कति हो कति, बाटो नभएका भीरपहरामा ३/४ दिनसम्म डेढ सय किलोसम्मको बन्दोबस्तीका सामान बोकेर हिँड्नुपर्छ,’ डोल्पाको जगदुल्ला–४ का भीमबहादुर बुढाले भने, ‘अग्ला पाटनमा लेक र दम लाग्ने, हिमपहिरोमा पुरिने र भीर चढ्दा खुट्टा चिप्लिएर लड्ने समस्या त हाम्रा लागि सामान्य भइसके ।’ उनी झन्डै १० वर्षदेखि (कोरोना महामारीका
३ वर्षबाहेक) यार्सा टिप्न डोल्पाका विभिन्न पाटनमा
गइरहेका छन् ।
गरिबीले गर्दा ज्यानको माया मारेर जडीबुटी टिप्न जानुको विकल्प नभएको उनको भनाइ छ । कान्तिपुरले प्रदेश प्रहरी र संवाददाताहरूको सहयोगमा संकलन गरेको विवरणअनुसार कर्णालीमा एक वर्षमा जडीबुटी टिप्न गएका २२ जनाले ज्यान गुमाएको भेटियो ।
प्रहरीमा रेकर्ड नभएका र सार्वजनिक नभएका विवरणसमेत जोड्दा यो संख्या अझै ठूलो हुन सक्ने देखिन्छ । अर्थोपार्जनको एक मात्र विकल्प रहेको जडीबुटी टिप्ने क्रममा अधिकांशको भीरबाट लडेर, लेक लागेर, पहिरोमा परेर र जडीबुटी टिप्ने ठाउँमै बिरामी भएर मृत्यु हुने गरेको छ । यसरी अकाल मृत्यु हुनेमा सबैभन्दा बढी डोल्पामा ५ तथा मुगु र हुम्लामा ४/४ जना छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्युका अलवा झन्डै ३ गुणाले पाटन र स्थानीय जंगलमा लडेर अपांगता जीवन बिताइरहेका छन् ।
पैसाको लोभले जडीबुटी टिप्न अप्ठेरो स्थानमा जाँदा बर्सेनि ४/५ जनाले ज्यान गुमाइरहेको मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताउँछन् । उनका अनुसार अत्यधिक चिसो हुने र सिँचाइ नभएकाले वर्षमा एक बाली उवा मात्र फल्छ । ‘उत्पादनले ३ महिना खान पुग्दैन, अरू रोजगारी छैन,’ उनले भने, ‘त्यसैले पालिकाभरिका सबैको वर्षभरिको खर्च नै जडीबुटीले धानिरहेको छ ।’ जलवायु परिवर्तनको असरले गाउँ आसपास जडीबुटी पाइन छाडेपछि उनीहरू जोखिम मोलेरै पाटन र भीरसम्म जान थालेको उनले बताए । बर्सेनि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएपछि पालिकाले जडीबुटी संकलनकर्तालाई ५ लाख रुपैयाँ बिमा गरिदिएको छ । तर बिमाले मात्रै उनीहरूको जीवनको मूल्य निर्धारण हुन सक्दैन ।
यसरी ज्यान जोखिममा राखेर जडीबुटी संकलन गरिए पनि उनीहरूले फाइदा लिन सकेको देखिँदैन । जडीबुटीको मूल्य टिप्नेहरूको हातमा छैन । ‘जडीबुटी संकलन गर्नेहरू कम्तीमा १५ दिनदेखि एक महिनासम्म जंगल र पाटनमा बस्न बाध्य छन्, त्यहाँ जाँदा ३०/३५ हजार त बन्दोबस्तीका सामानमै खर्च गर्छन्,’ स्थानीय व्यापारी कर्मा लामाले भने, ‘आम्दानी बढीमा एक/डेढ लाख हुन्छ, बाटोको दुःख र जडीबुटी खोज्दाको जोखिम हेरी त्यो आम्दानी निकै थोरै हो ।’ जिल्लामा जडीबुटीको भण्डारण केन्द्र मात्रै स्थापना भए पनि संकलकहरूको जीवनस्तरमा ठूलो परिवर्तन आउने उनले बताए । आफूले ठूलो जोखिम मोलेर संकलन गरेको जडीबुटी व्यापारीले भनेजति भाउमै बिक्री गर्नुपर्ने बाध्यता भएको स्थानीय शशांक लामाको भनाइ छ । वर्षा र हिमपात झेल्दै पाटन जाँदाको संघर्ष, अनुमति शुल्कलगायत हेर्दा आफूहरूले कौडीका भाउमा जडीबुटी बिक्री गर्नु परिरहेको उनले बाध्यता सुनाए । ‘बाँदरसमेत लड्ने भीर पार गर्दै पाटन पुग्नुपर्छ, एउटा यार्चा भेटाउन पनि ४/५ घण्टा पाटनको भूमि छिचोल्नुपर्छ,’ उनले भने, ‘ओडार र खुला चौरमै बास बस्नुपर्छ । छाँगो भीरमा खुट्टा चिप्लिए बाँच्ने आसै हुँदैन । तिर्खा लागे हिउँ पगालेर पानी पिउनुपर्छ ।’
संकलन, भण्डारण र प्रशोधन केन्द्र नहुँदा पनि जडीबुटी खेर जाने गरेको व्यवसायी कर्णबहादुर नकालले बताए । कर्णाली प्रदेशमा एउटा पनि संकलन र भण्डार केन्द्र छैन । त्यसैले सबै जडीबुटी नेपालगन्ज पठाउनुपर्ने बाध्यता छ । ‘आफ्नै लगानीमा गरिएको संकलन र प्रशोधन केन्द्रले जति गुणस्तर कायम हुनुपर्ने त्यो कायम राख्न सक्दैन,’ उनले भने । आवश्यक नीति निर्माण गरेर सरकारले नै बजारीकरण, भण्डारण र प्रशोधन गर्नुपर्ने प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । सरकारले प्रशोधन गर्न सके मात्र पनि कर्णालीमा उत्पादित आयुर्वेदिक औषधिले नेपालभरिको माग धान्न सक्ने उनको भनाइ छ ।
प्रदेश वन निर्देशनालयका अनुसार कर्णालीमा झन्डै १ सय ४५ प्रजातिका जडीबुटी पाइन्छन् । ७५ प्रजातिका जडीबुटी भारतलगायत देशमा जाने गरेको निर्देशनालयको तथ्यांक छ । गत वर्ष ११ हजार ७ सय मेट्रिक टन जडीबुटी निर्यात भएको थियो । निर्देशनालयका अनुसार कर्णालीबाट सबैभन्दा बढी रिट्ठा, टिमुर, तेजपात, सतुवा, वन लसुनलगायत जडीबुटी कच्चा पदार्थका रूपमा भारतमा बढी निकासी हुन्छ । अमला, काँकडसिलो, अत्तिस, चिराइतो, कुरिल्लो, जटामसी, शिलाजित, सुगन्धवाल, बाँझ ब्रोक्रा, कटुकी, गुच्ची च्याउ, यार्चागुम्बालगायत जडीबुटी पनि भारत जाने गरेको छ । जसबाट बर्सेनि झन्डै ५० हजार जनाले रोजगारी पाइरहेको निर्देशनालयको तथ्यांक छ । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटीबाट झन्डै ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जडीबुटी आम्दानीको हिसाबकिताब प्रदेश सरकारले राख्ने गरे पनि ज्यान गुमाउने, अंगभंग भई घाइते भइरहेका स्थानीयको एकीकृत सूचना छैन । जडीबुटी संकलनका निम्ति आवश्यक तयारी र मानवीय क्षति कम गर्नतर्फ पनि प्रदेश र स्थानीय सरकारको तत्परता नदेखाएको नागरिक अगुवा रूपबहादुर मल्लले बताए ।
व्यापारीको मनोमानी
प्रशोधन र भण्डारण केन्द्र नहुँदा हिमाली जिल्ला मुगु, हुम्ला, जुम्ला र कालीकोटमा उत्पादित जडीबुटी ‘कौडी’ को भाउमा बेच्नुपर्ने बाध्यता छ । ‘यहाँबाट सामान्य भाउमा भारतका व्यापारीले जडीबुटी लैजान्छन्,’ स्थानीय व्यापारी शशांक लामाले भने, ‘उताबाट प्रशोधन भएर आउँदा त्यही जडीबुटी दोब्बर मूल्यमा किन्नुपर्ने बाध्यता छ ।’
स्थानीयले चिराइतो प्रतिकिलो ५ सयमा बिक्री गर्छन्, तर व्यापारीले नेपालगन्ज र सुर्खेत पुर्याएर ९ सय ५० रुपैयाँमा बेच्छन् । १४ सयमा स्थानीयबाट खरिद गरिएको कटुकी १६ सय ५०, ५ सय रुपैयाँमा किनेको काँकडसिलो ८ सय र ६ सय रुपैयाँमा किनेको जटामसी ९ सय रुपैयाँमा बिक्री गर्ने गरेको जडीबुटी व्यापारी कमानबहादुर विकले बताए । उनका अनुसार ढुवानी खर्च, प्रशोधन र भण्डारण शुल्कका कारण स्थानीयबाट खरिद गरेको जडीबुटीको मूल्यमा धेरै अन्तर भएको हो । ‘जिल्लाबाट ल्याएर कम्तीमा १/२ महिना नेपालगन्ज र सुर्खेतमा भण्डारण गर्नुपर्छ,’ उनले भने, ‘हामीले त सामान्य नाफा खाएर मात्र बेचिरहेका छौं, ठूला व्यापारीले नलिए खरिद गरेको जडीबुटी कुहिएर जाने बाध्यता छ ।’ स्थानीयबाट १४ हजार रुपैयाँमा खरिद गरिएको गुच्ची च्याउ १७ हजार, ५ हजार ५ सयमा किनेको रातो च्याउ ९ हजार र १४ लाख रुपैयाँ प्रतिकिलो किनेको यार्चा २५ लाख रुपैयाँमा बिक्री हुने गरेको छ । यहाँको जडीबुटी सदरमुकाम गमगढी हँॅदै सुर्खेत, नेपालगन्ज भएर भारतको बहराइच, नयाँदिल्ली, कोलकाता र चिनियाँ नाका हुँदै विश्व बजारमा जाने गरेको उनले बताए ।
मुगुको मुगुमकार्मारोङ–२ का झन्डै डेढ सय परिवार जेठ–असारमा यार्चागुम्बु, असोजमा कटुकी र कात्तिकमा भोल्ते, वन लसुनलगायत जडीबुटी संकलन गरी जीवन निर्वाह गर्छन् । समुद्र सतहदेखि ३२ सय ७५ मिटर उचाइमा रहेको गाउँमा वर्षभरिमा एक बाली कागुनो मात्र फल्छ । ‘अहिले त हिमपातको मौसम भएकाले हामीले गाउँ छोडिसकेका छौं,’ स्थानीय टासी लामाले भने, ‘जडीबुटी टिप्ने मौसममा मात्र गाउँमा बस्छौं, अरू समय बाहिरै बिताउने गरेका छौं ।’ कात्तिक दोस्रो साता हिमपातको डरले गाउँ छोडेका मुगुगाउँका बासिन्दा हिउँ बिलाएपछि र गर्मी मौसम सुरु भएपछि मात्र फर्किन्छन् । छिरिङ तामाङका अनुसार गाउँपालिकाको १८ बस्तीका स्थानीयलाई जडीबुटीकै भर छ । अत्यधिक चिसो ठाउँ भएकाले र सिँचाइ सुविधा नहुँदा जडीबुटीकै भरमा वर्षभरिको खर्चको जोहो गर्नुपरेको उनले बताए । ‘हामी पुस्तौंदेखि जागिर खाँदैनौं, बारीको उत्पादनले ३ महिना पुग्दैन,’ उनले भने, ‘त्यसैले हाम्रो सबै आवश्यकता जडीबुटीले नै पूरा गरिदिन्छ ।’
छायानाथरारा नगरपालिकाको शोभा, घट्टलेख, तल्ललेख, कम्फा, लुम्स, बालचौर, र्याङच्याकाटीलगायत बस्तीका स्थानीय पनि झन्डै ३ महिना जडीबुटी संकलनका लागि वनमै बस्छन् । उनीहरूका अनुसार संरक्षणको अभावमा जडीबुटी लोप हुँदै गएको छ । ‘पहिलेजस्तो पाइनै छाड्यो, पोहोर ३ सय किलो कटुकी र २ सय किलो भोल्ते टिपेको थिएँ,’ स्थानीय व्यवसायी सत्यराज शाहीले भने, ‘यसपालि त १/१ सय किलो पनि पाउन सकिएन ।’ जथाभावी संकलन र जलवायु परिवर्तनको असरले जडीबुटीको उत्पादन घट्दै गएको उनको भनाइ छ । उनले गत वर्ष जडीबुटी संकलनबाट झन्डै १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष १ लाख रुपैयाँ पनि कमाउन सकेनन् । एक वर्षर्अघिसम्म गाउँ नजिकैको वन क्षेत्रमा पाइने गुच्ची च्याउ, चिराइतो, सतुवालगायत जडीबुटी टिप्न अहिले कोइकी, ठूलो वनलगायत पाटनमा पुग्नुपर्ने बाध्यता रहेको मुगुगाउँका कर्मा लामाले बताए । ‘हाम्रा पुर्खाहरूले जडीबुटी बेचेरै परिवार पाले, घरजग्गा जोडे,’ उनले भने, ‘तर अहिले उत्पादन घट्दै गयो, जडीबुटी खोज्न घर छोडेरै टाढाका वनमा जानुपर्ने बाध्यता छ ।’ उनका अनुसार ५ वर्षअघि गाउँकै मुग्याल सामुदायिक वनमा पाइने जडीबुटी टिप्न १ दिन हिँडेर पाटन पुग्नुपर्छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव राजेन्द्रकुमार वासुकलाले कर्णाली प्रदेश जडीबुटीको हव भए पनि पर्याप्त बजेट नहुँदा बजारीकरण, प्रशोधन, भण्डारण र औद्योगिकीकरणतर्फ उन्मुख गराउन समस्या भएको बताए । आफ्नो कार्यकालमा बजारीकरणका लागि आवश्यक पर्ने कानुन बनाउने, जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गर्ने र किसानलाई विशेष अनुदान कार्यक्रम ल्याइने उनको भनाइ छ । ‘प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र कर्णालीको समृद्धिका लागि यहाँको जडीबुटीको संरक्षण र बजारीकरण आवश्यक छ,’ उनले भने, ‘जडीबुटी र पर्यटनको माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक क्रियाकलापमा वृद्धि र आर्थिक विकास र समुन्नतिका लागि पहल भइरहेका छन् ।’

