काठमाडौं– सरकारी अस्पतालमा सञ्चालित क्यान्टिन एवं चमेना गृहले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै आएको पाइएको छ । सरकारी निकायले गरेको अनुगमनमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल महाराजगन्ज र प्रसूति गृहमा सञ्चालित क्यान्टिनले सरसफाइमा ध्यान नदिएको, लेबल विवरण पूर्ण नराखेको, पकाएका र नपकाएका खाद्य पदार्थ सँगसँगै भण्डारण गरेकोलगायत कैफियत भेटिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त अनुगमन टोलीले यस्तो कैफियत भेटाएको हो । विभागका खाद्य विश्लेषक सुशन निरौला नेतृत्वमा वैशाख ८ मा वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टर, रत्नपार्क र शिक्षण अस्पताल महाराजगन्जमा सञ्चालित चमेना गृहको निरीक्षण र नमुना परीक्षण गरिएको थियो ।
मोबाइल फुड ल्याब भ्यानमा नमुना परीक्षण गर्दा सामान्य कैफियत भेटिए पनि भौतिक निरीक्षणमा धेरै समस्या देखिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जनाए । वीर अस्पतालस्थित सुनील क्यान्टिन निरीक्षण गर्दा सरसफाइको समस्या देखियो । लेबल विवरण पूर्ण नभएको खाद्य पदार्थ सञ्चय तथा प्रयोग गरेको भेटिएको छ । भाँडा धुने तथा खाना पकाउने ठाउँ सँगसँगै राखेको, पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको महर्जनले जनाए ।
‘क्यान्टिनमा बिक्रीवितरण भइरहेका तीनवटा पिउने पानी, दूधको एउटा, महको एउटा तथा तेलको एउटा नमुना मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गर्दा कैफियत देखिएन,’ प्रवक्ता महर्जनले भने, ‘क्यान्टिनलाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिएका छौं ।’
वीर अस्पतालकै गुजेश्वरी होटल प्रालिमा पनि उस्तै समस्या भेटिएको छ । सरसफाइ सन्तोषजनक नरहेको र दूधमा लेबल विवरण पूर्ण नभएको भेटिएको छ । फ्रिजमा भण्डारण व्यवस्थित नपाइएको तथा पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको विभागले जनाएको छ ।
उक्त होटललाई पनि सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा नभएका खाद्य पदार्थ नष्ट गरी पूर्ण लेबल विवरण भएको खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिइएको छ । उपभोक्ता सरक्षण ऐन २०५४ ले उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, उद्योग दर्ता नम्बर, खाद्य पदार्थ र औषधि जस्ता उपभोग्य वस्तुमा उक्तको वस्तुको मिश्रण, त्यसको परिमाण र तौल र गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा त्यसको अवस्था अनिवार्य उल्लेख हुनुपर्ने विभागले बताएको छ ।
उपभोग्य वस्तु उपभोग गर्ने तरिका र उपभोग गरेबाट हुन सक्ने प्रभाव, वस्तुको मूल्य, ब्याच नम्बर र उत्पादन मिति, उपभोगको म्याद सकिने मिति उल्लेख गर्नुपर्ने विभागले भनेको छ । ऐनमा लेबल नराखी बिक्रीवितरण गर्ने/गराउनेलाई दुई वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य वस्तुमा लेबल अनिवार्य गरेको छ । वाणिज्यले पटक–पटक सूचना जारी गर्दै लेबल अनिवार्य गर्न भनेको छ । लेबल उल्लेख नगरे कडा कारबाही गर्नेसमेत वाणिज्यको विज्ञप्तिमा उल्लेख छ । तर खाद्य विभागले गरेको अनुगमनमा लेबलबिनाको खाद्य वस्तु भेटिए पनि सुधार गर्न निर्देशन मात्रै दिइएको छ । खाद्य विभागले खाद्य ऐनअनुसार अनुगमन गर्दैर् आएकाले अनुगमनस्थलमै जरिवाना सम्भव नभएको खाद्यको दाबी छ ।
खाद्यको अनुगमन टोलीले शिक्षण अस्पताल महाराजगन्जस्थित एमबी चमेना गृह निरीक्षण गरेको थियो । अनुगमनका क्रममा सरसफाइ तथा ड्रेनेजको अवस्था सुधार गर्नुपर्ने र फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिएको खाद्यले जनाएको छ । उक्त क्यान्टिनलाई सुधार गर्न निर्देशन दिइएको छ ।
सिद्धार्थ स्विट एन्ड बेक्स प्रालि निरीक्षण गर्दा सरसफाइ सन्तोषजनक नभएको विभागले जनाएको छ । केही खाद्य पदार्थमा लेबल विवरण पूर्ण नभएको खाद्य पदार्थ सञ्चयन तथा प्रयोग गरेको र भाँडा माझ्ने तथा खाना पकाउने ठाउँ सँगसँगै रहेको भेटिएको थियो । सिद्धार्थलाई पनि सुधार गर्न निर्देशन दिइएको छ ।
अस्पतालकै क्यान्टिलले लापरबाही गर्नु गम्भीर अपराध भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘सर्वसाधारण बिरामी भएपछि अस्पताल जान्छन्, तर त्यहीँका क्यान्टिनमा खाद्यवस्तुको लापरबाही गम्भीर अपराध हो । लेबल नभएका वस्तु बिक्री गर्न पाइँदैन । तर बिक्री गरिएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका तिमल्सिनाले भने, ‘खाद्यले निर्देशन मात्रै दिए पनि अन्य नियमनकारी निकायले तत्काल अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्छ । निर्देशन मात्रै दिएर उन्मुक्ति दिँदा सुधार हुँदैन, कानुनी कारबाही गर्न जरुरी छ ।’
खाद्यले परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सञ्चालित चमेना गृहको निरीक्षण गरेको छ । प्रसूति गृहस्थित सुनील क्यान्टिन तथा कपडा पसल, मनकामना माई क्यान्टिन, क्याफे केयर प्रालिमा पनि उस्तै समस्या देखिएको थियो । क्यान्टिनमा सरसफाइमा कमी, फ्रिजमा भण्डारण व्यवस्थित नभएको, भेज र ननभेज खानेकुरा एकै ठाउँ भण्डारण गरेको पाइएको थियो । तीनै क्यान्टिनलाई सुधार गर्न निर्देशन दिइएको छ ।

