बितेका दुई नयाँ वर्षहरू कोभिड–१९ का कारण त्यसै फिक्का–फिक्का भए । परार महाव्याधिको विश्वव्यापी सन्त्रास सुरु भएको थियो भने पोहोर यसको घातक दोस्रो लहर सामुन्नेमा थियो । यसपालि महामारी अलि सुस्ताएको छ, जनसंख्याको ७५ प्रतिशतले कम्तीमा एक मात्रा कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउने ६६ प्रतिशत छन् । १८ वर्षमाथिका त ९४ प्रतिशतले कम्तीमा एक मात्रा लगाइसकेका छन्, दुवै मात्रा लगाउने पनि ८३ प्रतिशत छन् । अर्को लहर सुरु नभएमा कोभिडको चिन्ता अलि घटेको जस्तो देखिन्छ । तर, राजनीतिक र आर्थिक ज्वरो अझ बढेको छ । खास गरी, अर्थतन्त्र जोखिमको डिलमा छ । नयाँ वर्षको आजको दिन यही बिग्रँदो राजनीति र अर्थतन्त्रमा सुधारको संकल्प गरिनुपर्छ । खास गरी सरकार र राजनीतिक दलहरूबाट यसका निम्ति यथोचित प्रतिबद्धता आउनुपर्छ ।
सामान्यतया हरेक नयाँ वर्ष बितेको सालका गल्तीहरू सच्याएर नवसंकल्पका साथ अघि बढ्ने शुभअवसर हो । यसपालि भने मुलुकलाई बितेका पाँच वर्षकै गल्तीहरूको समीक्षा गर्ने विशेष मौका छ । यो वर्ष तीनै तहका चुनाव हुँदै छन्, स्थानीय निर्वाचन त यही महिना हुँदै छ । यसै पनि आवधिक चुनावहरू देशका लागि आफैंमा ठूला पर्व हुन् । शासन–सत्तामा बसेकाहरूले पुराना गल्तीहरू सच्याउन प्रण गर्ने र नयाँ प्रतिबद्धता जनाउने मात्र होइन, नागरिकले पनि उनीहरूको कार्यव्यवहारमाथि औंलो ठड्याउने र भाग्य–फैसलामाथि स्वस्तिक छाप लगाइदिने विशेष अवसर हुन् चुनावहरू ।
अतः आजका दिन दलहरूले बितेका पाँच वर्षमा आफूहरूबाट भएका कमीकमजोरीहरूको समुचित लेखाजोखा गर्नुपर्छ, र यसपालि पूरा हुनै नसक्ने सपना देखाएर लोकलाई झुक्याउनेभन्दा पनि यथार्थपरक प्रतिबद्धताहरू जनाएर त्यसलाई पूरा गर्ने दृढता व्यक्त गर्नुपर्छ । आम नागरिकले पनि राजनीतिज्ञहरूको भाग्य फैसला गर्दैगर्दा आफ्नै भाग्यको निर्णय भैरहेको हुन्छ भन्ने हेक्का पुर्याउनुपर्छ, अनि राष्ट्र तथा जनताको समुन्नतिका खातिर कार्य गर्न सक्नेलाई मात्र आफ्नो अमूल्य मत प्रदान गर्नुपर्छ । चुनावी वर्षको नयाँ दिनमा गरिने यससम्बन्धी संकल्प र त्यसको उचित कार्यान्वयनले देशको आगामी दिशा तय गर्छ ।
मुलुकका निम्ति यी चुनावको महत्त्व एउटा आवधिक निर्वाचनको भन्दा बढी किन छ भने, यिनले हाम्रो संघीयताको जगलाई पनि बलियो बनाउनेछन् । भविष्यका निम्ति थिति बसाल्न तथा संघीयताको गाडीलाई व्यवस्थित रूपमा चलाउन यी चुनावको महत्त्वपूर्ण भूमिका हुन्छ । २०७४ सालमा भएका विभिन्न तहका निर्वाचनहरू २०७२ सालमा जारी संविधान कार्यान्वयनका लागि सुन्दर प्रस्थानविन्दु थिए भने अब हुने निर्वाचनहरूले त्यस यात्रामा अहम् खुट्किला थप्नेछन् । अतः हरेक तहका सरकार तथा त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आजका दिनमा हिजो संघीयतालाई बदनाम गराउने गरी भएका गल्तीहरू स्मरण गर्नुपर्छ । किनभने, गल्तीहरूको सही नियतका साथ गरिने गणनाबाटै तिनमा सुधारको
ढोका खुल्नेछ ।
गत साल मात्रै पनि मुलुकको राजनीतिमा अस्वाभाविक उथलपुथल भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोहोर्याएर संसद् विघटन गरेपछि सर्वोच्च अदालतले पुनः प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्यो । साथै, बहुमत सांसदको हस्ताक्षरसहित पुगेका शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नबनाएपछि मुलुकको इतिहासमै पहिलो पटक सर्वोच्च अदालतमा सांसदहरूले ‘परेड खेल्नुपर्यो’ । र, सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुपर्यो । त्यसपछि बनेको गठबन्धन सरकार नै अहिले सत्तासीन छ । संघमा सत्ता समीकरण बदलिएसँगै यसका असर प्रदेशहरूमा पनि देखिए । मधेश प्रदेश र सुदूरपश्चिममा बाहेक मुख्यमन्त्रीहरू फेरिए । जिम्मेवार पदमा आसीन व्यक्तिहरू विधिसम्मत तथा संवैधानिक मार्गचित्र अनुरूप चल्न चाहेका भए सायद यसरी संघीयताका पहिला वर्षहरूमै संघ र प्रदेशहरूको राजनीतिक स्थायित्वमा बादल छाउँदैनथ्यो होला । त्यसैले आजको दिनमा समुन्नत राजनीतिक संस्कारका निम्ति जिम्मेवार राजनीतिक दलहरूले प्रण गर्ने हो भने हिजोको जस्तो दुर्दिन भविष्यमा पक्कै देख्नुपर्दैन ।
यसबीचमा दैनन्दिनको राज्य प्रशासनका क्रममा सरकारबाट अनगिन्ती भूलहरू भएका छन् । सार्वजनिक संस्थानदेखि राजदूतसम्मका नियुक्तिमा अपवादबाहेक सम्बन्धित पदकै हुर्मत लिइएको छ । सबैभन्दा चिन्ताजनक त, अर्थतन्त्र संकाटोन्मुख छ, तर सुधारका निम्ति यथोचित पहल भएको छैन । उल्टो सरकारको हुल्लडबाजी प्रतिशोधको सिकार भएर राष्ट्र बैंकका गभर्नर निलम्बन भएका छन् । अर्थतन्त्रका अधिकांश आँकडासँगै सरकारी गतिविधि पनि उत्तिकै निराशाजनक
छ । यसमा सुव्यवस्थित सुधार नथाल्ने हो भने मुलुकले ठूलै दुर्दशा भोग्नुपर्ने निश्चित छ ।
त्यसैले जसरी वसन्तमा पुराना पात झरेर नयाँ पालुवा पलाउँछन्, त्यसै गरी मध्यवसन्तको आजको दिनमा सरकारलाई नयाँ तथा सकारात्मक सोचका साथ अघि बढ्ने उत्प्रेरणा मिलोस्, आगामी दिनमा राजनीतिले थिति रोजोस्, अर्थतन्त्रले लय समातोस्, नागरिकहरूले पनि आफ्नो दायित्व नभुलून् र आगामी चुनावमा अत्यन्त सचेततापूर्वक मतदान गरून्Ù यही अपेक्षाका साथ हाम्रातर्फबाट सबैलाई नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !
राजनीतिमा थिति बसोस्, अर्थतन्त्रले लय समातोस्
राजनीतिमा थिति बसोस्, अर्थतन्त्रले लय समातोस्
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

