भुटानको प्रगतिले धेरैलाई लोभ्याउँछ ।
भुटानको प्रगतिले धेरैलाई लोभ्याउँछ । संसारका धेरै मुलुक लोभिने यस्तो प्रगति उसले पछिल्ला केहि दशकमै हासिल गरेको हो ।
विश्व बैंकका अनुसार सन् २०२३ मा भुटानीहरूको प्रतिव्यक्ति आय ३ हजार ७१८ अमेरिकी डलर पुगेको छ। नेपालको भन्दा साढे दुई गुणा धेरै ।
भुटानको जनसंख्या जम्मा सात लाख छ।
सन् २००८ देखि भुटानमा बहुदलीय व्यवस्था लागू भएको छ । पहिलो चरणमा सबभन्दा धेरै मत ल्याउने दुई दलले मात्र संसदीय निर्वाचन लड्न पाउने संवैधानिक व्यवस्था छ। दुई दल मिलेर गठबन्धन सरकार बनाउन संविधानले बन्देज लगाएको छ। आवधिक निर्वाचनपछि शान्तिपूर्वक हस्तान्तरण हुन्छ र राजनीतिक स्थिरता र स्थायित्व छ।
शिक्षा र स्वास्थ्य सेवा भुटानमा निःशुल्क छ।
00000
बचत देखि लगानी सम्मको यात्रा हेर्नका लागि
भुटानको अर्को ठूलो उपलब्धि – दक्षिण एसियाको मात्रै होइन, यो देश संसारकै सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमध्ये एक हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका (टिआई) अनुसार एसियामा कम भ्रष्ट मुलुकको सूचीमा सिंगापुर मात्र भुटानभन्दा माथि छ। अरू सबै तल छन् ।
नेपालीहरू ठूलो संख्यामा बाहिर जान थालेको सन् २००० यता हो। नेपालीहरू किन यति ठूलो संख्यामा विदेश गइरहेका छन् भनेर हामीले सोध्यौं भने आममानिसको मुखबाट फ्याट्टै आउने उत्तर हो – यति खत्तम देशमा पनि को बस्छ !
–
जान्ने, बुझ्नेका उत्तर अलि लामा हुन्छन् – देशमा विकास छैन, रोजगारीको अवसर छैन। जताततै भ्रष्टाचार र बेथिति छ । न सार्वजनिक शिक्षा राम्रो छ, न स्वास्थ्य। धूलोमैलो र कोलाहल छ। राजनीतिक अस्थिरता छ । अनि यस्तो देशमा को बस्न चाहन्छ ?
नेपालीहरू यिनै कारणले देश छाडिरहेको न्यारेटिभ हामीले सुन्दै र भन्दै आएका छौं।
एकछिन अडिएर सोचौं – त्यसो भए भुटानीहरू चाहिँ किन छाडिरहेका छन् देश? भुटानको प्रतिव्यक्ति आय नेपालीको भन्दा साढे दुई गुणा धेरै छ । हामीले धेरै कुरा ठिक गयौं भने पनि भुटानीहरूको आयस्तरमा पुग्न नेपाललाई अर्को १०-१५ वर्ष लाग्छ। शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, राजनीतिक स्थिरताका हिसाबले त भुटान हामीभन्दा कति माथि छ, कति !
यसका बाबजुद भुटानी युवाहरूले देश छाडिरहेका छन् । अलि पहिले धेरै भुटानी युवाहरू भारत जान्थे। अहिले उनीहरू मूल रूपमा अस्ट्रेलिया र क्यानडा गइरहेका
छन्।
अहिलेको युवा पुस्ता, चाहे त्यो भुटानको होस् वा नेपालको, ऊ ‘एस्पिरेसनल’ (आकांक्षी) छ। उसको ‘एस्पिरेसन’ ले मुलुकी सीमाको बन्देज मान्दैन। मुलुक बाहिर उसको व्यक्तित्व विकासको राम्रो अवसर र थप आयआर्जनको सम्भावना छ भने ऊ आफ्नो देश भनेर बस्दैन!
भुटानको थिम्पु वा काठमाडौंमा मासिक पचास हजार रूपैयाँको जागिर खाइरहेको एक आकांक्षी युवाले अस्ट्रेलियाको सिड्नी वा युएईको एक वा डेढ लाख रूपैयाँको जागिर पायो भने त्यहीं जान्छ ।
डिजिटल युगले संसारलाई जसरी जोडेको छ, आकांक्षाका पखेटा सीमा बाहिरसम्म फैलाउन युवाहरूलाई सजिलो र सम्भव भएको छ।
युवाहरू काठमाडौंमै बसेर बाहिरको सम्भावना र अवसर देख्न सक्ने भएका छन्। कहाँ पढ्न पाइन्छ, जागिर कसरी पाइन्छ, के सीप चाहिन्छ, कति कमाइ हुन्छ भन्ने जस्ता प्रश्नको जबाफ धेरैले काठमाडौंबाटै पहिल्याउन थालेका छन् । उनीहरूका साथीभाइ वा परिवार उनीहरू जान खोजेको देशमा छन् भने त झनै सजिलो भइहाल्यो।
डिजिटल युगले सम्भावनाको ढोका मात्र खोलेको छैन, दुई-तीन दशक अघिसम्म समाज र परिवार छाडेर बाहिर जाँदा जुन खाडल मनमा पर्थ्यो, त्यसको आयतन पनि कम भएको छ ।
दुबईमै बसेर एउटा युवाले आफ्नो परिवारसँग दिनदिनै भिडिओ कलमा कुरा गर्छ। प्रियजनहरूको अनुहारको हाँसो देख्न सक्छ । चिन्ता पढ्न सक्छ । त्यहीँबाट उसले आमाबुबा, छोराछोरी वा श्रीमतीको वालेटमा पैसा हालिदिन सक्छ । उनीहरूलाई चाहिएको सामान वा उपहार किनेर होम डेलिभरी गरिदिन सक्छ । छोराछोरीको स्कुलको शुल्क तिरिदिन सक्छ । घरमा डाक्टर पठाइदिन सक्छ । झापा वा पोखराको मानिसलाई आज काठमाडौं बस्नु र दुबई बस्नु उस्तै उस्तै जस्तो भएको छ । दुबई वा संसारको कुनै सहरमा गएर म धेरै प्रगति गर्न सक्छु, परिवारका लागि धेरै गर्न सक्छु भन्ने चाहना र आत्मविश्वास भएको युवाका लागि काठमाडौं वा थिम्पु नै बस्नुपर्ने कारण कम हुँदै गएका छन्।
त्यसैले भुटानका युवाहरू पनि देश छाडेर अस्ट्रेलिया, क्यानडा गइरहेका छन्।
त्यसो भए, भुटानको सन्देश के हो त?
नेपाल ‘खत्तम’ भएर वा ‘खत्तम’ छ भनेर देश छाड्नेहरू पक्कै होलान् । तर देश ठिकठाक हुँदैमा ‘एस्पिरेसनल’ युवाहरू आफ्नै मुलुकमा बस्छन् भन्ने छैन –भुटानको सन्देश त्यही हो।
भुटान मात्र होइन संसारका धेरै मुलुकको उदाहरणले त्यही भन्छ। मानिसहरू अझ राम्रो सम्भावनाको खोजीमा एउटा मुलुकबाट अर्को मुलुकमा काम गर्न गइरहेका छन्। बसाइँसराइ गरिरहेका छन्।
नेपालीहरू अहिले ठूलो संख्यामा काम गर्न जान थालेका पूर्वी युरोपका देशहरूको उदाहरणले पनि त्यही भन्छ ।
नेपालीहरू आजकाल काम गर्न पूर्वी युरोपको रोमेनिया पनि जान थालेका छन्। युरोपमा आप्रवासी सम्बन्धी तथ्यांक संकलन गर्ने ‘इन्फोमाइग्रेन्ट्स’ का अनुसार सन् २०२४ सम्ममा १८ हजार ७०० नेपाली कानुनी रूपमा रोमेनियामा बसिरहेका छन्। साभार, सेतोपाटी माघ ३

