गोलिक इतिहास लामो भए पनि चितवनमा मानव बसोबासको इतिहास उति धेरै लामो छैन । यसको मैदानी भूभागमा थारू समुदाय र पहाडी भूभागमा मूलतः चेपाङ जातिको बसोबास थियो । जंगलैजंगलले ढाकिएको चितवनमा २००७ सालको परिवर्तन र २०१३ सालमा राप्तीदुन परियोजना सुरु भएपछि पहाडियाहरू बसाइँ सरेर आउन थालेका हुन् । त्यसपछि मात्रै सुरु भएको हो, गतिशील चितवनको इतिहास ।
चितवनको इतिहास कति लामो छ ? यो विषय खोतल्नका निम्ति अनेक कथा र मिथकहरूको इतिहास पनि खोतल्नुपर्छ । चितवनमा भएको वाल्मीकि आश्रमको कथा अघि सार्दै कतिपयले चितवनको इतिहास पौराणिककालसम्मै तन्काएर हेर्ने गरेका छन् । त्रेतायुगमा वाल्मीकि ऋषिले यहीं बसेर रामायण रचना गरेकोदेखि लवकुशलाई पनि यहीं शिक्षा दिएको जनविश्वास राख्नेहरू अझै पनि छन् ।
कतिपयले भने चितवनको नाम कसरी रह्यो भनेर खोज्ने हो भने यसको इतिहास भेटिन्छ भन्ने तर्क गर्छन् । थारू समुदायका मानिस भन्छन्— भारतको चित्तौडबाट हाम्रा पूर्वज यहाँ आएका हुन्, त्यसैका आधारमा चितवन भनिएको हो । कोही भन्छन्— कुनै बेला चित्रसेन नाम गरेका राजाले यहाँ शासन गर्थे, यही आधारमा चितवन भनिएको हो । नाम जे जसरी राखिए पनि चितवन इतिहासदेखि शासकहरूको रोजाइको एउटा ठाउँ रहिरह्यो ।
कहिले सिकार खेल्न राणाखलकहरू चितवन झरे, कहिले मौजा लिन जमिनदारहरू चितवन हानिए । आवादी बढेपछि यो समयका विभिन्न फलकमा राजनीतिको केन्द्र पनि बनिरह्यो । राणाकाल होस् कि पञ्चायत, प्रजातन्त्रको समय होस् कि गणतान्त्रिक व्यवस्थाको समय— चितवन चर्चा र परिचर्चाको केन्द्रमा रहिरह्यो । चितवनको इतिहास कोट्याउनेहरूले यहाँ राणा शासकहरूले गरेको सिकारका चित्ताकर्षक र सौर्यपूर्ण कहानी सुनाउँछन् । यस्तो कहानीमा राणाकाल, शाह शासनकाल र यी दुवै कालमा शासकहरूले विदेशी भाइसरायहरूलाई खुसी पार्न अपनाएको सिकार कूटनीतिको कथा मिसिएको हुन्छ । कतिपयले भने यहाँका थारू आदिवासीको संघर्ष र प्रकृतिसँग एकाकार जीवनशैली सुनाउँछन् । कतिपयले भने पर्यटन उद्योगको प्रारम्भदेखि चितवनले हिँड्न खोजेको बाटोको कथा पनि सुनाउँछन् । यी सबै कथामा चितवन एउटा गतिशील र सम्भावनाहरूले भरिएको भूमिको छनक मिलिहाल्छ ।
समथर भूमि भएकाले यातायातको सहज प्रबन्ध, जंगल र नदी भएकाले प्राकृतिक स्रोतको सहज उपलब्धता अनि उत्पादनयोग्य भूमिका कारण कृषिको सम्भावनाका कारण चितवनको चर्चा देशभित्र छँदै थियो । विदेशमा पनि यो भूगोलको चर्चा इतिहासदेखि नै भइराखेको देखिन्छ । यसका पछाडि तिनै शासकहरूको सिकार कूटनीतिको कुरा जोडिएर आउँछ । ब्रिटिस–इन्डियाका अंग्रेज अफिसरहरूका निम्ति सिकार खेल्ने रोजाइमा चितवन नै परेको थियो । राणा शासकहरूसँग सुमधुर सम्बन्ध भएकाले भारतमा शासन गरेका बेला त्यहाँ आएका ब्रिटिस राजा–महाराजादेखि प्रिन्स र अन्य उच्चपदस्थ पदाधिकारी सिकार खेल्न चितवन आइपुग्थे । जर्ज प्रथम, जर्ज छैटौं, प्रिन्स अफ वेल्सहरू पनि यस क्षेत्रमा आएर सिकार खेलेको इतिहास छ । यस्तो इतिहासकै कारण चितवनको चर्चा विदेशसम्म फैलिएको थियो । भलै यस्तो चर्चाको लाभ चितवनले के पायो भन्ने प्रश्न आजपर्यन्त जारी छ ।
चितवनका निम्ति यहाँ बसाइँ सरेर सम्भावनाको खोजीमा आएका नागरिकहरू जति अर्थपूर्ण छन्, उति नै अर्थपूर्ण छ, यहाँको जंगल । जंगल चितवनका निम्ति प्राकृतिक स्रोत मात्रै नभएर यो चितवनमा फस्टाइरहेको पर्यटन उद्योगको आधारस्तम्भ पनि हो । यहाँका राप्ती र नारायणी नदी अनि राष्ट्रिय निकुञ्जलाई चितवनबाट अलग्याएर हेर्ने हो भने यो जिल्लाको कस्तो चित्र बन्छ होला ? सोच्न पनि मुस्किल पर्छ ।
राप्ती उपत्यका विकासका लागि अमेरिकाले सुरु गरेको योजना र पछि राजा महेन्द्रले सुरु गरेको राप्तीदुन परियोजनाको जगमा आधुनिक चितवनको इतिहास अघि बढेको देखिन्छ । पहाडी जिल्लाबाट बसाइँ सरी आउनेहरूको ताँतीसँगै चितवन गतिशील बन्न थालेको हो । २०१३ सालमा भरतपुरमा विमानस्थल निर्माण र २०१६ सालमा अमेरिकी सहयोगमा नारायणगढ–हेटौंडा सडक बन्ने कामले यसलाई थप मलजल गर्ने काम गर्यो ।
पूर्व–पश्चिम राजमार्ग बनेपछि हेटौंडा र बुटवल जस्ता सहरसँग जोडिन थालेपछि र काठमाडौं सजिलै जान सकिने बाटो बनेपछि चितवन थप गतिशील बन्दै गयो । यसबीचमा छुटाउनै नहुने एउटा कुरा भनेको २०२८ सालमा सुरु भएको नयाँ शिक्षा योजना हो । जसको सुरुवात देशभरका दुई जिल्लाबाट भएको थियो । त्योमध्ये एक जिल्ला यही चितवन थियो ।
सडक पूर्वाधार, शिक्षामा लगानी र प्राकृतिक स्रोतको उपलब्धताले चितवनलाई थप गतिशील मात्रै बनाएन, यसैको आडमा भएको बढ्दो बसाइँसराइले चितवनमा आवादी ह्वात्तै बढ्यो । जहाँ बसाइँ सरेर आउनेहरूको संख्या बढी हुन्छ, त्यहाँ बजार फस्टाउने नै भयो । अनि त्यही बजारको आडमा शिक्षा, स्वास्थ्य र यातायात जस्ता पूर्वाधारमा लगानी पनि बढ्ने नै भए ।
एक समय कृषि उत्पादनमा अब्बल चितवन त्यसपछि पर्यटन उद्योगमा पनि अघि सर्यो । बिस्तारै यो शैक्षिक केन्द्र र स्वास्थ्य केन्द्र पनि बन्दै गइरहेको छ । सरकारी क्यान्सर अस्पतालदेखि निजी क्षेत्रले खोलेका ठुल्ठूला अस्पतालहरूले चितवनलाई थप गतिवान् बनाइरहेका छन् । ग्रामीण सडकमा चितवनले मारेको फड्को र त्यससँगै ससाना बजार निर्माणको गति अनि यही पृष्ठभूमिमा फैलिरहेको आर्थिक सम्भवना— यी सबैको संगमले चितवनलाई गतिशील मात्रै बनाइरहेको छैन, अवसरको जिल्लाका रूपमा पनि चिनाइरहेको छ । चितवनको गतिशीलताको कुरा गर्दा यहाँ गुड्ने साइकलहरूको कुरा नगरी हँॅदैन । एक समय चितवन साइकलको सहर जस्तो थियो । जसले यहाँका पुरुषदेखि महिलाहरूलाई गतिशील बनाएको थियो । जुन समाज गतिवान् हुन्छ, त्यही समाजले उर्पाजनका सम्भावनाहरूको पनि खोजी गर्छ ।
पछिल्ला वर्षहरूमा ह्याचरी उद्योगमा चितवनले हासिल गरेको गतिले यो जिल्लाको सम्भावनाको थप दृश्य उजागर गर्छ । चितवनले उत्पादन गर्ने दूध, अन्डा र कुखुराको मासुले देशको ठूलो माग धानिरहेको छ । अनि यही बजारचित्रमा छ, चितवनको सम्भावना । सम्भावनाले भरिएको यो गतिशील जिल्ला अब भने समयको नयाँ दोसाँधमा आइपुगेको छ । किनकि बढ्दो आवादीले यहाँको प्राकृतिक स्रोतमाथि दबाब बढिरहेको छ । नयाँ–नयाँ अवसरको खोजीले चितवनको खास सम्भावना के हो वा यो जिल्लाको प्राथमिकता के हो भन्ने प्रश्न पनि गरिरहेको छ ।
टुक्रा–टुक्रामा जग्गाहरू खण्डीकरण हुँदा ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गरौं भन्नलाई पनि जग्गा पुग्न कठिन छ । तसर्थ यहाँ सामूहिक स्वामित्वमा एकीकृत व्यावसायिक खेती गर्नेतिर सरोकारवालाले सोच्नु आवश्यक भइसकेको छ ।
व्यवस्थित सहरीकरणको अर्को चुनौती पनि चितवनले भोग्न सुरु गरिसकेको छ । राजधानी काठमाडौंबाट सार्नुपर्छ भन्ने कुरा उठिरहेका बेला के चितवनले राजधानी सहर धान्न सक्छ भन्ने प्रश्न पनि गर्नुपर्ने बेला भइसकेको छ । त्यसका लागि पनि चितवन एउटा व्यवस्थित सहर हो भनेर पुष्टि गर्नका लागि काम गर्नुपर्ने बेला भइसकेको छ । साभार : कान्तिपुर

