२००७ सालमा नेपालमा मलेरियाको ठूलो प्रकोप थियो । अमेरिकाले मलेरियाविरुद्धको खोप सुरु गरेको थियो । तराईमा यससँग जुध्न नसकेर बसाइँसराइ कमै थियो । त्यस बेला तराईमा थारू समुदाय (चौधरी) मात्रै बस्थे । उनीहरूलाई एक प्रकारले मलेरिया ‘प्रुफ’ नै भनिन्थ्यो । पहाडबाट झरेका मान्छेले मलेरिया सहनै नसक्ने अवस्था थियो ।
२००९/१० सालतिर अमेरिकाको सहयोगमा राप्तीदुन परियोजना सुरु भएपछि बसोबासको आरम्भ भयो । यद्यपि त्योभन्दा अगाडि २००० साल आसपासमा धादिङ र गोरखाबाट आएर चितवनमा बस्न सुरु गरिसकेका थिए । उनीहरू दिनभरि तल र बेलुका भएपछि भण्डाराभन्दा माथि शिखरमा गएर बस्थे । पश्चिम चितवनमा बन्दीपुरे र नारायणगढमा नेवार समुदायको बसोबास सुरु भएको थियो । पूर्वी चितवनमा धादिङ, गोरखा, तनहुँ, लमजुङतिरका मानिस आएका थिए । अहिले चितवनमा ७८ जिल्लाकै मान्छे बस्छन् ।
२०२० सालमा राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गको गैंडाकोटमा शिलान्यास गरे । त्यसपछि वीरगन्जदेखि नारायणगढसम्मको बाटो बन्यो । नारायणगढदेखि पश्चिमतिर बुटवलसम्म बाटो थिएन । नारायणगढदेखि गोरखासम्म पनि बाटो थिएन । त्यस बेला चितवनमा सबैभन्दा ठूलो क्षेत्र जंगल नै थियो । बसोबास व्यापक रूपमा तल झर्न थालेपछि बिस्तारै वन फँडानी हुँदै गयो ।
चुरेभन्दा भित्र पर्ने चितवनमा तुलनात्मक रूपमा मधेशको भन्दा चिसो हावापानी, नारायणी र राप्ती भएकाले कम गर्मी, सीमाबाट केही टाढा, प्रशस्त पानी पाइने, उत्पादन पनि राम्रो भएकाले पहाडबाट झर्ने क्रम बढ्यो । जंगल फँडानीपछि मलेरिया कम भयो । पहाडमा खेतीपाती गर्न दुःख हुन्थ्यो । समथर बाटो, सडकको सुविधा, राजधानीबाट नजिक गोरु, राँगाको गाडा चल्ने भएकाले ओसारपसार गर्न सजिलो, धान प्रशस्त फल्ने र खानलाउन पनि सजिलो हुने भएकाले सुरुमा खेती गर्ने उद्देश्यले चितवन सर्ने क्रम सुरु भयो । बाटो विकासको मुख्य पूर्वाधार हो । केही खण्ड पहिले बनेको भए पनि पूर्व–पश्चिम राजमार्गको आरम्भ भएपछि चितवनको भविष्य चम्किलो बन्दै गएको हो ।
चितवन राजनीतिक परिवर्तन र चेतनाको पनि केन्द्रबिन्दु थियो । २०३० सालमा राजा वीरेन्द्रले नयाँ शिक्षा पद्धति सुरु गर्दा चितवन र कास्कीबाट गरेका थिए । यहाँ बसोबास गर्ने गुन्जमानसिंह श्रेष्ठलगायत व्यक्तिले कुन–कुन ठाउँ बसोबास गर्न उत्तम भनेर सर्भे पनि गरेका थिए । चितवनमा बसोबास गर्नमा उनीहरूको भूमिका पनि छ । रत्ननगरमा अहिले पनि गुन्जमानसिंह अस्पताल छ ।
वामपन्थी र कांग्रेसको राजनीति पनि सुरुदेखि नै त्यहींबाट सुरु भयो । विश्वबन्धु थापा कांग्रेसको महामन्त्री हुनुभयो । पछि उहाँ पञ्चायतमा जानुभयो । कांग्रेस र पञ्चायतको राजनीतिको पनि चितवन सेन्टर बन्यो । राजासँग सिधै सम्पर्क भएका लीलाराज विष्ट, हरिकुमार श्रेष्ठलगायत धेरै सम्पन्नशाली व्यक्ति चितवनमा बसाइँ सरे । उनीहरू पञ्चायतकालमा धेरै पहुँच भएका व्यक्ति यहाँ सरेका कारण पनि चितवनमा विकासको गति बढ्यो । राणाकालमै पनि चितवन एक प्रकारको आकर्षण केन्द्र थियो । त्यति बेला राणा र दरबार निकटका व्यक्ति सिकार गर्न यहाँ आउँथे । राणाहरू बाघ मार्न जंगलमै बस्ने गर्थे । त्यही सिलसिलामा टाइगर टप होटल खुलेको थियो ।
एक चरणको विकास भइसकेपछि मानिस कुरेर बस्दैनन्, ‘जम्प’ गर्न चाहन्छन् । एउटा भनाइ पनि छ, एक पटकको बसाइँ सर्नेले एक सय पटक सर्छन् । बसाइँ सर्ने आदत लाग्छ । चितवनमा धेरैजसो बसाइँ सरेर आएकाहरू छन् । अहिले संसारमा विदेश गएका नेपालीको संख्या खोज्ने हो भने सबैभन्दा धेरै चितवनको पाइन्छ । चितवनका मान्छे नपुगेको कुनै देश नै छैन । चितवनको ठूलो संख्यामा ‘माइग्रेसन’ छ । त्यसको एउटा कमजोरी पनि छ । पैसा भएको मान्छे बाहिर जानु राम्रो होइन । यसले चितवनको समार्थ्य भने बाहिरिएको छ । पैसावाला र बुद्धिवाला पनि बाहिर गए कुनै पनि देशका लागि राम्रो होइन । त्यसलाई कसरी फिर्ता ल्याउने चुनौती सँगसँगै चितवनले त्यसलाई सदुपयोग गर्न सके अवसर पनि छ । चितवनबाट बाहिरिनुमा समस्या मात्रै होइन, यसलाई अवसरका रूपमा पनि लिनुपर्छ ।
सबैभन्दा पछौटे ठाउँबाट विकास सुरु गर्दा देश कहिल्यै बन्दैन । विकास गर्न सबैभन्दा अत्याधुनिक तत्त्वले नेतृत्व गर्छन् । नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्व राणा परिवारभित्रैबाट भयो । जुम्ला, हुम्ला, रसुवा, मनाङबाट पञ्चायतविरोधी आन्दोलन सुरु भएको होइन । जो गतिशील थिए, राणाहरूलाई बुझ्दथे । त्यसपछि बीपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंहले राणाविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सबैभन्दा सचेत काठमाडौं, विराटनगर जस्ता ठाउँबाट पञ्चायतविरोधी आन्दोलन सुरु भएको हो । जहिले पनि विकसित ठाउँबाट सुरु भयो । त्यो सम्भावना चितवनमा छ ।
हरेक आन्दोलनमा चितवनको भूमिका छ । राजा, पञ्चायतको बेला पनि नयाँ शिक्षा चितवनबाट लागू भएको थियो । किनभने त्यहाँका मान्छेले शिक्षाको महत्त्व बुझ्छन्, कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर ल्याइएको थियो ।
***
बसोबासको विविधताबीच चितवनको सामर्थ्य पर्यटन र कृषि हो । अहिले दूध, केरा, मह, माछा उत्पादनमा चितवन अगाडि छ । उत्पादनमा कसरी ‘भ्यालु एड’ गर्नेमा यहाँका किसान धेरै सजग छन् । राष्ट्रिय निकुञ्जका कारणले क्षेत्र केही खुम्चिएको र धान खेती गर्ने ठाउँमा रिसोर्ट, उद्योग सञ्चालन भए पनि खेती नयाँ स्वरूपमा आएको छ । सौराहा नयाँ पर्यटन गन्तव्यको रूपमा रूपान्तरण भयो । हिजोको खेतीभन्दा सौराहाले पर्यटनबाट बढी आर्जन गरेको छ । पूर्वाधार र यातायातको विकासले नारायणगढ र टिकौलीको जंगलले ‘ब्रेक’ नगरे लोथरसम्म सिटी जस्तै बनेको छ । पोल्ट्रीको केन्द्रीय हब नै चितवन हो । पोल्ट्रीको ५० देखि ६० प्रतिशत चितवनमै उत्पादन हुन्छ । त्यसलाई व्यवस्थित गर्न सके मुलुकलाई नै योगदान पुर्याउँछ । काठमाडौं र पोखरालाई चितवनकै उत्पादनबाट आपूर्ति हुन्छ ।
विगतमा ठाउँठाउँमा मात्रै बस्ती थियो । भरतपुरमा पनि त्यति बस्ती थिएन । भरतपुरपछि टाँडी बजार, त्यसपछि पर्सा बजार र भण्डारा बजार थियो । अहिले सबै एउटा भइसकेको छ । प्रदेश राजधानी भएपछि हेटौंडाबाट बस्ती बढ्दै आएको छ भने चितवनबाट पनि बिस्तार हुँदै जाँदा लोथर पारि र मनहरी बीचको जंगलले केही अलग देखिए पनि दुवै सहर जोडिने भएका छन् । जिल्ला, प्रदेश अलग भए पनि पश्चिम कावासोतीतिर पनि आर्थिक ‘कनेक्टिभिटी’ विस्तार भएको छ । गैंडाकोटको सम्बन्ध पोखराभन्दा चितवनसँग छ । नवलपुरमा पनि ठूला होटल छन् । नारायणी र राष्ट्रिय निकुञ्ज पनि वारि र पारि छ । त्यसकारणले चितवन इको सिस्टमले पनि जोडिएको छ ।
अहिले भरतपुर विमानस्थल पनि विस्तार हुँदै छ । एटीआर ७२ पनि सजिलै ल्यान्ड गर्न सक्छ । विस्तार सकिएपछि भैरहवा र काठमाडौंको पनि हुन सक्छ । यहाँबाट पोखरा र भैरहवा उडान भइरहेको छ । निजगढ विमानस्थल बने ‘इन्टर कनेक्टिभिटी’ व्यापक हुन्छ । त्यसकारण चितवनको विस्तारलाई अझै मद्दत गर्छ । यसका लागि विमानस्थल र सडक विस्तार छिटो सक्नुपर्छ ।
पथलैयादेखि नारायणगढको सडक उच्च प्राथमिकताका साथ विस्तार गर्नुपर्छ । यो निर्माण हुनेबित्तिकै वीरगन्जबाट चितवन आउन २ घण्टा बढी लाग्दैन । त्यसैले चितवन हुँदै भैरहवा, बुटवल पुग्न २ घण्टा लाग्दैन । यसले चितवनको महत्त्व थप बढाउँछ । अहिले चितवनका मान्छेले काठमाडौं, पोखरा, बुटवल, हेटौंडाको बजारभाउ सोध्छन्, जहाँ महँगो छ, त्यही ठाउँमा बेच्ने गर्छन् । ६ लेनको सडक विस्तारसँगै यसको ‘भाइब्रेन्ट’ थप बढ्छ ।
***
चितवनको पहिलो सम्भावना भनेको पर्यटन हो । यहाँ नारायणी र राप्तीले पानीको सहज पहुँच छ । नारायणी नदीलाई दुवैपट्टि रिटेनिङ गरेर रेगुलर सफा गर्ने बनाइदिएर ‘रिसोर्ट र बीच’को सुविधा दिन सके धेरै आम्दानी गर्न सकिन्छ । नारायणगढमा प्रयोग भइरहेका सानासाना डुंगालाई अझै व्यवस्थित बनाएर बर्खाका दुई महिनाबाहेक पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सक्छौं । जंगल सफारीको सम्भावना उत्तिकै छ । देवघाट र वाल्मीकि आश्रमसमेतलाई जोडेर पर्यटनको हब नै बनाउन सकिन्छ । नजिकै बनिरहेको बुढीगण्डीको पानी टनेल बनाएर शक्तिखोरमा झार्न सके बोटिङ गर्न सकिन्छ । त्यसले सिँचाइको सुविधा पनि बढाउन सकिन्छ ।
शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्र निर्माण भए कतिपय काठमाडौंलाई लक्षित उद्योग स्थापना हुन्छन् । विदेशी लगानी पनि आउँछ । भण्डारा–मलेखुको बाटोमा ३ देखि साढे ३ किलोमिटरको सुरुङ बनाउन सके ४० किलोमिटरमै पुग्न सकिन्छ । त्यसले काठमाडौं जाने दूरी धेरै घट्छ । अर्को, फिस्लिङदेखि शक्तिखोरको बाटो छ । त्यहाँको एउटा समस्या भने छ, फिस्लिङसम्म आइपुग्दा दुर्घटनाको बाटो अझै कायम रहन्छ । त्यतातिरको त्रिशूली साँघुरो भएर बगेको छ । तर भण्डारा–मलेखुको बाटो दुर्घटना हुने सम्भावना कम छ । यसका लागि कोरियनले सर्भे गरिसकेकाले स्रोत जुट्दा जहिले पनि टेन्डर हुन सक्छ । यता, भारतसँग जोडिन भण्डारादेखि ठोरीसम्म र ठोरीबाट माडी जोड्नेबित्तिकै माडीबाट भरतपुर आउन पनि मुख्य बाटो हुन्छ । त्यो बाटोबाट भण्डारा आउन पनि सकिन्छ ।
नारायणी किनारदेखि राप्ती किनारसम्म ‘सी–बीच’को अवधारणा ल्याउनुपर्छ । अहिले पनि केही रिसोर्ट बनिराखेकै छन् । त्यसलाई ‘कनेक्टिभिटी’ गर्ने हो । सौराहादेखि राप्ती, लोथरसम्म जोड्न सकिन्छ । यसले सिंगो चितवनलाई पर्यटन हब बनाउन सकिन्छ । त्यसकारण चितवन धेरै महत्त्वपूर्ण जिल्ला हो । यसले हिजोभन्दा थप समृद्ध र विकसित हुनेछ ।
चितवनको समृद्धिका लागि सबै क्षेत्रको समन्वय जरुरी छ । पर्यटनमा पैसा र सम्भावना छ । धेरै रोजगारी दिने क्षेत्र पनि हो । एउटा सानो रेस्टुरेन्ट सञ्चालनमा ल्याए पनि एक/दुई जनाले रोजगारी पाउँछन् । स्वदेशी उत्पादन खपत हुन्छ । थोरै भए पनि माछामासु बिक्री हुन्छ । यसले बजार ‘भाइब्रेन्ट’ बनाउँछ । त्यसकारण धेरै सम्भावना बोकेको क्षेत्र पर्यटन नै हो ।
दोस्रो सम्भावना बोकेको क्षेत्र पोल्ट्री हो । मासुलाई प्याकिङ गर्नेदेखि गुणस्तर उत्पादन गर्ने हो । अहिलेसम्म त्यो हुन सकेको छैन । केएफसीले मासु विदेशबाट आयात गर्छ । केएफसीलाई चाहिने मासु चितवनमै उत्पादन गर्न सके पैसा यहीं रहन्छ । त्यसका लागि सरकारको सहयोग पनि चाहिन्छ ।
कुखुरालाई खुवाउने दाना, गोठदेखि कटिङ, ढुवानी, डिप फ्रिज, प्याकेजिङका लागि तालिम चाहिन्छ । केएफसीलाई चाहिने किसिमको गुणस्तर निर्धारणबारे किसानलाई तालिम दिन चितवनमा पोल्ट्रीको स्कुल सञ्चालन गर्न सकिन्छ । त्यसका लागि व्यवसायी, राजनीतिज्ञ, जनताबीच समन्वय जरुरी छ ।
चितवनमा २२ देखि २५ जातिका सांस्कृतिक घर, खानादेखि पहिचान झल्काउने ठूलो ‘सांस्कृतिक भिलेज’ बनाउन सकिन्छ । दुई तीन सय बिघा जग्गामा सांस्कृतिक भिलेज बनाउन सके विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि भीड लाग्छ । ( पाण्डे पूर्वअर्थमन्त्री हुन् । )

