काठमाडौँ, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतिआवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको बताए । उनले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पुर्याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए ।‘अति आवश्यक औषधिहरुलाई नेपालमा नै उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । द्रुतगतिमा फैलिएर आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने महामारी रोगहरुको प्राथमिकताका साथ प्रतिकार गर्न जनस्वास्थ्य, पशुस्वास्थ्य र वातावरणीय स्वास्थ्यका निकायहरुको एकीकृत प्रयासका लागि एक स्वास्थ्य अवधारणा अनुरुप एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत भई कार्यान्वयनमा रहेको छ,’ उनले भने, ‘नसर्ने रोगको बढ्दो भारलाई रोकथाम तथा नियन्त्रणका लागि सम्वद्ध सरोकारवालाहरुको सहभागितामा बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ स्वीकृति गरी कार्यान्वयनमा रहेको छ ।’
उपप्रधानमन्त्री यादवले सरकारले गरिब नागरिकका लागि उपचारको सेवामा पहुँच पुर्याउन सक्दो पहल गरिरहेको बताए ।

