काठमाडौं । दिनहुँ तपाईंले दुई शय रुपैंया खर्च गर्न सक्नुहुन्न भने सम्झनुस तपाई गरिबको सूचिमा पर्नुभयो । यो हिसाबले नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको सरकारी अध्ययनले देखाएको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले सोमबार ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’ सार्वजनिक गरेको छ, जसले कुल जनसंख्याको २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको देखिन्छ ।
गरिब र धनीबीचको आर्थिक असमानता घटाउँदै गरिबीको रेखामुनि रहेको जनसंख्यालाई एकल अंकमा ल्याउने सरकारको लक्ष्य भए पनि मुलुकको गरिबी अझै २०.२७ प्रतिशत रहेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । सोमबार सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण चौंथो (२०७९/८०) ले नेपालको कुल जनसंख्यामध्ये ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनि रहेको देखाएको हो । अर्थात् ती मानिसले न्यूनतम आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि) पूरा गर्न सकेका छैनन् । सरकारले १५औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष ०८०/८१ सम्ममा नेपालको गरिबी एकल अंकमा झार्ने लक्ष्य राखेको थियो ।
यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भए पनि उपभोग्य वस्तुहरूको डालो (फुड बास्केट) र गरिबीको मापन दरमा परिवर्तन भएकाले नेपालको निरपेक्ष गरिबी २०.२७ प्रतिशत देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले तेस्रो जीवनस्तर सर्वेक्षण प्रकाशन भएको १२ वर्षमा चौथो सर्वेक्षण प्रकाशन गरेको हो । तेस्रो सर्वेक्षणमा २५.१६ प्रतिशत रहेको गरिबी अहिले २०.२७ प्रतिशत देखिएको हो । तर कार्यालयले यो सर्वेक्षणमा देखाइएको गरिबी अघिल्ला सर्वेक्षणहरूसँग तुलना गर्न नमिल्ने भनेर प्रस्ट्याएको छ ।
‘तेस्रो सर्वेक्षणमा विश्लेषण गरिएको वस्तुको डालो र गरिबीको मापदण्ड उपयोग गरिएको भए अहिले नेपालको गरिबी ३.५७ प्रतिशत हुन आउँथ्यो,’ कार्यालयले भनेको छ, ‘तर यो सर्वेक्षणमा उपभोग्य वस्तुहरूको डालो र गरिबीको मापन दरमा व्यापक परिवर्तन भएकाले नेपालको निरपेक्ष गरिबी केही बढी देखिएको छ ।’ सर्वेक्षणले नेपालको कुन जनसंख्या २ करोड ९४ लाख मानेर विश्लेषण गरेको छ । ०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा २०.२७ प्रतिशत जनसंख्या न्यूनतम जीवनस्तर कायम गर्न नसक्ने देखिएको र उनीहरूले दैनिक २ सय रुपैयाँ खर्च नसक्ने राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए । ‘सर्वेक्षणमा प्रतिव्यक्ति दैनिक १.९० अमेरिकी डलर (दुई सय रुपैयाँ) खर्च गर्न नसक्ने मानिसलाई गरिबीको रेखामुनि राखिएको छ,’ रेग्मीले भने, ‘यो भनेको गरिबीको अन्तर्राष्ट्रिय मापदण्ड हो । त्यो मापदण्डभन्दा मुनि रहनु भनेको उनीहरू न्यूनतम जीवनस्तर कायम गर्न असक्षम छन् भन्ने हो ।’
गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा रहेको देखिएको छ । यसअनुसार सहरी क्षेत्रमा गरिबीको दर १८.३४ र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत छ । सर्वेक्षणमा पहिलो पटक प्रदेश तहमा पनि गरिबीको दर देखाइएको छ । ‘सात प्रदेश र १५ वर्ष विश्लेषणात्मक क्षेत्रहरूको गरिबीको दरमा उल्लेख्य मात्रामा भिन्नता देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सात प्रदेशमध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गरिबी दर राष्ट्रिय गरिबी दरभन्दा बढी देखिएको छ । गण्डकी, वाग्मती र कोशीमा गरिबी राष्ट्रिय दरभन्दा कम छ । यसअनुसार सुदूरपश्चिममा ३४.१६, कर्णालीमा २६.६९, लुम्बिनीमा २४.३५, मधेशमा २२.५३, गण्डकीमा ११.८८, वाग्मतीमा १२.५९ र कोशीमा १७.१९ प्रतिशत गरिबी दर छ ।’

रतिदिन २२ सय ३६ किलो क्यालोरी आवश्यक
खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न सक्नेलाई मात्र गरिबीको रेखाभन्दा माथि राखिएको छ ।
पछिल्लो १२ वर्षमा नेपालीको उपभोग्य खर्च औसत ६६ प्रतिशतले बढेको पनि सर्वेक्षणले देखाएको छ । हालको मूल्यको तुलनामा आर्थिक वर्ष ०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँ रहेकामा हाल बढेर १ लाख २६ हजार १ सय ७२ रुपैयाँ पुगेको छ । ‘गएको १२ वर्षमा जम्मा उपभोग खर्चमा गैरखाद्य खर्चको अंश ३८ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सर्वेक्षणबाट प्राप्त जनसांख्यिक विवरणअनुसार प्रतिव्यक्ति प्रतिदिन २२ सय ३६ किलो क्यालोरी आवश्यक पर्ने देखिएको छ ।’
तेस्रो जीवनस्तर सर्वेक्षणमा कायम गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँलाई हालको मूल्यमा रूपान्तरण गर्दा ४२ हजार ८ सय ४५ रुपैयाँ हुन आउने प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार नेपालीको औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च पनि बढेको छ ।
यसअनुसार काठमाडौं उपत्यका सहरी क्षेत्रमा २ लाख ६३ हजार छ भने सबैभन्दा कम मधेशको ग्रामीण क्षेत्रमा ७१ हजार ८ सय रुपैयाँ छ । ‘नेपालको औसत प्रतिव्यक्ति प्रतिवर्ष उपभोग खर्च १ लाख ३० हजार ८ सय ५३ रुपैयाँ छ भने कोशी, वाग्मती, गण्डकी र लुम्बिनीको सहरी क्षेत्रमा प्रतिव्यक्ति प्रतिवर्ष उपभोग खर्च राष्ट्रिय औसत खर्चभन्दा बढी रहेको पाइएको छ,’ प्रतिवेदनले भनेको छ ।
सर्वेक्षणका क्रममा घरपरिवारको उपभोग, आम्दानी, सेवा सुविधामा पहुँच, आवासीय सुविधा उपयोग, शिक्षा, स्वास्थ्य, रोजगारी, बचत तथा ऋण, विप्रेषण, जग्गा स्वामित्व र उपयोग जस्ता विषयमा तथ्यांक संकलन गरिएको थियो ।
आर्थिक वर्ष २०५२/५३ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणमा नेपालमा ४१.७६ प्रतिशत गरिबी रहेको देखिएको थियो २०६०/६१ मा यो दर ३०.८५ मा झरेको थियो । त्यस्तै २०६६/६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५.१६ प्रतिशतमा झरेको गरिबी दर चौथो सर्वेक्षणमा आइपुग्दा यसवर्ष २०.२७ प्रतिशतमा झरेको हो ।
खाद्यान्नमा खर्च आम्दानीको ५० प्रतिशत भन्दा माथि
सामान्यतया विकसित र गरिबी कम भएको मुलुकमा खाद्यान्नभन्दा गैरखाद्य उपभोगमा बढी खर्च हुन्छ । नेपालमा भने व्यक्तिले वर्षमा गर्ने कुल उपभोगमध्ये खाद्यान्नका लागि मात्र ५० प्रतिशतभन्दा माथि खर्च हुने गरेको सर्वोक्षणले देखाएको छ ।
अझै पनि ५३ प्रतिशत खर्च खाद्यान्न र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने गरेको छ । सन् २०११ मा भएको सर्वोक्षणले खाद्यान्नमा ६२ प्रतिशत र गैरखाद्यान्नमा ३८ प्रतिशत उपभोग हुने देखाएको थियो ।
यस अवधिमा नेपालीको भान्छामा ताजा तथा सुक्खा फलफूल, माछामासु उपभोगमा वृद्धि भएको पाइएको छ । यसक्रममा प्रतिदिन प्रतिव्यक्ति २ हजार २३६ किलो क्यालोरी आवश्यक पर्ने देखिएको कार्यालयले जनाएको छ ।
१२ वर्ष अगाडि ४० खाद्यवस्तुका आधारमा मात्र क्यालोरी मापन गरिएको थियो, यसपालि ३७ थपेर ७७ खाद्यवस्तुको सूची बनाइएको थियो ।

