काठमाडौं : साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। पराजुलीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पतालका अनुसार पराजुलीको निमोनियाका कारण निधन भएको हो। साहित्यकार पराजुलीका दर्जनौं कथा तथा कृतिहरू प्रकाशित छन्।
पराजुलीका ‘अघोरी’,’शुक्रराज शास्त्रीको चस्मा’,’जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत कृति प्रकाशित छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका श्रीमती , एक छोरा र एक छोरी छन्।
लेखक नयनराज पाण्डेले आफू रोएको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन, ‘लेखक न थियौ, कहिलेकाहीँ अनेक कुराले मन दुख्थ्यो होला । तर, मुस्कुराउन कहिल्यै छाडेनौ । संघर्ष सधैं गरिरह्यौ । तर, सधैं उत्साहमै रह्यौ । केही नयाँ लेख्न थालेपछि बालकझैं फुर्कन्थ्यौ । एकपटक उहिल्यै भयानक सडक दुर्घटनाबाट बाँचेदेखि तिमी झनै जीवन्त भएका थियौ र जिन्दगीसित गुनासो गर्दैनथ्यौ । धेरै पाउने लोभै थिएन । थोरैमा मख्ख पर्ने बानी तिम्रो । कुण्ठा थिएन । घमण्ड छँदै थिएन । कतिपटक झगडा गरियो । तर, बोल्न कहिल्यै छाडेनौ ।
बाँच्नु त तिमीजस्तो पो बाँच्नु ।
तिम्रो अप्रत्याशित प्रस्थानले केही अत्यायो अवश्य । तर, तिम्रो बाँच्नुुसित मेरो सधैं ईष्या रहनेछ ।
अलबिदा त भन्दै भन्दिनँ । श्रद्धाञ्जलि झनै भन्दिनँ । भेट त फेरि पनि भैरहनेछ । तिम्रा अक्षरहरू मर्दैनन् नि त ।
बिहानभरि खुब रोएँ ।
अब रून्नँ ।
तिमी जाने बाटोमा मेरो आँसु हुने छैन दोस्त ।
लेखक नारायण वाग्ले लेख्छन, ‘राजेन्द्र पराजुली सधैं संघर्षरत् पत्रकार, जहिल्यै जुझारू लेखक। नयाँ कथा संग्रह जन्तरमन्तर घोषणा गरेर हामी सबैलाई छक्याएर सधैंका लागि बिदा भएको पत्याउन मन छैन। धेरै लेख्ने धोको बाँकी राखेर त्यसरी हिंड्न कहाँ पाइन्छ, मित्र हार्दिक सम्झना ।’

