काठमाडौं :
डा. अमित चौधरी
ठेगाना : बारा
आबद्ध : इन्टर्न, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
अभियोग : शैक्षिक प्रमाणपत्र किर्ते
ooo
डा.रञ्जितकुमार यादव
ठेगाना : महोत्तरी
आबद्ध : इन्टर्न, त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ।
अभियोग : शैक्षिक प्रमाणपत्र किर्ते
ooo
डा. श्रद्धा शिल्पकार
ठेगाना : ललितपुर
आबद्ध : ईशान बाल अस्पताल
अभियोग : शैक्षिक प्रमाणपत्र किर्ते
ooo
नाम अघि डाक्टर झुन्ड्याउने रहर पूरा गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ८ जनामध्ये सुनीलकुमार शर्मा हिरासत बाहिरै छन्। जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसदसमेत रहेका सांसद शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले अमृत चौधरी, रञ्जित यादव, श्रद्धा शिल्पकार, पुनम थापा चौधरी, रामबाबु यादव र एरिना शाहलाई भने पक्राउ गरी हिरासतमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल मेडिकल काउन्सिलको समन्वयमा प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डाक्टरी उपाधि लिनेहरूलाई दुई दिनयता ७ जनालाई पक्राउ गरिसकेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यका अनुसार, भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको पाइएको छ। काउन्सिलद्वारा सञ्चालित दर्ता प्रमाणपत्र परीक्षामा सहभागीसमेत भएको पाइएको छ। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीका अनुसार पक्राउ परेकाहरू दोषी ठहर नभइसकेकोले लाइसेन्स खारेज नहुने बताउँछन्। ‘अहिले पक्राउ परेकाहरूको लाइसेन्स खारेज गर्न हतारिँदैनौं। अदालतबाट पुष्टि हुनै बाँकी छ,’ उनले भने। काउन्सिलले केही वर्षअघि योग्यताबिना नै चिकित्सा सेवामा संलग्न दुई जनालाई कारबाहीस्वरूप लाइसेन्स खारेज गरेको डा. अधिकारीले जानकारी दिए।
भारतबाट किर्ते प्रमाणपत्र
नेपाली कांग्रेसका सांसदसमेत रहेका काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माले प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र किर्ते गरेको पाइएको छ। बिहारस्थित बीडीबीकेएस कलेजबाट फारबिसगन्जबाट आईएस्सी शैक्षिक प्रमाणपत्र ल्याएको प्रहरी दाबी छ। सोही शैक्षिक प्रमाणपत्र पेस गरेर उनले चीनबाट एमबीबीएस गरेका थिए। उनलाई फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले जानकारी दिइन् ।
शर्माका स्वकीय सचिव विवेक लिम्बूले प्रेस विज्ञप्ति जारी गर्दै शर्माको निवास गोल्फुटारबाट पक्राउ गरिएको जनाएका छन्। संसद् अधिवेशन चालू रहेको अवस्थामा बहालवाला सांसदलाई पक्राउ गरेको उल्लेख गर्दै लिम्बूले पक्राउ पुर्जीसमेत जारी नगरिएको जानकारी दिए ।
प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा इन्टर्न डाक्टरको रूपमा कार्यरत दुई जनालाई समेत पक्राउ गरेको छ। उनीहरूले पनि आईएस्सीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेशकुमार काफ्लेले महाराज मेडिकल क्याम्पसबाट प्राक्टिकल गर्न आएका दुई जना विद्यार्थी पक्राउ परेको जानकारी दिए।
प्रहरीले किर्तेमा हो वा ठगीमा हो आफूले केही थाहा नपाएको उनले बताए। ‘ठगेको हो भने कुन बिरामीलाई ठगेको हो ? बिरामीको उजुरी देखिनु पर्यो। किर्ते हो भने शैक्षिक प्रमाणपत्रबाट पुष्टि हुनुपर्ने होला,’ उनले भने। प्रहरीले किर्ते शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ गरेको यो पहिलो पटक होइन। यस अघि २०७२ र २०७३ सालमा पनि सीआईबीले पक्राउ गरेको थियो। तर, अभियोग भने किर्तेमा नभई ठगीमा लगाएर मुद्दा दायर गर्यो। जुन मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले अधिकांशले सफाइ पाए। केही धरौटीमा रिहा भए। मेडिकल काउन्सिल र सीआईबीले शैक्षिक प्रमाणपत्रको अनुसन्धान गर्न तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी) सँग सहयोगसमेत लिएको थियो।
- नक्कली प्रमाणपत्रधारी काउन्सिलद्वारा सञ्चालित दर्ता प्रमाणपत्र परीक्षामा समेत सहभागी
- अधिकांशले ल्याएका छन् भारतबाट प्रमाणपत्र
मेडिकल काउन्सिलका कानुनी सल्लाहकार नारायण खनाल बिरामीको जाँचै नगरे पनि किर्ते गरेर शैक्षिक प्रमाणपत्र बनाउन नमिल्ने बताउँछन्। अधिवक्ता खनाल भन्छन्, ‘नक्कली नोट बनाएर घरमा राख्न पाइन्छ र ?’ नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण अधिकारी किर्ते शैक्षिक प्रमाणपत्र बनाएकाहरूको छानबिन अघि बढाएको कार्य नौलो नभएको बताउँछन्। ‘सांसदसमेत पक्राउ परेका कारण चर्चा भएको हो। यस्तो छानबिन र अनुसन्धान त पहिले पनि भइरहेको नै थियो,’ उनले भने ।
पक्राउ शैलीप्रति आपत्ति
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी एमबीबीएस उत्तीर्ण गरेकाहरूमध्ये कतिपयले एनएमसी नम्बर (नेपाल मेडिकल काउन्सिलले दिने चिकित्सा पेसा अनुमतिपत्र नम्बर) प्रयोग गरेर चिकित्सा पेसा गरिरहेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले प्रहरीले गरेको पक्राउ शैलीप्रति असन्तुष्टि व्यक्त गरे। ‘एमबीबीएसको शैक्षिक प्रमाणपत्र किर्ते गरेर एनएमसी नम्बर लिएको भए मात्र नक्कली चिकित्सक हो,’ डा. कार्कीले भने, ‘उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलले नै आवश्यक छानबिनपश्चात् दोषी पाइएमा कारबाही गरे भइहाल्यो नि । ’
शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. काफ्लेले पनि पक्राउ शैलीप्रति असन्तुष्टि जनाए। डा. काफ्लेले प्रश्न गर्दै भने, ‘अनुसन्धानका पनि प्रक्रिया पूरा गर्नुपर्छ होला। एक्कासि पक्राउ गरिएको छ। यसरी ह्युमिलियट किन गर्नु पर्यो ? शैक्षिक प्रमाणपत्र कहाँ छ ? त्यो हेरेर उपचार गर्ने अनुमतिपत्र (लाइसेन्स) खारेज गरेर भइहाल्यो नि । ’
OOOO
जिल्ला अदालत काठमाडौंले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा कांग्रेस सांसद सुनील शर्मालाई थुनाबाहिर र पाँच चिकित्सकलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली प्रमाणपत्रको मुद्दाको अनुसन्धान अघि बढाउन अदालतसँग म्याद थपको अनुमति माग गर्दा शर्मालाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
मोरङ–३ बाट निर्वाचित शर्माले भारतको बिहारस्थित फारबेसगन्ज अररियाको बीडीबीकेएस कलेजबाट ७ सय २२ अंकसहित पहिलो श्रेणीमा आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली भएको भन्दै बिहार स्कुल एग्जामिनेसन बोर्डले राष्ट्रिय परीक्षा बोर्डलाई लिखित पत्र पठाएको छ । शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली भएको भन्दै बोर्डले सीआईबीलाई गत वर्ष साउन ५ मा पत्र पठाएको थियो । बोर्डकै पत्रका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ । सीआईबीले ‘फक्सट्रोट चार्ली अपरेसन’ चलाएर शुक्रबारसम्म शर्मासहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये शुक्रबार ६ जनाको म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । न्यायाधीश दण्डपाणि चालिसेको इजलासले नक्कली प्रमाणपत्र मुद्दामा अरू ५ चिकित्सकलाई थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि शर्मालाई थुनाबाहिर राख्न आदेश दिएको हो ।
शर्मा भागी जाने सम्भावना नरहेको, प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानतासमेत रहेकाले अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्था नभएको जनाउँदै अदालतले तारिखमा राखी मुद्दा अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो । उनी विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन् ।
अदालतले त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरी र सुनसरीमा फार्मेसी खोलेर बसेका मनित चौधरीलाई सात दिन थुनामा राख्न म्याद दिएको छ । प्रतिनिधिसभा सांसद शर्माले भारतको बिहारबाट आईएस्सीको नक्कली सर्टिफिकेट ल्याएका थिए भने अमितले हरि खेतान बहुमुखी क्याम्पस पर्साबाट र मनितले बानेश्वरको नोबेल एकेडेमीमा पढेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरेको पाइएको हो । त्यस्तै रञ्जितकुमार यादव, एरिना साह, श्रद्धा शिल्पकारलाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । एमडीको तयारी गरिरहेका यादवको एसएलसीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको प्रहरीले जनाएको छ । त्यस्तै, एमडीको तयारी गरिरहेकी साहले क्यारिबियन उच्च मावि मानभवनमा अध्ययन गरेको नक्कली सर्टिफिकेट बनाएको पाइएको थियो । इसान बाल अस्पताल धापाखेलकी चिकित्सक शिल्पकारले लिटिल एन्जेल्समा अध्ययन गरेको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलेको थियो । ब्युरोले ६ जनालाई नै थुनामा राखेर अनुसन्धानको अनुमति माग गरेको थियो ।
अधिवक्ता माधव बस्नेतले जिल्ला अदालतको आदेश विभेदकारी भएको बताए । ‘प्रहरीले जानकारी पाएको एक वर्षसम्म अनुसन्धान नगरेका सांसदलाई प्रमाणपत्र लोप नगर्ने र भागी नजाने भन्दै छुट तर एउटै प्रकृतिको कसुर भएका अरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ,’ उनले भने, ‘अपराध गर्ने व्यक्तिको वर्तमान अवस्था के छ भन्नेले फरक पार्दैन ? त्यसैले यो आदेश विभेदकारी छ ।’
अर्का अधिवक्ता टीकाराम भट्टराईले अदालतको आदेश सही भए पनि पक्षपात भएको बताए । ‘अभियोग लाग्नेबित्तिकै थुनामा राख्नुपर्छ भन्ने गलत हो । काठमाडौं अदालतको आदेश ठीक छ,’ उनले भने, ‘तर, समान हुनुपर्छ । पहुँच र हुनेखानेवालाको हकमा मात्रै यस्तो आदेश लागू भयो भने गलत हुन्छ । यो सुविधा सामान्य नागरिकले पनि पाउनुपर्छ । शक्ति र पहुँचका आधारमा विभेद गर्नु हुँदैन । सांसदबाहेक अरू थुनामा रहनु गलत हो ।’
प्रहरीले वाग्मती सेन्ट्रल अस्पतालका रामबाबु यादव र एमडीको तयारी गरिरहेका पुनम थापालाई पक्राउ गरे पनि म्याद थपका लागि अदालत लैजान बाँकी छ । यादवले सफ्टटेक उमावि सिरहाबाट र थापाले पब्लिक ज्ञानज्योति उच्च मावि दाङबाट प्लस टु अध्ययन गरेको नक्कली सर्टिफिकेट पेस गरेर एमबीबीएस अध्ययन गरेको पाइएको थियो । अनुसन्धानको म्याद थपका लागि अदालतमा उपस्थित गराइएका शर्माका तर्फबाट सुशीलकुमार पन्त, हरिहर दाहाल, सुनीलकुमार पोखरेल, युवराज भण्डारी, महेशकुमार नेपाल, रामबहादुर शाह र निश्चल वाग्लेले बहस गरेका थिए । सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने बहस गरेकी थिइन् ।

