वीर अस्पतालमा शल्यक्रियाका लागि पालो पाउन महिनौं कुर्नुपर्ने बाध्यता पुरानै हो। डेढ दशकअघि पनि वीरमा शल्यक्रियाका लागि पालो पाउन महिनौं कुर्नुपथ्र्यो, अहिले पनि त्यस्तै अवस्था छ। यसमा सुधार हुन सकेको छैन। अस्पतालका निर्देशक सन्तोष पौडेलका अनुसार केही विभागमा शल्यक्रिया गराउने पालो छिटो आए पनि केहीमा भने महिनौं कुर्नुपर्ने बाध्यता छ। विशेषगरी मिर्गौलाको पत्थरी निकाल्न, मिर्गौला प्रत्यारोपण गर्न, हाडजोर्नी प्रत्यारोपण गर्न, युरोलोजीसम्बन्धी शल्यक्रिया गर्न बिरामीले चाहेकै समयमा पालो पाउन मुस्किल छ। युरोलोजीतर्फ शल्यक्रियाका लागि पालो पाउन ६ महिनासम्म कुनुपर्ने अवस्था रहेको वीर अस्पतालका युरोसर्जन डा. पारसमणि श्रेष्ठ बताउँछन्।
पछिल्ला वर्षहरूमा वीर अस्पतालले शल्यक्रिया लागि लामो समय कुनुपर्ने बाध्यता हटाउन योजना बनाएर काम गर्दै आए पनि प्रभावकारी सावित हुन नसकेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्वडिन तथा बर्न प्लास्टिक सर्जन डा. पियुष दाहाल बताउँछन्। ‘समयअनुसार शल्यक्रिया सेवामा परिवर्तन हुन सकेन’, उनले भने, ‘वीर अस्पतालले सर्जरी सेवामा विस्तार गरे बिरामीले लामो समय कुनुपर्ने बाध्यता अन्त्य हुन सकेको छैन’, डा. दाहालले भने।
शल्यक्रिया कक्ष र जनशक्ति अभाव
मुुलुककै पुरानो र भरपर्दो वीर अस्पताल रेफरल अस्पताल पनि हो। यहाँ स्वास्थ्य बिमा सुविधाअन्तर्गत उपचार गराउन सकिन्छ। अस्पतालमा बिरामीलाई विभिन्न सेवा र सुविधा पनि छन्। यसैकारण वीरमा बिरामीकोे चाप बढ्दो छ। तर बिरामीको चापअनुसार उपकरण, शल्यक्रिया कक्ष, चिकित्सक, एनेसथेसिष्ट, शड्ढया नहुँदा मेडिकल उपचारलगायत शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको निर्देशक डा. पौडेल बताउँछन्। स्वास्थ्य बिमा कार्यक्रमसँगै वीरमा बिरामीको चाप बढेकाले पनि शल्यक्रियाको पालो पाउन ढिला हुने गरेको उनी बताउँछन्। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत पनि बिरामीको चापअनुसार चिकित्सक नहुँदा शल्यक्रिया गराउने बिरामीले पालो कुर्नुपरेको बताउँछन्। ‘मुख्य कारण बिरामीको चाप बढी भएरै हो’, उनले भने।
शल्यक्रिया कक्ष र विशेषज्ञ चिकित्सकको व्यवस्थापन नहुँदा पनि युरोलोजी विभागअन्तर्गतका बिरामीले शल्यक्रिया गराउ लामो समय कुनुपरेको युरोसर्जन डा. श्रेष्ठ बताउँछन्। ‘नयाँ सर्जिकल भवन बनेपछि हामीले थप अप्रेसन कक्ष माग्यौं तर पाइएन’, उनले भने। वीर अस्पतालमा गुणस्तरीय, सस्तो र निःशुल्क सेवाका कारण पनि बिरामीको चाप बढेकाले शल्यक्रिया लागि पालो पाउन कुर्नुपरेको श्रेष्ठको भनाइ छ। तर जोखिममा रहेका बिरामीको भने तत्काल शल्यक्रिया गरिने उनले बताए।
बिरामीको चापअनुसार उपकरण, शल्यक्रिया कक्ष, चिकित्सक, एनेस्थेसिस्ट, शड्ढया नहुँदा बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बाध्यता छ। अहिलेको अवस्थामा भएकै संरचना र स्रोतको थप परिचालन समस्या समाधानको उपाय हो। –डा. सन्तोष पौडेल, निर्देशक
वीरमा कम खर्चमा गुणस्तरीय शल्यक्रिया हुने विश्वास बिरामीमा छ। यसैकारण बिरामी निजीमा जानुको सट्टा लामो समय पालो पर्खेरै पनि वीरमा शल्यक्रिया गराउन चाहन्छन्। ‘निजीमा दुई÷चार लाख रूपैयाँ तिरेर गरिने उपचार वीरमा बीस÷तीस हजार रूपैयाँमै हुन्छ’, निर्देशक पौडेलले भने। पूर्वडिन डा. दाहाल भने अस्पतालले आफूसँग भएका स्रोतसाधनको अधिकतम उपयोग गर्न नसक्दा पनि शल्यक्रियामा ढिलाइ भइरहेको बताउँछन्। उनका अनुसार नयाँ सर्जिकल भवन बनेपछि जतिमात्रामा शल्यक्रिया कक्ष र दैनिक शल्यक्रियाको कोटा थपिनु पथ्र्यो, त्यो हुन सकेको देखिँदैन। अस्पतालका अनुसार पुरानो भवन हुँदा अस्पतालमा ९ वटा शल्यक्रिया कक्ष थिए। नयाँ भवनमा ६ वटा शल्यक्रिया कक्ष थपिएको छ। अस्पतालमा २ सय ५० जना चिकित्सक छन्। जसमध्ये ८० जना शल्यचिकित्सक १९ जना एनेसथेसिस्ट छन्।
पालो अवधि घटाउने उपाय
अस्पतालका निर्देशक पौडेल अतिरिक्त संख्यामा शल्यक्रिया गरेर पालो अवधि घटाउने तयारी भरहेको बताउँछन्। उनका अनुसार वीर अस्पतालले बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म सेवा दिन्छ। यो समयपछि पनि चिकित्सकलाई प्रोत्साहन भत्ता दिएर सेवा दिने तयारी भएको पौडेल बताउँछन्। यसका लागि साँझ ४ बजेपछि पनि अतिरिक्त बहिरंग सेवा सञ्चालन गर्ने र अहिले कायम शुल्कभन्दा बढी लिएर शल्यक्रिया सेवा दिन सकिने सोच अस्पतालको छ। यसरी सेवा दिँदा चिकित्सक र बिरामी दुवैलाई राहत मिल्ने डा. पौडेलले बताए। उनका अनुसार वीर अस्पतालमा अहिलेको संरचनामा थप शल्यक्रिया कक्ष थप्न सकिने स्थिति छैन। भएकै संरचना र स्रोतको थप परिचालन समस्या समाधानको मुख्य उपाय भएको उनी बताउँछन्।
सरकारले धेरैै संख्यामा शल्यक्रिया गर्ने चिकित्सकलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गरे चिकित्सकको मनोबल बढ्न जाने र थप सर्जरी सेवा दिन सकिने डा. पौडेले बताउँछन्। उनको अनुसार सर्जरी सेवा जोखिम र जटिल दुवै हो तर अस्पतालमा बिरामी जाँच्ने, कम मात्र शल्यक्रिया गर्ने र धेरै संख्यामा शल्यक्रिया गर्ने चिकित्सकलाई दिइने सेवासुविधा एउटै छ। शल्यक्रियाका क्रममा स्वास्थ्यमा जटिलता आए बिरामी पक्षबाट हुने आक्रमणले पनि चिकित्सकको मनोबल गिरेको उनी बताउँछन्। ‘कति चिकित्सक एकपटक आक्रमण भएपछि जटिल शल्यक्रिया गर्न चाहँदैनन्’, उनले भने।

