काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतमा केही समयदेखि ‘डिमेन्सिया’ को असर देखा परेको छ । चिकित्सकहरूका भनाइमा यस्तो रोग लागे सबैभन्दा पहिला स्मरण शक्तिमाथि असर पर्छ । पुराना कुरा नसम्झने, एकैछिन अघि गरेका कुरा तत्कालै बिर्सने लक्षण हुन्छन् । रामशरणमा करिब एक वर्षदेखि यस्ता लक्षण देखिएका छन् र असर बढ्दै गएका छन् । सार्वजनिक रूपमा उपस्थिति नदेखिए पनि उनले राजनीतिप्रति चिन्ता भने छाडेका छैनन् ।
OOO
पूर्वअर्थमन्त्री रामशरण महत र वर्तमान अर्थमन्त्री प्रकाशशरण महत दाजुभाइ हुन् । तत्कालीन पञ्चायती शासन सत्ताले अँगालेको परम्परागत धार बदलेर खुला र उदार अर्थनीतिको बाटोमा मुलुकलाई प्रवेश गराउने अर्थमन्त्री हुन् रामशरण ।
सात पटक अर्थमन्त्री बनेका उनले सातै पटक बजेट ल्याए । ज्ञान र अध्ययनका आधारमा मुलुकको अर्थ राजनीतिलाई लामो समय आफ्नो पकडमा राख्न सक्षम तिनै पूर्वअर्थमन्त्री रामशरण अहिले भने गुमनाम छन् ।
दाइकै पदचाप पछ्याउँदै अर्थमन्त्री प्रकाशशरणले जेठ १५ मा आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरे । यसमाथि आइतबारदेखि संसद्मा छलफल हुँदै छ । खस्कँदो अर्थतन्त्रलाई उकास्ने लक्ष्य राखेको बजेटमाथि संसद्बाहिर पनि बहस भइरहेका छन् । कोभिड महामारीपछि अर्थतन्त्र संकटोन्मुख भइरहेका बेला अनुभवी एवं ‘उत्कृष्ट अर्थमन्त्री’ का रूपमा पुरस्कृतसमेत भएका रामशरण किन बेखबर जस्तै छन् त ?
परिवारका अनुसार उनमा केही समयदेखि ‘डिमेन्सिया’ को असर देखा परेको छ । चिकित्सकहरूका भनाइमा यस्तो रोग लागे सबैभन्दा पहिला स्मरण शक्तिमाथि असर पर्छ । पुराना कुरा नसम्झने, एकैछिन अघि गरेका कुरा तत्कालै बिर्सने लक्षण हुन्छन् । रामशरणमा करिब एक वर्षदेखि यस्ता लक्षण देखिएका छन् र असर बढ्दै गएका छन् । सार्वजनिक रूपमा उपस्थिति नदेखिए पनि उनले राजनीतिप्रति चिन्ता भने छाडेका छैनन् । रामशरण पत्रपत्रिका पढेर राजनीतिक घटनाक्रमसँग अद्यावधिक हुने गरेका छन् । भाइ प्रकाशशरणले अर्थमन्त्रीका रूपमा पढेको बजेटको लिखित वक्तव्य रामशरणले भोलिपल्ट बिहान पढेर सिध्याएका थिए ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट जेठ १६ को बिहान साढे १० बजे मन्डिखाटारस्थित निवासमा पुग्दा रामशरण गल्फ खेलेर थकित मुद्रामा फर्कंदै थिए । गल्फप्रति उनको पुरानै सोख हो । सिनामंगलस्थित रोयल नेपाल गल्फ कोर्समा साताको दुई/तीन दिन गल्फ खेल्न पुग्छन् । त्यसले उनलाई ताजगी बनाउन सहयोग पुर्याएको छ ।
रामशरण एक महिनादेखि छोराबुहारीसँगै बूढानीलकण्ठस्थित निवासमा बस्दै आएका छन् । मन्डिखाटारको पुरानो घरमा भने उनी कार्यकर्ता भेट्न दुई/चार घण्टा मात्रै पुग्छन् । राजनीतिले उनलाई छाड्दै गए पनि उनले राजनीति छाड्न सकेको देखिँदैन । उनी सातामा दुई/तीन दिन सानेपास्थित पार्टी कार्यालय कि त सिंहदरबार जान्छन् । रामशरण पार्टीमा सुधार नआएको चिन्ता कार्यकर्तासँग व्यक्त गरिरहन्छन् । आफ्नो क्षमता र बुद्धि पार्टीले प्रयोग गर्न नसकेको उनको गुनासो छ ।
‘डिमेन्सिया’ को असरलाई कम गर्ने विधि भनेकै चिन्ताबाट मुक्ति हो । रामशरणकी पत्नी रोशना थापा राजनीतिले गर्दा त्यही चिन्ता कम गराउन कठिन भएको सुनाउँछिन् । ‘डाक्टरले चिन्ता नगर्नु भन्छन् । राजनीति गर्ने मान्छेलाई कसरी मुक्त गर्ने ? राजनीतिक क्षेत्र अरू जस्तो नहुने रहेछ,’ उनले भनिन्, ‘जहिल्यै यता बिग्रियो, उता यो भएन भन्नुहुन्छ । मुलुकको अवस्था पढ्दा झनै चिन्ता भएको पाउँछु ।’
रामशरण अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । उनले आफ्नो उमेर ७२ वर्ष पूरा भएको र बिर्सने रोग लागेको हुनाले राजनीतिबाटै अवकाश लिन खोजिरहेको सुनाए ।
अन्तर्राष्ट्रिय क्षेत्रले समेत पत्याएको अर्थमन्त्रीको हैसियत बनाएका महत मुलुकको कार्यकारी प्रमुख बन्ने सपना लिएर राजनीतिमा क्रियाशील थिए । तर चुनावमा ठक्कर खाए । एमाले र माओवादीको गठबन्धनका कारण २०७४ को चुनावमा पराजित भए । थोरै मतान्तरले माओवादीका हितबहादुर तामाङसँग चुनाव हार्दा ‘सक’ भएको रामशरणले सुनाए ।
निवासमा भेटिएका नुवाकोटका एक कांग्रेस कार्यकर्ताका अनुसार ०७४ सालमा चुनाव हार्नु नै उनी अहिलेको अवस्थामा आउनुको मुख्य कारण हो । ‘कति पटक आँखाबाट आँसु खसेको त मैले नै देखेको छु,’ रामशरणलाई भेट्न नियमितजसो निवासमा आउने गरेका उनले भने, ‘चुनाव हारेको केही समयदेखि उहाँको आनीबानीमा फरक व्यवहार देखिन थालेको हो । कार्यक्रममा लामो समय बस्न नसक्ने, एकैछिन बस्ने, उठ्ने, हिँड्ने गर्नुहुन्थ्यो । अग्लो भएकाले ढाडको समस्या होला भनेर त्यसलाई सामान्य रूपमा लिइयो ।’ बिर्सने बानी देखिन थालेपछि मात्र ‘डिमेन्सिया’ को लक्षण रहेछ भन्ने थाहा भएको उनले सुनाए ।
०००
०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको कांग्रेसको एकमना सरकारले मुलुकमा खुला अर्थनीतिको ढोका खोलेको थियो । त्यही नीतिका मुख्य प्रवर्द्धक थिए रामशरण । ०४८ सालको चुनाव हारेका उनी कोइराला नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए, महेश आचार्य अर्थराज्यमन्त्री थिए । एसियाली विकास बैंक र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाले पत्याएका कारण राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सीमित रहे पनि समग्र मुलुकै अर्थनीतिमा रामशरणको निर्णय हावी थियो ।
खुला र बजारमुखी अर्थनीतिको बाटोमा मुलुकलाई प्रवेश गराउने मुख्य श्रेय उनलाई नै जान्छ ।
०५१ को मध्यावधि निर्वाचनपछि बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार नौ महिनामा ढल्यो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । पहिलोपल्ट प्रधानमन्त्री भएकै बेला देउवाले रामशरणलाई पनि पहिलो पटक अर्थमन्त्री बनाए । कांग्रेसले ०४८ सालदेखि लिएको खुला अर्थनीतिको दायरालाई अर्थमन्त्रीका रूपमा रामशरणले अझ फराकिलो बनाए ।
एमाले नेतृत्वको नौमहिने सरकारले वृद्धभत्ता वितरण र ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नाराका साथ तत्कालीन गाविसलाई बजेट विनियोजन गर्ने परम्परा सुरु गरेको थियो, जसले आम जनतामा प्रभाव पारेको थियो । अर्थमन्त्रीमा महत आएपछि एमालेको भन्दा लोकप्रिय बजेट ल्याउन दबाब नपरेको होइन तर उनले वितरणमुखी बजेटलाई प्राथमिकता दिएनन् । ‘सरकारले उद्योगधन्दा खोल्ने होइन, वातावरण दिने हो । पुँजी र प्रविधिका निम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो,’ उनी बारम्बार भन्थे र बजेट त्यस्तै ल्याउँथे ।
रामशरण अर्थमन्त्री भएकै बेला सरकारले चलाएका धेरै कलकारखाना र उद्योगधन्दा निजीकरण गरिए । कति बन्द भए । राम्रोसँग चलेका उद्योगधन्दा निजीकरणका नाममा बिक्री गरिएको भन्दै अहिले पनि उनी र कांग्रेसमाथि आरोप लाग्ने गर्छ । रामशरण एक पटक परराष्ट्रमन्त्री समेत भएका थिए । तर उनी परराष्ट्रमन्त्री भएको नै धेरैलाई सम्झना छैन ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार रामशरणमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको आदर्श बाणीले गहिरो प्रभाव परेको थियो, जुन कुरा उनले कार्कीसँग ०६४ सालमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान जाँदा खोलेका थिए । त्यतिबेला रामशरण अर्थ र कार्की जलस्रोतमन्त्री थिए । देउवा नेतृत्वको सरकारमा पहिलोपल्ट अर्थमन्त्री भएपछि भेट्न जाँदा भट्टराईले ‘बाबुको पकेट मनी खर्च गर्न त केही छैन, तर राज्यको ढुकुटी विवेक नगरी खर्च हुन्न, राज्यको कोष शेष नागले छोपेजस्तै छोप्नुपर्छ’ भनेका रहेछन् ।
रामशरणले ०७३ जेठ ३१ को कान्तिपुरमा लेख लेखेका छन्, ‘काबु बाहिरका कारणले राजस्व र सहुलियतपूर्ण ऋणमा पनि कमी आयो भने हामी सोझै आर्थिक संकटमा जाकिन्छौं ।’ उनले सात वर्षअघि कल्पना गरेको बाटामै मुलुक जान थालेको आभास हुँदै गएको छ । वृद्धभत्ता बढाउने, सांसदलाई पैसा दिने विषयमा रामशरण अनुदार थिए । उत्पादन नबढाउने, आयात नघटाउने, सार्वजनिक खर्च नियन्त्रण गर्न नसक्ने काममा राज्यको ढुकुटी खर्च गर्न हुँदैन भन्ने मान्यता उनको थियो ।
पूर्वअर्थमन्त्री कार्की रामशरणलाई नेपालको इतिहासमा सम्झनलायक अर्थमन्त्रीका रूपमा लिन्छन् । ‘उहाँले लिएका अर्थनीति र उदारीकरणको बाटो कांग्रेसको पुँजी बनेको छ,’ उनले भने, ‘अहिले अस्वस्थ भएर सार्वजनिक बहस र पैरवीमा उपस्थित हुन नसके पनि उहाँको योगदानलाई सम्झनुपर्छ ।’
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष बजेट बनाउँदा मन्त्रालयमै बिचौलिया राखेर करको दर घटबढ गरेको समाचार सार्वजनिक भयो । आरोप लागेपछि शर्माले राजीनामा दिए तर सत्तारूढ दलको बलमा उनी चोखिए । शर्मापछि अर्थमन्त्री बनेका प्रकाशशरण महतले ल्याएको बजेटले पनि बिचौलिया र केही सीमित घरानाका व्यापारीलाई लाभ पुर्याएको आशंका गरिएको छ । धनीले चढ्ने विलासी विद्युतीय सवारीमा कर घटाउने र सर्वसाधारण चढ्ने सस्तो गाडीमा करको दर बढाउने नीतिका कारण उनीमाथि शंका उब्जेको हो ।
भाइ प्रकाशशरण अर्थमन्त्री भएपछि भेट्न आउँदा आफूले दुई पटक बजेटसम्बन्धी सुझाव र सल्लाह दिएको रामशरणले सुनाए । ‘अहिले ६५ प्रतिशत चालु खर्च छ । पुँजीगत खर्च बढाउनुपर्छ भनेको थिएँ । बजेटमा धेरै मसिना कुरा आएका छन्,’ उनले भने, ‘बजेट कर्मचारीले लेखिदिने हो । लेखिदिए । तर, काम गर्ने क्षमता बढाउन भूमिका अर्थमन्त्रीले खेल्ने हो । उत्पादन, उत्पादकत्व बढाएर निर्यात बढाउने, निर्यात र आयातमा देखिएको खाडल कम गर्ने काम अर्थमन्त्रीबाट हुनुपर्छ ।’
पूर्वअर्थ सचिव रामेश्वर खनाल र कृष्णहरि बाँस्कोटाले रामशरण अर्थमन्त्री भएका बेला बजेट निर्माणमा बिचौलियाको प्रभाव, सेटिङका आशंका कल्पनासम्म गर्न नसकिने बताए । गठबन्धन र विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टी नेतृत्वको दबाबसमेत थेग्ने सामर्थ्य राखेर रामशरणले बजेट बनाउने गरेको खनालले सुनाए ।
बजेट प्रस्तुत हुने दुई साताअघिदेखि नै रामशरण सरोकारवाला कुनै कार्यक्रममा सहभागी हुन छाड्थे । बजेटको छलफल पनि अदृश्य ठाउँमा हुँदैनथ्यो । अर्थ मन्त्रालयमा कर्मचारीबाहेक कसैले प्रवेश पाउँदैनथ्यो । उनको काम गर्ने शैलीलाई नजिकबाट चिनेका पूर्वअर्थ सचिव खनालका अनुसार एक पटक
बजेट निर्माण भइरहेका बेला कांग्रेसका नेता–कार्यकर्ताले अर्थ मन्त्रालयको ढोका लात्तीले हानेर फोर्न खोजेका थिए तर उनी डगमगाएनन् । ‘गिरिजाप्रसाद कोइरालाले समेत हामीले जानेका हुँदैनौं, रामशरणले भनेकै मान्नु भन्नुहुन्थ्यो । त्यस हिसाबले पनि पार्टीभित्रको दबाब थेग्न सहज थियो । उहाँले राष्ट्रिय ढुकुटी मनपरी हुन दिनुभएन,’ खनालले भने ।
अर्का पूर्वसचिव बाँस्कोटाका अनुसार रामशरण गोपनीयता र अनुशासनलाई एकदमै ख्याल गर्थे । बिचौलिया र स्वार्थ समूहको दौडधुप कल्पनासम्म नहुने गरेको उनले सुनाए । ‘महतकालमा अर्थ मन्त्रालयमा बिचौलिया आउने, बिचौलियाको प्रभावमा करका दर फेरबदल हुने कुरा भक्ति थापाको पालामा मालपोतमा १० रुपैयाँ घूस माग्थे भनेजस्तै अकल्पनीय थियो,’ उनले भने ।
यस पटक राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा बढी अंकको बजेट अर्थमन्त्री प्रकाशशरण महतले ल्याएका छन् । राजस्व संकलन कम भएको र खर्च क्षमता घटेको अवस्थामा बजेटको आकार घटाउन चौतर्फीबाट आएका सुझावलाई उनले बेवास्ता गरेका हुन् । ‘यस्तै स्थितिमा रामशरण महतले अर्थमन्त्री भएका बेला अघिल्लो वर्षको भन्दा कम गरेर बजेट ल्याएको उदाहरण छ,’ पूर्वअर्थ सचिव खनालले भने, ‘उहाँमा बजेट वक्तव्य छोटो र छरितो बनाउने क्षमता पनि थियो ।’
बेलायतबाट प्रकाशित ‘द ब्यांकर’ ले रामशरणलाई विश्वको उत्कृष्ट अर्थमन्त्रीका रूपमा पुरस्कृतसमेत गरेको थियो । उनले लिएको खुला अर्थतन्त्रको नीतिले हवाई यात्रा, बैंकिङ व्यवसाय, शिक्षा, स्वास्थ्य, सेवा, सञ्चार, घरजग्गा कारोबार र किनमेल लगायतमा निजी क्षेत्रको भूमिकालाई व्यापक बनाएको थियो ।
पूर्वअर्थ सचिव बाँस्कोटाका अनुसार रामशरण खुला अर्थनीतिको पक्षमा रहेको, विश्वले पत्याएको, अर्थशास्त्र बुझ्ने र अब्बल कोटीको अर्थमन्त्रीका रूपमा चिनिन्छन् । ‘बजेट बनाउँदा घर्याङघुरुङ होइन, तथ्य, तथ्यांकलाई केलाउने, राजनीतिक पूर्वाग्रह नराखेर देशको आर्थिक अवस्थाका सूचकलाई केन्द्रमा राख्ने, गोपनीयता अपनाउने, आफ्नै पार्टीको र प्रधानमन्त्री स्वयंको दबाबलाई थेग्न सक्ने अर्थमन्त्रीका रूपमा मैले महतलाई चिनको छु,’ उनले भने ।
बाँस्कोटाले ०६२/६३ सालको जनआन्दोलनपछिको प्रसंग सुनाए । ‘गिरिजाबाबु प्रधानमन्त्री र महतजी अर्थमन्त्री हुनुहुन्थ्यो । म बजेट महाशाखाको प्रमुख थिएँ । त्यतिबेला उहाँले तीनवटा बजेट ल्याउनुभयो । प्रधानमन्त्रीले भनेका जे पायो त्यही कुरा पनि उहाँले स्वीकार गर्नुभएन,’ उनले सुनाए, ‘त्यतिबेला योजना आयोगमा उपाध्यक्ष जगदीशचन्द्र पोखरेल, अर्थ सचिवहरू भोजराज घिमिरे र विद्याधर मल्लिक हुनुहुन्थ्यो । अर्थमन्त्रीसँग कुरा गर्दा सबैलाई लुज टक गर्न कठिनाइ हुन्थ्यो । तथ्य र तथ्यांक मनन गरेर मात्रै बोल्नुपर्थ्यो । पछि रामेश्वर खनाल सचिव हुँदा पनि सतर्कतापूर्वक काम गरेको मलाई थाहा छ ।’
खनालका अनुसार प्रणालीलाई विश्वास नगर्ने अर्थमन्त्रीहरू कि त आफ्नै निर्णयका कारण विवादमा परे, कि त कर्मचारीबाटै बजेट लिक भएका कारण विवादमा मुछिए । उनले भने, ‘प्रणालीलाई विश्वास र भरोसामा राख्न सक्दा पछिल्लो कालखण्डमा बाबुराम भट्टराई पनि सफल अर्थमन्त्री बनेका हुन् ।’ जनार्दन शर्मा विवादमा आउनुको मुख्य कारण अर्थशास्त्रको ज्ञान नहुनु र प्रणालीप्रति अविश्वास रहेको उनको भनाइ छ । ‘जसलाई अर्थशास्त्रकै ज्ञान छैन, तिनै अर्थमन्त्री ठाडो निर्देशनका आधारमा चल्न खोज्दा समस्या आउँछ । पार्टीमा आस्था राख्ने कर्मचारी खोज्ने एमालेभित्रको चरित्रले भरतमोहन अधिकारी र केही हदमा पछिल्लो पटक विष्णु पौडेलले समेत प्रणालीप्रति विश्वास गरेनन्,’ खनालले भने, ‘विश्वास नराख्दा कर्मचारीभित्रैबाट बजेटका सूचना पहिल्यै बाहिर आयो ।’ उनका अनुसार रामशरण महत, महेश आचार्य, प्रकाशचन्द्र लोहनी र बाबुराम भट्टराई प्रणालीप्रति विश्वास राख्ने अर्थमन्त्री थिए ।
खनालका अनुसार बाबुराम भट्टराई पनि अध्ययनशील नेता हुन् । तर, भूमिगत राजनीतिबाट खुला राजनीतिमा प्रवेश गर्नासाथै जिम्मेवारी सम्हालेका कारण सरकार कसरी चलाउने भन्ने अनुभव उनमा थिएन । ‘आफूमा अनुभव नभएपछि प्रणालीप्रति विश्वास गर्नुभयो, प्रणालीमाथि विश्वास दिलाउन हाम्रो पनि भूमिका भयो,’ पूर्वअर्थखनालले भने, ‘कर्मचारी प्रणालीलाई विश्वासमा लिएकै कारण रामशरण महत पनि विवादमा पर्नुभएन ।’

