हिमाल मिडिया मेला २०२३ को ‘मिडिया आत्मसमीक्षा’ विषयेक संवादमा बोल्दै नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले मूलधारका सञ्चारमाध्यमले तथ्यमा गल्ती गरेर सच्याउन गाह्रो मान्ने भएकाले विश्वसनीयतामा कमी आउन थालेको बताए। सञ्चारमाध्यममा गल्ती गरेपछि सच्याउनका लागि ‘करेक्शन पोलिसी’ नभएकाले पनि यो समस्या आएको उनको भनाइ थियो। “पत्रकारलाई आफूले गरेको गल्ती स्विकार्न गाह्रो छ, मिडियाले गरेको गल्ती औल्याउँदा पत्रकारबाट व्यक्तिगत तहमा गएर आक्रमण हुन्छ,” श्रेष्ठले भने।
उनका अनुसार नेपालका तीन वटा तथ्यजाँच संस्थाले गरेको ३०९ वटा तथ्यजाँचमा २० प्रतिशतभन्दा बढी गल्ती मूलधारका मिडियाले गरेको पाइएको छ। त्यस्तै, १८ प्रतिशत अनलाइन मिडियाले गल्ती गरेको पाइएको उनको भनाइ थियो।
सञ्चारमाध्यमका संवाददाता, कपी इडिटर र सम्पादकको अध्ययन र क्षमतामा कमी आएकाले मिडियाको समीक्षा आवश्यक रहेको हिमालका प्रकाशक कनकमणि दीक्षितको भनाइ थियो। पत्रकारहरू नै स्वतन्त्र, क्षमतावान् र वस्तुनिष्ठ नहुँदा विश्वसनीयतामा सङ्कट आउन थालेको हो कि भनेर उनले प्रश्न गरे।
त्यसको जवाफमा घटना र विचारकी सम्पादक बबिता बस्नेतले पत्रकारिता विश्वविद्यालयको र न्यूजरूमबीच दूरी रहेकाले दक्ष पत्रकार उत्पादन नभएको बताइन्। सैद्धान्तिक पढाइले मात्रै दक्ष पत्रकार उत्पादन नहुने बस्नेतको भनाइ थियो।
उनका अनुसार पत्रकारितामा गलत नियत भएका मानिसको प्रवेश भएकाले पनि विश्वसनीयतामा सङ्कट आएको छ। “तथ्यमा भएको गल्ती त फ्याक्ट चेकरले पत्ता लगाउलान्, तर नियतमा भएको समस्या कसले पत्ता लगाउने?” बस्नेतले भनिन्, “अहिले मिडिया हाउसको भन्दा बढी विश्वास त्यहाँ कार्यरत पत्रकारको छ।”
पत्रकारितामा आउनका लागि कुनै विशेष क्षमता, योग्यता नचाहिने भएकाले पनि क्षमतावान् पत्रकारको अभाव रहेको पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले बताए। पत्रकारिता क्षेत्रमा आएको विश्वासको सङ्कट हटाउन पत्रकारितामा आएको जनशक्तिलाई अध्ययन, तालीम र अवसर दिनुपर्ने उनको भनाइ थियो। “मिडियामा आएको जनशक्तिमा आजको समाजलाई हेरेर भोलिको समाज यस्तो हुन्छ भनेर विश्लेषण गर्ने क्षमता हुन आवश्यक छ। यस्ता क्षमता बढाउन पत्रकारमा अध्ययन, तालीम चाहिन्छ,” दाहालले भने।
उनले राज्यका निकायले राज्यस्रोतको दुरुपयोग गरेर प्रेस जगत्लाई ‘मिस लिड’ गरिरहेको पनि बताए। उनका अनुसार नीतिगत तहमा सुधार नगर्ने हो भने प्रेस असान्दर्भिक हुने अवस्था आउन सक्छ। मिडियामा आएको विश्वासको सङ्कट हटाउन मिडियाको लगानी, आम्दानी र खर्चलाई पारदर्शी गर्नुपर्ने दाहालको धारणा थियो। “मिडियाबाट कमाएको सम्पति जनशक्तिको क्षमतावृद्धिमा नलगाएकाले मिडिया दरिद्र र मालिक धनी बन्दै गएका छन्, जसको असर ‘कन्टेन्ट’ मा परेकाले विश्वासमा सङ्कट आएको छ,” दाहालले भने।

