काठमाडौं) – केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको छ । शोभराजका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र
आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारका नाममा आदेश दिएको छ । २०८० असोज १ सम्म कारागारमा रहनुपर्ने शोभराज सर्वोच्चको यो आदेशसँगै ९ महिना पहिल्यै थुनामुक्त हुने भएका छन् ।
कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीलाई असल चालचलनका आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्म कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ । त्यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्चले अहिले १९ वर्ष (९५ प्रतिशत) कैद भुक्तान गरिसकेका शोभराजलाई पनि थुनामुक्त गर्न आदेश दिएको हो ।
हाल ७८ वर्ष पुगेका शोभराजले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गर्दै आएका थिए । सर्वोच्चले २०७५ फागुन १२ मा र त्यसअघि नै उच्च अदालत पाटनले २०७५ असार २० गते उनको उमेर ७४ वर्षको भइसकेको, ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र मुटुसम्बन्धी रोगबाट पीडित भएकाले मानवोचित र विवेकपूर्ण निर्णय तत्काल गर्न आदेश दिएका थिए । कारागार नियमावलीले ज्येष्ठ नागरिकलाई दिने कैद छुट सुविधा शोभराजलाई दिनुपर्ने हो वा होइन भन्नेबारे तीन महिनाभित्र तथ्ययुक्त र कानुनसंगत कारण खुलाई आवश्यक निर्णय गर्न सर्वोच्चले आदेश दिएको थियो । गत वैशाख ११ मा पनि सर्वोच्चले शोभराजको उमेर, भोगिसकेको कैद र अब भुक्तान कैद अवधि र मुटुसम्बन्धी रोगलाई लिएर एक महिनाभित्र निर्णय गर्न आदेश दिए पनि कुनै निर्णय भएको थिएन ।
सर्वोच्चले आफ्ना यसअघिका आदेश कार्यान्वयन नभएकोतर्फ समेत विचार गर्दै उमेर, भुक्तान गरिसकेको कैद र स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए जेलमुक्त गर्न आदेश दिएको हो । शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग
लागेको थियो ।
दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै भक्तपुर जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो, जसलाई सर्वोच्चले २०६७ साउन १४ मा सदर गर्यो । २०६० सालमा नेपाल आएका बखत शोभराज त्यसभन्दा २८ वर्ष पहिलेको हत्या अभियोगमा पक्राउ परेका थिए । २०६० असोज २ मा पक्राउ परेका शोभराजविरुद्ध त्यसपछि मात्रै पुराना मुद्दा ब्युँताएर फैसला गरिएको थियो ।
उच्च अदालत पाटनले २०७३ वैशाख २७ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्नू भन्ने आदेश दिएको थियो । तर, केन्द्रीय कारागार कार्यालयले अत्यधिक चापको कारण देखाउँदै हालसम्म पनि गोलघरमै राखेको थियो । अदालतको आदेशसमेत कार्यान्वयन नगरिएको यो अवस्थालाई सर्वोच्चले शोभराजमाथि ‘बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड मण्डेला नियम, २०१५’ विपरीत व्यवहार गरेको देखिएको भन्ने टिप्पणी गरेको छ । ‘यसै अदालत र उच्च अदालतबाट समेत पटक–पटक जारी भएका परमादेशविपरीत तोकिएको समयभित्र कारागार नियमावलीबमोजिम कैद छुटको सुविधा प्रदान गर्ने वा नगर्नेबारे कुनै निर्णय भएको देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
‘१९ वर्षे कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानुनप्रदत्त सुविधा तत्काल प्रदान नगर्दा निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरुद्धको हकमा समेत असर पर्न गएको देखियो । निजलाई निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानवअधिकार मापदण्ड, संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन । त्यसैले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको,’ आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशपछि कार्यालय समय सकिएकाले शोभराज बुधबार छुट्न पाएनन् । यो आदेश भक्तपुर जिल्ला अदालत हुँदै केन्द्रीय कारागार, सुन्धारा पुगेपछि मात्र उनी छुट्नेछन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेले अदालतको आदेश प्राप्त भएपछि कार्यान्वयनको प्रक्रियामा जाने बताए ।

