प्रिय प्रधानमन्त्रीज्यू,
भारतले हामीलाई नाकाबन्दी लगाउँदा हामीलाई एउटा साहसी नेताको जरुरत थियो । तपाईको त्यसबेलाको नेतृत्व, संकल्प र सत्यसँगको मोह म नमरुन्जेल याद गर्नेछु । म त्यो ‘उज्यालो’ साहसको पछि थिएँ । यतिबेला ‘उज्यालो टर्च’ जुम्लामा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको हातमा परेछ । माफ गर्नुहोला, सत्यको पछि लाग्न तपाईले सिकाउनुभएको हो, म पिठ फर्काउँदै तपाईंको उल्टो दिशामा छु, अहिले ।
अस्ति एउटा सपना देखेको थिएँ । तपाईजस्तो साहसी व्यक्ति डा. केसीजस्तो त्यागी डाक्टर र चिकित्सा शिक्षा प्रतिवेदनजस्तो समाजवादी मेडिकल दस्तावेज । सँगैसँगै हिँड्दा यो देशमा मेडिकल क्रान्ति ‘रेल र पानीजहाज’ भन्दा धेरै गुणाको वेगले पुरै नेपाली समाजको परिवर्तनको कारक बन्न पुगेको छ । सपना याद गर्दा अहिले पनि रौं सिरिङ्ग भई ठाडठाडा हुन्छन् ।
मैले मेडिकल अध्ययन पुरा गरी सिधै कर्णाली प्रदेशमा आई काम गर्न थालेको ३ वर्ष भयो । म बालरोग विशेषज्ञ हुँ । थाहा छ, प्रधानमन्त्रीज्यू, पुरै कर्णाली प्रदेशमा म आउँदा एकजना पनि बालरोग विशेषज्ञ थिएनन् । अहिले २ जना छौं । फेरि म सरकारले पठाएको चिकित्सक पनि होइन । म आफ्नो स्वविवेकले यहाँ छु र रहनेछु ।
अन्त्यमा, प्रधानमन्त्रीज्यू, नेपालमा १ हजारजना बच्चाको जन्म हुँदा २१ को १ महिनाअघि नै ज्यान जान्छ । तर कर्णाली प्रदेशमा नवजात शिशु मृत्युदर ३९ छ । अब तपाईं भन्नुहोस्, काठमाडौंमा ७ मेडिकल कजेज छन् । अझै थपेर १० पुर्याउने, हाम्रो प्रदेशमा १ पनि नहुने ? यो बाल मृत्युदर कसरी घट्ला ? म मेरा साहसी, ‘हिरो’ प्रधानमन्त्रीलाई आँखामा पट्टी बाँधिदिने मेडिकल व्यापारीबाट कसरी फुत्काऊँ ? कर्णालीको एउटा कुनाबाट अनेकथरी कुरा मनमा खेलाउँदैछु । तपाईको हातबाट सत्य, साहस र समृद्धिको टर्च खसेको अवस्थामा त्यो टर्चलाइट कतै अर्कैको हातमा जाँदा, दुई तिहाइ पनि पछिपछि नलाग्ला भन्न कहाँ सकिन्छ र ? प्रधानमन्त्रीज्यू, एकपटक समझदार र भ्रष्ट माफियालाई त्याग्न सफल प्रधानमन्त्रीको रूपमा पूजा गर्ने मौका दिनुहुनेछ भन्ने आस गर्दै अर्को पटकको रारा महोत्सवमा कमलको फूलमाला लिई पर्खनेछु ।
– डा. नवराज केसी
बालरोग विशेषज्ञ, सुर्खेत (कर्णाली प्रदेश)

