काठमाडौं
दिनभर उनी असनका गल्लीगल्ली डुल्छिन्, खानाको जोहो गर्न । जसले जे दिन्छ, त्यसैले पेट भर्छिन् । कसैले केही नदिएको दिन भोकै बस्नुपर्छ । त्यस्तो बेला फोहोरको डंगुर खोतल्छिन्, खानेकुरा भेटिन्छ कि भनेर ।
न छोराछोरीको पत्तो न आफन्तकै । उमेरले ७१ नाघेकी चन्द्रकेशरी बज्राचार्य बुढ्यौलीमा जीउ पाल्न सडकपेटी भौंतारिइरहेकी छन् । उमेर र आफ्नो विगत भुल्छिन्, फेरि सम्झिन खोज्छिन् ।
भक्तपुर घर बताउने उनले सानैदेखि असनको बालकुमारी मन्दिरछेउ एक घरमा काम गरेकी रहिछन् । भान्सादेखि सरसफाइ सबै जिम्मा उनकै हुन्थ्यो । साहुको घर उनकै जस्तो लाग्थ्यो । परिवार आफ्नै झैं । घरमूलीका छोराछोरीसमेत हुर्काएकी चन्द्रकेशरी अहिले बेघर र
बेवारिस छिन् । घरमूली बितेपछि उनका छोराबुहारीले आफूमाथि अन्याय गर्न थालेको उनी सुनाउँछिन् । खान नदिने मात्रै होइन, शारीरिक यातनाबाट पनि पीडित बन्दै गइन् । छोराबुहारीको सम्बन्धविच्छेद भएपछि चन्द्रकेशरी घरनिकाला नै भइन् ।
पूरै उमेर अरूको घर सेवामा समर्पित उनको सहारा त्यसपछि सडक र गल्ली बन्यो । असनको बालकुमारी मन्दिर छेउ ‘पल्टन छेँ’ (पाटी पौवा) छ । त्यहीं उनीसँगै निकालिएको काले कुकुर पनि बस्छ । उनकै छेउमा सुत्छ, बिहानै उनीसँगै खाना माग्न साथ दिन्छ । ‘यो कालेले मलाई साथ दिएको छ बरु,’ आँखा टिलपिल पार्दै उनले सुनाइन्, ‘अरू सबैले छाडिदिए ।’
चन्द्रकेशरीलाई हेर्दै हुर्किएका स्थानीय २४ वर्षे विशाल भण्डारीका अनुसार काम गर्न नसक्ने भएपछि उनलाई घरबाट निकालिएको थियो । ‘केटाहरूले राति दुःख दिन्छन् भन्नुहुन्छ,’ उनले भने, ‘हामीले देखेका हुँदैनौं, कसलाई समाएर के गर्ने ? कुकुर नै उनको सुरक्षाको आधार छ ।’
चन्द्रकेशरीजस्ता थुप्रै वृद्धवृद्धा छन्, जसले शरीरमा शक्ति हुन्जेल अरूको घरमा सेवा गरे । त्यसबापत न सुरक्षा र सम्मान पाए न त भविष्य नै । उल्टै बुढ्यौलीमा बेघर र बेसहारा बन्नुपरेको छ ।
पशुपति वृद्धाश्रममा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएकी ९१ वर्षीया कान्छी घर्तीको पुस्तैनी नै घरेलु कामदार हो । चाबहिल चोकैमा घर भएका श्रीविन्द खनालकहाँ उनको बालापन र जवानी बित्यो । अवकाश प्राप्त सरकारी कर्मचारी श्रीविन्दले कान्छीलाई धाई आमा भनेर सम्बोधन गर्छन् । कान्छीको चार पुस्ता नै आफूहरूकहाँ बस्दै आएको उनले बताए । ‘उतिबेला कमैया राख्ने चलन थियो । कसैको बिहेमा कान्छीका पुस्ता कमैया उपहारका रूपमा हामीकहाँ आएका हुन् रे,’ श्रीविन्द भन्छन्, ‘यस्ता कामदारलाई अंशबन्डा गरेजसरी आफन्तबीच बाँडफाँट गरिन्थ्यो ।’ कान्छी श्रीविन्दको परिवारमा परिन्, उनका भाइ ठूलो बुबाको भागमा । ‘हामीले आफ्नै परिवारजस्तै गरेर राखेका थियौं,’ उनी भन्छन्, ‘ठूला बुबाको घरमा भएका कान्छीका भाइ अहिले मित्रपार्क च्यारिटी सेवामा बस्छन् ।’
कान्छीको बोली प्रस्ट सुनिन्न । खुट्टा सुन्निएर टेक्न नसक्ने अवस्थामा छिन् । तर, आफूले हुर्काएका श्रीविन्दको नाम सम्झिन्छिन् । ‘चिरु बाबुको माया लाग्छ,’ भन्छिन्, ‘उनको याद आउँछ, सम्झन्छु ।’
६१ वर्षीय श्रीविन्द सेवा अवधिमा पशुपति वृद्धाश्रमका एकाउन्टेन्ट थिए । त्यतिबेला आफूले नै कान्छीलाई आश्रममा ल्याएर राखेको बताउँछन् । सानैदेखि कान्छीले धाई आमाका रूपमा आफू र भाइबहिनी हुर्कार्एको उनी सम्झिन्छन् । ‘पिठ्युँमा मलाई बोकेर दूध लिन गौशाला जानुहुन्थ्यो, म सानोमा उहाँसँगै खेल्थें,’ उनले भने । मानसिक सन्तुलन बिग्रिएपछि कुटपिट गर्न थालेकाले उपाय नलागेर आश्रममा लगेको उनको भनाइ छ ।
पशुपति वृद्धाश्रममै केही महिनाअघि हीरादेवी खड्गी (श्रेष्ठ) को निधन भयो । उनका आफन्त कोही थिएनन् । आश्रमका एक कर्मचारीका अनुसार उनी काठमाडौंकै एक मारवाडीको घरमा काम गर्थिन् । बुढेसकाल लागेसँगै अशक्त भइन्, त्यसपछि उनलाई आश्रममा ल्याएर छाडियो । रसुल साह नाम गरेका व्यक्तिले मन्त्रालयबाट बेसहारा कागज बनाई २०७४ कात्तिक ८ मा आश्रममा ल्याएर छाडेको रेकर्ड छ । २० वर्षदेखि आश्रममा काम गर्दै आएकी सरसफाइ कर्मचारी मीना देउला भन्छिन्, ‘यहाँ आएपछि उनलाई भेट्न कोही आएनन् ।’
इलामको देउमाई नगरपालिका–१ घर भएकी ७४
वर्षीया सीतादेवी श्रेष्ठ पनि पशुपतिकै आश्रममा छिन् । दुई वर्षदेखि खुट्टामा समस्या आएपछि उनले काम गर्न सकिनन् ।
बिहेपछि सन्तान पनि भयो तर श्रीमान्को देहान्तपछि भाइबुहारीको घरमा बसेर उनीहरूका छोराछोरी हुर्काइन् । जब शारीरिक रूपमा अशक्त भइन्, त्यसपछि भाइबुहारीले नै आश्रम पुर्याए । ‘छोरी विदेश छे, कहिलेकाहीं भिडियो कल गर्छे,’ उनी भन्छिन्, ‘भाइबुहारीले सम्झिँदैनन्, भतिजा–भतिजी हुर्काएको याद आउँछ ।’
सीतादेवीलाई आश्रममा ल्याउन अधिकारकर्मी जुनु ढकालले सहजीकरण गरेकी थिइन् । गोदावरीमा रहेका सीतादेवीका आफन्त बुद्धिबहादुर खड्गीको समन्वयमा आश्रम पुर्याएको उनको भनाइ छ । ‘बुद्धि दाइको घरमा थिइन् सीता आमा,’ ढकाल भन्छिन्, ‘निकै दुःख पाएकी थिइन्, आश्रममा ल्याउन सघाएकी मात्रै हुँ ।’ हातखुट्टा चल्दासम्म सबैले माया गरे पनि अशक्त भएपछि आश्रममा ल्याइदिएको सीताको भनाइ छ । ‘साइँलो भाइसँग बस्थें, आश्रममा आएपछि एक पटक पनि भेट्न आएको छैन,’ आँसु पुछ्दै उनले भनिन्, ‘शरीरमा दम हुँदा मात्रै सबै हुँदा रहेछन् ।’
पशुपतिको वृद्धाश्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित एक मात्र सरकारी वृद्धाश्रम हो । २३० जना क्षमता रहेको आश्रममा अरूकहाँ काम गर्दागर्दै त कति आफन्तबाटै ल्याइएका आमाहरू छन् । जसले जीवनभर आफू रित्याएर ममत्व र श्रम पोखिइरहे तर अहिले सबै गुमाए ।
आश्रम प्रमुख ओमप्रसाद पाण्डेले निर्देशिकाअनुसार कागज मिलाएर आफन्तले नै वृद्धवृद्धा ल्याउने गरेको बताउँछन् । खासगरी अरूका घरमा काम गर्ने वृद्धवृद्धाको श्रम शोषण भएको उनी बताउँछन् । बल हुन्जेल घरमा राखेर श्रम शोषण गराउने र अशक्त भएपछि कागज मिलाई झुक्काएर आश्रममा पुर्याउने गरेको अधिकारकर्मी सरला पन्थीले बताइन् । हिमालय वृद्धाश्रम केन्द्र गोंगबुकी अध्यक्षसमेत रहेकी उनले आफ्नै आश्रममा आश्रय पाएका अधिकांश आमाहरू घरेलु कामदार रहेको बताइन् ।
दोलखा घर भएकी मनमाया थामी र ओखरपौवा घर बताउने चरीमाया अधिकारीले पनि वृद्ध हुन्जेल अरूकै घरमा काम गरेर बिताए । उनीहरूका नाममा नागरिकताबाहेक केही छैन । ‘श्रम शोषण गरेर अन्तिममा फाल्न त पाइएन नि,’ चरीमाया भन्छिन्, ‘हामीलाई केही न केही सुरक्षा सुविधा त दिनुपर्यो नि । कसले पहल गर्ने ?’
बाध्यतामा अरूको घरमा काम गर्ने तर बुढेसकालमा बेवास्ता गरिने यस्ता वृद्धाबारे राज्यले चासो राख्नुपर्ने सरला बताउँछिन् । ‘उनीहरूलाई वृद्धाश्रम पुर्याउने घरबेटीलाई कानुनी दायरामा ल्याउन जरुरी छ,’ उनले भनिन्, ‘सरकारी निकाय वा कुनै कम्पनीका कर्मचारीले निश्चित अवधिपछि पेन्सन सुविधा पाउँछन् तर साहु–महाजनका घरमा काम गरेर जीवन बिताउने वृद्धवृद्धाको यस्तो अवस्था छ,’ उनले भनिन् । संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक संरक्षणको हक हुने भनिएको छ । मानवअधिकार आयोगले २०७६/०७७ मा ज्येष्ठ नागरिकको अवस्थामाथि तयार पारेको प्रतिवेदनमा ज्येष्ठ नागरिक विभिन्न कारण बेघर भएको उल्लेख छ । सन्तान नभएका ज्येष्ठ नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा सरकारसमेत मौन रहेको प्रतिवेदनको निष्कर्ष छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा हेरविचार, स्याहारसम्भार तथा अधिकारबारे प्रस्ट छ । सामाजिक सुरक्षा ऐन, २०७५ मा सामाजिक सुरक्षा भत्तालगायतबारे उल्लेख छ ।
यद्यपि आश्रममा पुगेका बेसहारा ज्येष्ठ नागरिकका समस्या खोजीनिती गरिएको देखिँदैन । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले समाजमा छोराछोरी र साहुबाट समेत शोषित वृद्धवृद्धाको पीडा कहालीलाग्दो रहेको बताए । ‘वृद्धाश्रमसम्म ज्येष्ठ नागरिक कसरी पुगे, खोजी गरिनुपर्छ,’ उनी भन्छन्, ‘त्यो काम राज्यको हो । हामी सहकार्य गर्ने संयन्त्र मात्र हौं ।’ साभार : कान्तिपुर

