काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ जना पुगेको छ । जसमध्ये ७ हजार २ सय ९१ जना संस्थागत र ९४ हजार ३ सय ४३ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर भएको २० हजार ३ सय ६२ पीसीआर परिक्षण मध्ये ९ हजार २ सय ३८ जनामा र ४ सय २४ एन्टिजेन परिक्षणबाट ६७ जनामा गरी कुल ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ हजार २ सय ५०, ललितपूरमा ४ सय ४८ र भक्तपूरमा २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । मुलुकभर ५ सय १७ जना क्वारेन्टिनमा रहेका छन् । मुलुकभर १ हजार २ सय ४१ जना आइसियूमा र २ सय ८५ जना भेन्टिलेटरमा उपचारत छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा संक्रमणका कारण थप १ सय ६८ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

