काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा कुनै किसिमका भ्रष्टाचारको गुञ्जायस नहुने दाबी गरेका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गिरीले आफ्नो नेतृत्वमा खरिद प्रक्रियामा सेटिंग गरेर नीतिगत भ्रष्टाचारको गुञ्जायस नहुने बताएका हुन् ।‘तपाईंहरू निश्चित रहनुहोला । प्रत्येक कुरामा पारदर्शी हुनुपर्छ । जनताको रगत पसिनाको थोपा–थोपा मिसाएर प्राप्त भएको राजश्वले कहीँ कतैबाट पनि त्यस्ता भ्रष्टाचार तथा दुरुपयोग हुन दिनहुन्न ।त्यस्ताविरुद्धको कलम चलाउनुस् म साथमा हुन्छु ,’उनले भने ।
उनले आफनो कार्यकालमा स्वास्थ्य सेवालाई आमजनताको पहुँचमा पुर्याउने नै अहिलेको मुख्य एजेन्डा रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘ पैसा नभएका कारणले उपचार नपाएर अकालमा मानिसहरू मर्नुपरेको स्थिति छ। कति मान्छेहरू रोग तथा पीडा लुकाएर बसेका छन् । दूरदराजमा स्वास्थ्य जनचेतना पुग्न सकेको छैन। यी सबै कहालीलाग्दो विषय हो । हामीले गम्भीरताका रूपमा लिएका छौँ ।’
उनले ठूला अस्पतालमा आईसीयूलगायतको पूर्वाधार कम हुनु र बेड अभाव भएका कारण निजीमा रिफर हुनपर्ने बाध्यता रहेकाले स्वास्थ्यका पूर्वाधारको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘देशैभरका अस्तपालमा पूर्वाधारको विकासका लागि कस्तो अवस्था छ भनेर वैज्ञानिक विधिले अध्ययन गर्छौं र पूर्वाधारलाई विकास गर्नेतर्फ योजना बनाउँछौँ ।’ स्वास्थ्यमन्त्री गिरीले जनशक्तिको उचित व्यवस्थापनमा पनि ठोस योजनाका साथ काम गर्नुपर्ने र स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाएर लगी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा ध्यान दिने बताए ।
हालैमात्र बाँकेकाे दादुरा प्रभावित क्षेत्रकाे अवलाेकन गरेर फर्किएका मन्त्रीले छिट्टै नै नियन्त्रणमा आउने भन्दै दादुराविरुद्धकाे खाेप कुनै पनि घरमा नछुटाइ लगाउन निर्देशन दिएकाे बताए ।

