बलिउड अभिनेता अनिल कपुरले शनिबार ६६औँ जन्मदिन मनाएका छन् । उनले मिस्टर इन्डिया, तेजाब, लम्हे, जुदाई, ताल, नायक, लाड्लालगायत हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन् ।
सन् १९५६ मा जन्मिएका अनिल अहिले पनि लुक्स र पर्सनालिटीमा युवा अभिनेताहरूभन्दा कम देखिँदैनन् । बिहानै उठेर मनतातो पानी पिएपछि उनी केरा लिन्छन् । यसमा कार्बोहाइड्रेट, पोटासियम र आइरन मिल्छ । त्यसपछि उनी जिम, साइक्लिङ, योगालगायत शारीरिक गतिविधि गर्छन् ।
दैनिक झन्डै दुई घन्टा जिम गर्छन् । उनी कुनै विशेष पार्ट बनाउनभन्दा पनि समग्र शरीरको कसरतमा ध्यान दिन्छन् । चेयर स्क्वाट्स, सेटअप, वेट्स, क्रन्चेस, पुसअपलगायत व्यायाम गर्छन् । साइक्लिङ, जगिङ, योगालगायत शारीरिक गतिविधिमा सक्रिय रहन्छन् ।
उनी फुर्सदको समय हिँड्न रुचाउँछन् । यसले पनि शरीरलाई मेन्टेन राख्न सघाउँछ । ब्रेकफास्टमा अन्डा, टोस्ट वा ओट्स लिन रुचाउँछन् । दिनमा ५ देखि ६ पटकसम्म केही न केही खान्छन् । थोरै–थोरै खाद्यान्न दिनमा धेरैपटक खाँदा शरीर स्वस्थ रहन्छ र थकान महसुस हुँदैन । जंकफुड र चिनीयुक्त खाना लिँदैनन् । डेरीजन्य उत्पादन धेरैभन्दा धेरै लिन्छन् । उनी चिया र कफी लिँदैनन् । त्यसको साटो स्ट्रबेरी, मिल्क सेक वा जुस पिउँछन् । ब्रोकाउली, दाल र ब्राउन राइस उनलाई मन पर्छ ।

