डडेलधुरा । स्वास्थ्य सेवालाई संघदेखि स्थानीय सरकारसम्म प्राथमिकतामा राखिएको छ । तपाईँलाई पत्यार नलाग्न सक्छ- तर प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । १९ जनाको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरू उपचारका लागि काठमाडौं र भारतका अस्पताल पुग्न बाध्य छन् ।
डडेलधुरा जिल्ला अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अस्पतालमा एक जना पनि छैनन् । १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा अहिले ८ जना मात्रै छन् । यो अस्पतालमा हाड जोर्नी, बाल रोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपी सेवा सञ्चालनका लागि उपकरण छन् । तर विशेषज्ञ चिकित्सक नहुँदा ती उपकरण प्रयोगविहीन छन् ।
यस अस्पतालमा एघारौं तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी छ । तर यो पद सधैँ रिक्त हुँदा अस्पताल प्रशासन निमित्तकै भरमा चलेको छ । अस्पतालमा दैनिक दुई सय जना भन्दा बढि उपचारका लागि आउने गरेका छन् । तर विशेषज्ञ चिकित्सक अभावले यो डडेलधुरा जिल्ला अस्पताल केबल रेफर सेन्टर जस्तै भएको छ ।
अस्पतालमा पूर्वाधारको कुनै अभाव छैन । न त प्रविधिको नै समस्या छ । तर सरकारले चिकित्सक नै उपलब्ध गराउन नसक्दा सेवा प्रभावित मात्र भएको छैन, गरिब जनताले उपचार नै नपाएर ज्यान गुमाउनु परिरहेको छ ।
डडेलधुरामा मात्र होइन, सुदूरपश्चिमका धेरै अस्पतालमा चिकित्सकको अभाव छ । यो प्रदेशमा १ लाख ५० हजार नागरिक बराबर एक जना चिकित्सक छन् । यसले सुदूरपश्चिमको स्वास्थ्य सेवा कति दयनीय छ भन्ने देखाउँछ ।

