धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नसर्ने दीर्घकालीन रोगको अवस्था र आधुनिक उपचार पद्धति, औषधि र सहज एवं सर्वसुलभ उपचारको बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि दुई दिने ‘दोस्रो राष्ट्रिय स्तरको मेडिसिन अपडेड २०२२’ सुरु भएको छ । नेपालमा यसअघि मेडिसिन अपडेट सन २००३ मा भएको थियो ।
प्रतिष्ठानको मेडिसिन विभागको आयोजनामा सुरु भएको मेडिसिन अपडेटमा क्यान्सर, बाथरोग, हर्मन, थाइरोइड, मधुमेह, हृदय रोग, मृगौला, स्नायु र अंग प्रत्यारोपण सम्बन्धी मिर्गाैला, मुटु र कलेजो प्रत्यारोपण विषयहरु समेटिएका छन् । नसर्ने दीर्घकालीन रोगका बारेमा ३० वटा वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत भइरहेको उक्त कार्यक्रममा ४० भन्दा बढी विषय विज्ञसहित नेपालका विभिन्न मेडिकल कलेज र अस्पतालबाट ३ सय चिकित्सक, नर्स, प्यारामेडिक, स्वास्थ्य प्राविधिकहरुको सहभागिता छ ।
समय अनुसार नसर्ने दीर्घकालीन रोगहरु पनि देखापर्दै जाने र पहिचान पनि हुदै जाने एवं सोही अनुसार उपचार पद्धतिका लागि अन्तर्राष्ट्रिय स्तरको गाइडलाइन (दिशानिर्देश) पनि तयार हुने भएकाले त्यसलाई पच्छ्याउँदै नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्डअनुसार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्य मेडिसिन अपडेट २०२२ को छ । मेडिसिन अपडेट कार्यक्रमका कन्भेनर समेत रहेका प्रतिष्ठानका मेडिसिन विभागका प्राडा संजिव शर्माले भने,‘नेपाल जस्तो विकान्मुख मुलुकमा सरुवा रोगले भन्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढी छ । मृत्युको कारण ८० प्रतिशत नसर्ने रोगबाट हुने गरेको छ ।’
उनले नसर्ने दीर्घकालीन रोगको उपचार पद्धती भए पनि विभिन्न कारणले बिरामीले औषधि नखाने, अस्पताल नपुग्ने, नियमित जाँच नगर्ने र जीवन शैलीमा परिवर्तन नगर्ने भएकाले मृत्यु दर बढेको बताए । उनले भने, ‘कतिपय नसर्ने दीर्घकालीन रोगका लक्षण देखिँदैन । उच्च रक्तचाप, मधुमेह, मृगौला, मुटु रोगका कतिपय अवस्थामा लक्षण नदेखिएपछि बिरामीले स्वास्थ्य परीक्षण पनि गर्दैनन् । गरिहाले रोग पहिचान हुन्छ । रोग पहिचान भएपछि चिकित्सकले औषधि त लेखिदिन्छ तर बिरामीले आफूलाई केही भएको छैन भन्ठानेर औषधि नियमित सेवन किन गर्ने ? पैसा किन खर्च गर्ने भनेर आफ्नो स्वास्थ्यको ख्याल नगर्दा झन् समस्या बल्झन्छ ।’
उनले नसर्ने रोगबाट मुक्ति पाउनका लागि स्वस्थ जीवन शैली, शारीरिक परिश्रम, स्वस्थ खानपान र मेडिटेसन अर्थात घाम पानी, परिश्रम र आहारविहारमा ध्यान दिनु जरुरी रहेको बताए । मेडिसिन अपडेट कार्यक्रमका संयुक्त सचिव एसोसिएट प्रोफेसर डा विवेक कट्टेलले भने, ‘बाथ रोग मात्र पनि सयभन्दा बढी प्रकारका छन् । तर सर्वसाधारण बिरामीहरु र चिकित्सक आफै पनि यो रोगको उपचार पद्धतीबारे जानकार नहुँदा सही उपचार हुन सकेको छैन । कतिपय बिरामीले भारतीय उद्योगमा उत्पादन भएको तर कतै रजिष्टर नभएको र वैज्ञानिकरुपमा प्रमाणित नभएको स्टेरोइड र पेनकिलरबाट बनाएको औषधि प्रयोग गरेर झन् समस्याग्रस्त भएको पाइएको छ ।’ उनका अनुसार बाथरोगको उपचार पद्धतीको विकास भइसके पनि स्टेरोइड र पेनकिलरबाट बनाइएका औषधिले शरीरमा अरु रोग थपिदिएको छ । ढाडको दुखाइ तथा वाथको सम्बन्ध, छाला रोग र वाथको सम्बन्ध बारेमा पनि मेडिसिन अपडेटमा चर्चा भएको थियो । बाथ रोगबारे डा कट्टेलसहित डा विनित वैद्य, डा साकेत झा, डा लव लोहनीले नयाँ जानकारी आदान–प्रदान गरेका थिए ।
इन्डोक्राइनोलोजी (हर्मन) रोगबारे विषेशज्ञहरु प्राडा रविन मास्के, डा ज्योति भट्टराई र डा उत्तर मैनालीले नयाँ उपचार पद्धती र औषधिकाबारे कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिएका थिए । क्यान्सर सम्बन्धी प्रतिष्ठानकी मेडिसिन अंकोलोजिस्ट एसोसिएट प्रोफेसर डा सोनिया दुलाल, वीर अस्पतालका डा राजु परियार, डा जितेन्द्र यादव, सिभिल हस्पिटलका डा विशेष पौडलले जानकारी आदान–प्रदान गरेका थिए । डा दुलालले भनिन्, ‘बेलैमा जाँच गरेमा क्यान्सर निको बनाउन सकिन्छ । क्यान्सर भएको वा नभएको पत्ता लगाउन अहिले सहज भएको छ । ट्युमर मार्कर वा क्यान्सर स्क्रिनिङ प्रोगाममार्फत क्यान्सर हुनुभन्दा अगाडि र प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ । तर सर्वसाधारणमा जनचेतनाको कमी र उपचार पद्धतीको सही ज्ञान नहुँदा नेपालमा अधिकांश क्यान्सर बिरामी तेश्रो वा चौथो स्टेजमा मात्र अस्पतालमा आइपुग्छन् ।’
स्नायु रोग (न्यूरो) सम्बन्धी अन्तक्रियामा प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा आलोक दाहाल, एसिस्टेण्ट प्रोफेसर डा भूपेन्द्र साह, काठमाडौंका डा गुणराज पौडेल, डा लेखजंग थापा, विराटनगरका डा डिल्ली काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले पक्षघात (स्ट्रोक) मिर्गी (छारोरोग) र माइग्रेन विषयमा जानकारी दिएका थिए । न्यूरोलोजिस्टहरुका अनुसार स्ट्रोक भएको ४ देखि ६ घण्टाभित्र अस्पताल पुर्याएमा र विज्ञ चिकित्सकले उपचार गरेमा हिँडेरै घर जान सक्छन् । नसर्ने रोगमध्ये कलेजोमा हुने रोग पनि हो । उक्त रोगबारेमा प्रतिष्ठानका प्राडा विक्रम प्रधान, एसोसिएट प्रोफेसर डा डेनिस प्युस, मोहन खड्का, डा भूपेन्द्र बस्नेत, डा निरज जोशी र डा मुकेश शर्मा पौडेलले मोटोपन र कलेजो रोग, पेङ्क्रियाज र आन्द्रामा हुने क्यान्सरको आधुनिक उपचार पद्धतीबारे जानकारी दिएका थिए ।

