काठमाडौँ , शताब्दी पुरुष सत्यमोहन जोशीलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा सारिएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेकोमा पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।
अस्पतालका अनुसार भर्ना भएपछिको केही दिनसम्म स्वास्थ्यमा केही सुधार देखिएता पनि पछिल्लो ३-४ दिनदेखि खानामा अरुचि बढ्दै गएको र प्रस्ट रुपमा संवाद गर्न नसक्ने भएका छन् । अस्पतालका अनुसार उनलाई ‘युरिन इन्फेक्सन’ तथा छातीमा निमोनिया देखिएको छ ।
जोशीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सहयोग गर्ने किस्ट अस्पताललाई धन्यवादसमेत व्यक्त गरेका छन् । जोशीको दैनिकीलाई सहज बनाउनका लागि ललितपुर महानगरपालिकाले विगत ५ वर्षदेखि सवारीसाधन, सवारी चालक, सुरक्षाकर्मीको व्यवस्था गर्दै आएको छ भने केही साताअघि नेपाल सरकारले उनको रेखदेखका लागि नर्सको व्यवस्था गर्न मन्त्रिपरिषद्बाटै निर्णयसमेत गरेको थियो ।

