काठमाडौं- त्रिवि शिक्षण अस्पताल अन्तरगत सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको शिलान्यास भएको दश वर्षपछि उद्घाटन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सो अस्पतालको उद्घाटन गरेका हुन्। उनले स्व सुरेश वाग्लेको अर्धकदको शालिक अनावरण र रेडियो थेरापी सेवा सम्बन्धी बंकर क्षेत्रको निरीक्षण पनि गरेका छन्।
विसं २०६९ मङ्सिर ६ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सो भवनको शिलान्यास गरेका थिए। स्व सुरेश वाग्लेका छोरा विकास वाग्लेले ढिलै भए पनि अस्पतालको निर्माण सम्पन्न भएकोमा खुशी हुँदैं अब आउने दिनहरुमा स्वास्थ्य मन्त्रालय लगाएत सम्बन्धित निकायहरुको सहयोगको आशा राखेको बताए।
एक सय चालिस शय्याको क्यान्सर अस्पतालमा दशवटा आईसियू छन्। अस्पतालमा क्यान्सरको डे केयर सेवासँगै भर्ना भएर बस्ने बिरामीहरूको पनि उपचार भईरहेको छ। अझै रेडियोथेरापी मेसिन आएपछि झन् उपचार गर्नेहरुको संख्या थपिने र उपचारमा पनि सहज हुने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले बताए। सात जना कार्यकारी निर्देशक, नौ जना डिन र एक दर्जन भन्दा बढी स्वास्थ्य मन्त्रीहरुको कार्यकालमा हरेक पटक सो अस्पताल निर्माणको विषयमा कुरा हुँदैं आज आएर उद्घाटन गर्न पाउँदा खुशी लागेको काफ्लेले जनाए।
शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर ’निर्माण भएको छ। क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले ५५ करोड रूपैयाँको लागतमा सेन्टर निर्माण गरिएको हो। उक्त सेन्टरको चाँडै सुरु गरिने जनाइएको छ।
नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आईसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिए।
यसबाहेक उक्त सेन्टरमा तीन रेडियोथेरापी बङ्कर, एम्बुलेटरी बेड, बोनम्यारो ट्रान्सप्लान्ट सेन्टरलगायत रहनेछ। अहिले उक्त भवनमा कोरोनाका बिरामी राखेर उपचार गरिँदै आएको कार्यकारी निर्देशक डा काफ्लेले बताए। ‘अण्डरग्राउण्ड’सहित आठतले उक्त भवनमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
२०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा तीन सय शय्यामार्फत् सेवा प्रदान गरिएको थियो। हाल उक्त सेवालाई विस्तार गरी एक हजार शय्यामार्फत् बिरामीको उपचार गर्दै अस्पतालले जनाएको छ।

