काठमाडौं – निर्माणाधीन बाल अस्पतालको सहयोगार्थ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको आत्मकथा समेटिएको पुस्तक ‘हृदय’ आउने भएको छ । पुस्तक भदौ अन्तिम साता सार्वजनिक हुने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । कोइराला तीन दशकदेखि मुटु रोगीको उपचारमा खटिरहँदा मुलुकका धेरै बालबालिकाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाउनुपरेको देखेका छन् । प्रत्येक एक सयमध्ये तीन जना बालबालिकाले पाँच वर्ष नपुग्दै मृत्युवरण गर्नु परिरहेको तथ्यांकले उनलाई दुखाइरह्यो । यस्तो हुन नदिने उद्देश्यसहित उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरे ।
गैरनाफामूलक रूपमा सञ्चालन हुने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) काठमाडौंको बूढानीलकण्ठमा ४२ रोपनी जग्गामा अस्पताल निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले भवन उपलब्ध गराएको छ । अन्य प्रदेशमा पनि यस्ता अस्पताल विस्तार गर्ने कोइरालाको लक्ष्य छ । विशिष्टीकृत बाल अस्पताल बनाउने कोइरालाको लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउ पुर्याउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’ को विशेष संस्करणसमेत ल्याउन लागेको हो । पुस्तकमा आफ्ना जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणाहरू समेटिएको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले बताए ।
विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको मूल्य २५ हजार रुपैयाँ छ । विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रम संख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । विशेष संस्करण सार्वजनिक भएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण बजारमा ल्याइँदै छ । जसको मूल्य ५७५ रुपैयाँ तोकिएको छ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् । विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सिधै हस्पिटललाई हस्तान्तरण गरिने जनाइएको छ । पुस्तक रुचाइएको खण्डमा बाल संस्करण पनि ल्याउने योजना छ । पुस्तक प्रकाशनदेखि ढुवानीसम्मको कुनै पनि खर्च पाठकले तिर्ने रकमबाट नकटाइने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । ‘बाल अस्पतालमा हृदय पढ्ने हरेक पाठकको लगानी हुनेछ । उहाँहरू हरेकले कम्तीमा एउटा इँटाका लागि योगदान पुर्याउनु हुनेछ । प्रकाशकका रूपमा हाम्रा लागि यो गौरवको विषय हो,’ फाइन प्रिन्टका निर्देशक नीरज भारीले भने ।
मुटु रोगका डाक्टरको ‘हृदय’
मुटु रोगका डाक्टरको ‘हृदय’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

