काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको १४ वर्ष पूरा भएको छ । यस अवधिमा ७१५ जनाको सफल मिर्गौला प्रत्यारोपण भएको अस्पतालले जनाएको छ।
प्रत्यारोपण हुनेमा ५५६ पुरुष र १५९ जना महिला रहेका छन् । जसमा १३ वटा ब्लड ग्रुप नमिलेकाको पनि प्रत्यारोपण गरिएको बताइएको छ । सबै परीक्षण पूरा भइसकेका ४३ जना मिर्गौलारोगीहरू प्रत्यारोपणको पर्खाइमा छन् भने प्रत्यारोपण गराउनेको संख्या सयौँको हाराहारीमा छ ।
नेपालमा पहिलोपटक २००८ को अगष्ट ८ अर्थात आजकै दिनबाट पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु भएको थियो । मिर्गौलारोग विशेषज्ञ प्रा. डा. दिव्यासिंह शाह साथै युरोलोजिस्ट डा. भोलाराज जोशी र उनको टोलीले अस्ट्रेलियाका सर्जन डा. डेभिड फ्रान्सिसको सहयोगमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको थियो ।
१४ वर्षअघि काठमाडौं बूढानीलकण्ठका ३६ वर्षीय एक पुरुषलाई उनकी श्रीमतीले मिर्गौला दान गरेकी थिइन् ।
सोमबार मिर्गौला प्रत्यारोपण सुरु भएको १४ औँ वार्षिक दिवसका अवसरमा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन एवं मिर्गौला रोग विशेषज्ञ प्रा डा दिव्यासिंह शाहले मिर्गौला प्रत्यारोपण अहिले निकै सहज भएको भन्दै सेवा अझै विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।उनले हाल हप्तामा २ वटा प्रत्यारोपण भएको जनाउँदै भनिन्–‘हामीसँग विज्ञ छन् । भविष्यमा विस्तार गर्ने योजना छन् । ब्रेन डेथबाट प्रत्यारोपण पनि हामीले सोचेका छौँ।’ डा दिव्याले अझै पनि महिलाहरू उपचारको पहुँचमा निकै कम भएको र मिर्गौला ग्रहण गर्ने महिला कम हुनु दु:खद रहेको बताइन् ।‘डायलसिसमा आउने महिला र पुरुषको संख्या आधा–आधा नै हुन्छ। ३० देखि ४० प्रतिशत मात्र महिलाले मिर्गौला पाएका छन् ।’
अस्पतालले यस अवधिमा १४ जना प्रत्यारोपणविज्ञ पनि तयार गरिसकेको छ । प्राडा प्रेमराज ज्ञवाली भन्छन्–‘ त्रिवि अस्पतालमा प्रमको पनि प्रत्यारोपण भइसकेको छ। त्यो नै हाम्रो ठूलो सफलता हो । अर्को हाम्रो प्रत्यारोपणको ९५ प्रतिशत सक्सेस रेट रहेको छ । हामीले अकाडेमिक लेभलमा पनि राम्रो गरेका छौँ ।’ट्रान्सप्लान्ट सर्जन तथा सह–प्राडा सुमन चापागाईंले पूर्वाधार विकास भएमा मिर्गौला प्रत्यारोपणको संख्यामा वृद्धि आउने बताए । उनले भने–‘जति संख्यामा मिर्गौला प्रत्यारोपण हुनुपर्ने हो त्यति हुन सकेको छैन। हामीले वर्ल्ड क्लास सेवा दिएका छौँ । सेवालाई देशभर विस्तार गरी अझ फराकिलो र सहज बनाउनुपर्ने छ । अझै १० पटक विकास गर्नुपर्ने आवश्यकता छ ।’
सरकारले हाल मिर्गौला प्रत्यारोपण र औषधि उपचारका लागि करिब साढे ५ लाख रुपैयाँ नि:शुल्क प्रदान गर्ने गरेको छ ।

