काठमाडौं : दुई साताअघि काठमाडौं उपत्यकामा दुई जनामा हैजा संक्रमण देखियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन अपिल पनि गर्यो। तर, नियन्त्रणमा हेलचेक्य्राइँका कारण संक्रमण बढ्दै गएको छ।
दैनिक संक्रमित थपिँदैछन्। दुई साताको अवधिमा १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ। सरदरमा दैनिक एक जनामा हैजा संक्रमण देखिन थालेको महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन्। भन्छन्, ‘कुनै दिन दुई जना र तीन जनामा पनि देखिन थालेको छ। तर, सरदरमा भन्ने हो भने संक्रमित दैनिक एक जनाका दरले थपिने क्रम छ।’
हेलचेक्य्राइँकै कारण यो अवस्था आएको दासको भनाइ छ। हैजा संक्रमितमध्ये पाँच जना बिरामी उपचाररत रहेको उनले जानकारी दिए। हैजा संक्रमित चार जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। १४ दिनमा १७ जना व्यक्तिमा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जनाएको छ।
धारा तथा जारको पानी शुद्धीकरण नगरी उपभोग गरेका कारण हैजा देखिएको हो। ढुंगेधाराका साथै प्रशोधितका रूपमा प्रचारित पिउने पानीमा समेत हानिकारक सूक्ष्म जीवाणु पाइएको डा. दासले जानकारी दिए। सबैभन्दा पहिले असार २ मा काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमणको पुष्टि भएको थियो। असार ३ मा ललितपुर–३, सानेपामा तेस्रो केस पुष्टि भएको थियो। त्यसको भोलिपल्ट असार ४ मा काठमाडौं डिल्लीबजारमा चौथो केस पुष्टि भएको थियो। असार १६ सम्ममा काठमाडौं उपत्यकामा हैजाका १७ केसहरू पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच वर्षका बालबालिकादेखि ७४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकमा हैजा पुष्टि भएको छ।
पानीमा कोलिफर्म र इकोली
रोग नियन्त्रण महाशाखा (ईडीसीडी) निर्देशक डा. दासका अनुसार, घर, कार्यस्थलमा भण्डारण गरिएको धारा, जारको पानी र जमिनमुनिको पानीको नमुनामा कोलिफर्मको जीवाणु भेटिएको छ। ईडीसीडीले ललितपुरबाट संकलन गरेको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोली फेला परेको छ।
त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), ईडीसीडीद्वारा संयुक्त रूपमा लिइएको ३५ वटा नमुनामा इकोली पाइएको डा. दासले जानकारी दिए। ललितपुरको सानेपामा हैजाका जीवाणु फेला परेको छ। त्यस्तै, काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, कपन, बालाजु, बल्खु, कलंकी, टेकु, कोटेश्वर, थानकोटलगायतका क्षेत्रमा संकलित पानीको नमुनामा जीवाणु फेला परेको स्वास्थ्य सेवा विभागले जनाएको छ। हैजा नियन्त्रण नहुनुमा सरोकारवाला निकाय चुकेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन्। मेलम्ची नदीबाट उपत्यकामा वितरित दैनिक १७ करोड लिटर पानीको आपूर्ति बन्द भएपछि उपत्यकावासीले स्थानीय सतह र भूमिगत स्रोतको उपयोग गर्दै आएका छन्। जुन पानी अशुद्ध भएकै कारण हैजा फैलन पुगेको डा. मरासिनी बताउँछन्।
खानेपानी मन्त्रालयले शुद्ध पानी वितरण गर्न नसकेको, स्वास्थ्य मन्त्रालयले वितरित पानीको गुणस्तरका बारेमा अनुगमन गर्न नसकेको र उपत्यकामा थुप्रिएको फोहोरको समयमै व्यवस्थापन हुन नसकेको डा. मरासिनीको भनाइ छ। ‘सरकारले स्वच्छ र प्रशोधित पानीको वितरणसमेत गर्न सकेको छैन। फोहोरको व्यवस्थापन पनि हुन सकेको छैन। यसले गर्दा हैजा नियन्त्रण हुन नसकेको हो,’ डा. मरासिनीले भने, ‘सरोकारवाला निकायको हेलचेक्य्राइँ र अनुगमन प्रभावकारी नहुँदा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार, आठवटा पानी उद्योगहरूको आइतबार अनुगमन गर्दा केही उद्योगको पानी प्रशोधन कक्षको अवस्था सन्तोषजनक पाइएन। उनले भने, ‘पानी उद्योगहरूको अनुगमनका क्रममा सुधार प्रशोधन कक्षको अवस्था सन्तोषजनक नपाइएकोले सुधार नहुन्जेल उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ।’ टोखास्थित सरल मिनिरल वाटर एन्ड वेभरेज, मणि खानेपानी सेवालाई पानी वितरणमा रोक लगाइएको छ।
सरकारले सरसफाइमा ध्यान दिन र शुद्ध पानी पिउन अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभागले पानी उमालेर खान सुझाएको छ। त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको बोटल र जारको लेबल भएको र बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र पानी उपभोग गर्न अनुरोध गरेको छ। सरकारले सुसूचित गर्न उपभोक्तालाई आग्रह गरे पनि विपन्न वर्गलाई झन् समस्या भएको जनस्वास्थ्यविज्ञ डा. मरासिनी बताउँछन्।
‘गरिब जनतासँग पानी उमालेर पिउन ग्याँसको अभाव छ। प्रशोधित पानी किनेर पिउने क्षमता छैन,’ डा.मरासिनी थप्छन्, ‘सरकारले नै शुद्ध र प्रशोधित पानी टोलटोलमा वितरण गर्नुपर्छ। पीयूष र क्लोरिनको झोल वितरण गर्नु जरुरी छ।’
कसरी फैलन्छ, हैजा ?
सार्वजनिक रूपमा वितरित प्रदूषित पानी र फुटपाथमा बिक्री गरिने अस्वस्थकर खाद्यपदार्थको माध्यमबाट हैजा फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुनका अनुसार, बिरामीको पखालामा ब्याक्टेरियम भिब्रिओ कलेरानामक जीवाणु पाइएमा हैजा भएको पुष्टि हुन्छ।
शरीरमा जीवाणु प्रवेश गरेको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाका लक्षणहरू देखिन सक्छ। हैजाका झन्डै ८० प्रतिशत संक्रमितमा सामान्य पखाला लाग्न सक्छ। हैजाका बिरामीमा बान्ता हुने, प्यास बढी लाग्ने, पिसाब कम आउने, बेहोस हुने लगायतका लक्षणहरू देखिन्छन्। निर्मलीकरण गरिएको पानीको उपभोगका गर्नुका साथै भाँडाकुँडा, सलाद, फलफूल धुनसमेत स्वच्छ पानीको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
कसरी गरिँदै छ, नियन्त्रण ?
बिरामीहरू बढ्दै जाँदा हैजाले महामारीको रूप लिने जोखिम रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. दासका अनुसार शुद्ध र प्रशोधित पानी वितरण गर्नुपर्ने खाँचो छ। ललितपुर जिल्लामा हैजा नियन्त्रण गर्न कार्ययोजना बनाई कार्यान्वयनतर्फ लागिएको उनले बताए। विद्यालयहरूमा स्थानीय निकायमार्फत जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।
‘सरोकारवाला सबै निकाय सजग हुनुपर्छ। पानीको शुद्धीकरणको लागि क्लोरिन वितरण गर्ने योजना छ। महामारी फैलिएको स्थानमा पानी परीक्षण, घरघरमा केस पत्ता लगाउने गरिएको छ,’ डा. दासले भने, ‘स्वास्थ्य विभागले जनचेतनामूलक सामग्रीहरूको वितरण र माइकिङमार्फत सचेतना गरिएको छ।’

