काठमाडौं, कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए। उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ।
‘भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो। सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो। तर नेपालमा भारतमा बढेकोजस्तो भने बढेको छैन,’ उनले भने।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो। सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन्। अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन्। असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ। असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ।
असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन्। अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसीयु)मा छन्।
इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए। भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ।
‘सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो। तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने।
उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 वा BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए। ‘अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौं,’ उनले भने, ‘एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ।’
नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ। उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ।
असारदेखि बढ्दै
असार महिना लागेदेखि नै कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो । जबकि १५ दिनअघि असार १ मा संक्रमण दर ०.६४ प्रतिशत मात्र थियो । संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । असार १ गते ९७ सक्रिय संक्रमित रहेकामा हाल यो संख्या झन्डै तीन गुणा बढेर २८० पुगेको छ ।
छिमेकी भारतमा पछिल्ला दिन संक्रमण सघन बढ्दाकै असर हो/होइन भन्ने निर्क्योल गर्न स्वास्थ्य मन्त्रालयले सूक्ष्म अध्ययन थालेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन पुष्टि भएका केसको जिन सिक्वेन्सिङ पनि सुरु गरिएको छ । त्यसको परिणाम आएपछि मात्र ओमिक्रोन भेरिएन्ट वा भारतमै देखिएको बढी संक्रामक ‘बीए.४’ र ‘बीए.५’ हो भन्ने यकिन हुने मन्त्रालयका एक अधिकारीले बताए । भारतीय स्थलनाका हुँदै आउने नेपाली कामदारमा संक्रमणको दर बढी देखिएकाले ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्ट भित्रिसकेको उनले आशंका गरे ।
केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा संक्रमण देखिएकामा बिहीबार एकै दिन १२ जनामा कोभिड पुष्टि भएको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टका कारण संक्रमण फैलिएको पाइएको छ ।
‘पछिल्लो समय संक्रमणको दर निरन्तर बढ्दो छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.चुमनलाल दासले कान्तिपुरसँग भने, ‘मुलुकमा ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टले नै संक्रमण फैलाइरहेको थियो, पछिल्लो समय भारतमा देखिएको ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्टसमेत भित्रिएको हो भन्ने आंशका बढेको छ ।’ संक्रमण बढ्दै गएपछि ओमिक्रोनबाहेकका भेरिएन्टको समेत परीक्षण थालिएको उनले बताए । मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा १ जना र वाग्मती प्रदेशमा २ जना गरी ३ जना कोभिडका बिरामीको सघन उपचार भइरहेको छ ।

