गत पुस ५ गते प्रतिनिधिसभा विघटन र नेकपा विभाजन भएपछि प्रधानमन्त्री र इतर पक्षका नेताहरू ‘कोभन्दा को कम’ शैलीमा एक–अर्काको उछितो काढ्न लागिपरेका छन् । निकै तल्लो स्तरमै ओर्लिएर एकअर्काविरुद्ध अनर्गल गालीगलौजमा उत्रिनु उनीहरूको दिनचर्याजस्तै भैसकेको छ । राजनीतिज्ञहरूले जे–जस्तो ढंगले एक–अर्काविरुद्ध गाली बर्साइरहेका छन्, त्यसले उनीहरू स्वयंकै उचाइ त औंल्याइरहेकै छ नै, दलहरूकै तल्ला निकाय तथा आम तहसम्मै पनि एक किसिमको घृणाको
सञ्चार गरिरहेको छ । समग्र राजनीतिक पंक्ति नै यही हिसाबले ध्रुवीकृत र प्रशिक्षित भइरहेको देखिन्छ ।
नेताहरूका उग्र अभिव्यक्ति सुन्दा लाग्छ— देशका शीर्षस्थ राजनीतिज्ञहरू बोलिरहेका छैनन्, दुई झगडियाहरू आमुन्ने–सामुन्ने उभिएर एकअर्कालाई धारेहात लगाउँदै सरापिरहेका छन् । उदेकलाग्दो त, यो सब कुनै बन्द कोठाभित्र सीमित व्यक्तिहरूको गोप्य बैठकमा भैरहेको छैन, आफूसित मतान्तर भएका जो–कोहीलाई उनीहरूले आमसभाहरूमा हजारौं कार्यकर्ताका माझमै गालीको गोली हानिरहेका छन् । खुल्लमखुला मानमर्दन गर्ने यो शैलीको उत्कर्ष भनेको आपसी टकराव हो । कसैलाई पनि फाइदा नहुने यो भिडन्तोन्मुख वातावरणबाट नेताहरूले आफूलाई तल ओराल्नैपर्छ । मतभेद र मनभेदलाई मुडभेडतर्फ डोर्याउनु हुँदैन ।
आमसभाहरूमा नेताहरूले आफ्नो ‘एजेन्डा’ पो बताउने हो, आफूले लिएको/लिनुपरेको अडानबारे व्याख्या गर्ने हो, आफ्नो लाइनबारे उठेका प्रश्नहरूलाई प्रस्ट्याउने हो, र आम नागरिकसमक्ष आफूले देखेको र देख्न चाहेको देशको दिशा औंल्याउने हो । तर, यहाँ त नेताहरूले आफ्नो मन्तव्य/भाषणको महत्त्वपूर्ण समय विपक्षी नेताहरूलाई तथानाम भन्नमै बिताइरहेका छन् । पक्कै पनि, राजनीतिकर्मीहरूले आफूमाथि लागेका आरोपहरूको प्रतिवाद गर्न पाउँछन् । विपक्षी राजनीतिक मतमाथि विमति राख्न सक्छन् । तर यो सब गर्दागर्दै व्यक्तिगत स्तरमा ओर्लेर एकअर्काविरुद्ध खनिनु शोभनीय हुँदैन । आफ्ना विपक्षीहरूमाथि विनोदप्रिय व्यंग्य गर्न तथा तार्किक खिल्ली उडाउन अरूलाई जस्तै राजनीतिज्ञहरूलाई पनि छुट छ । तथापि शिष्टताको सीमा भने कहिल्यै भुल्नु हुँदैन ।
अहिले हाम्रा नेताहरूमा सर्वथा अभाव देखिएको भनेकै शब्दानुशासनको कमी हो । मानौं, उनीहरू शब्दकोशमा भएका गालीका शब्द जनबोलीबाट लोप हुन नदिन तल्लीन छन् । नेताहरू आफू आचरणमा बसे भने मात्रै अरूले त्यही संस्कार पछ्याउने हो । अगुवाले नै बिराउँदा पछुवाहरू सही बाटोमा हिँड्नै सक्दैनन् । अहिलेको शैलीले त समाजमा पूरै नकारात्मकता फैलाइरहेको छ । खासगरी राज्यको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री नै यसमा बढी जिम्मेवार हुनुपर्छ । आफ्नो आलोचनाप्रति सहनशील हुने गुण उनले देखाउनैपर्छ । विडम्बना के छ भने, उनी विपक्षी समूह/दलप्रति मात्र होइन, आफ्नो आलोचना गर्ने मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरूमाथि पनि अमर्यादित घोचपेच गर्न रमाउँछन् । कतिसम्म भने, सर्वोच्च अदालतमा बहस गर्न गएकैमा एक अग्रज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि उनले गिल्ला गर्न भ्याए । संयुक्त वक्तव्य जारी गर्ने सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशलाई पनि अनावश्यक हियाए । मिडिया र पत्रकारप्रति त उनको रोष प्रधानमन्त्रीमा पदासीन भएदेखिकै हो । उनी बेखुसी हुन कुनै ठोस कारण पनि हुनुपर्दैन, मिडियाले ‘तिमी’ भनेकैमा पनि उनको चित्तमा ठेस लागेको छ, आलोचना र फरकमतको सम्मान गर्नु त परको कुरा भैहाल्यो ।
आफूलाई मन नपरेका नेतालाई कटाक्ष गर्न प्रधानमन्त्रीले ‘गलत समाचार’ को सहारा लिनसमेत हिच्किचाएका छैनन् । सम्बन्धित व्यक्तिको मानमर्यादाको ख्यालै नराखी मन नपरेकालाई हाँसोको पात्रो बनाउनु त सामान्य भैसक्यो । प्रधानमन्त्री जत्तिको व्यक्तिले मनन गर्नैपर्छ, यस्तो प्रवृत्ति स्थापित नै भयो भने त्यो लोकतन्त्रकै लागि घातक हुन्छ । प्रधानमन्त्रीपक्षीय युवा नेता महेश बस्नेतले कान्तिपुर र अनलाइन पोर्टल इकागजका प्रधान सम्पादकद्वयको नामै किटेर ‘नियोजित मिडियाका मान्छे’ भन्दै आफूले निगरानी गरिरहेको बताउनु पनि ओली–शैलीकै निरन्तरता हो । मिडियाका विषयवस्तुप्रति चित्त नबुझ्न सक्छ, तर त्यसको खण्डन गर्ने निश्चित प्रक्रिया तथा स्थापित अभ्यास नै छ । राजनीति तथा समाजका अगुवाहरूले अनुचित धम्कीको बाटो रोज्ने होइन, स्थापित विधि–विधान नै पछ्याउनुपर्छ । निराधार तथा बिनाप्रमाणका आरोपले आफूपक्षीय जमातमा केही समय भ्रम छर्न सकिएला, तर त्यसले सम्पूर्ण समाजमा सही सन्देश जाँदैन ।
प्रधानमन्त्रीको जवाफमा नेकपाको अर्को पक्षका पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालदेखि जसपा नेता बाबुराम भट्टराईका कतिपय अभिव्यक्ति पनि त्यत्तिकै अशोभनीय छन् । यसरी नेताहरूको अभिव्यक्ति अराजकता निम्त्याउने पटक्कै हुनु हुँदैन । राजनीतिक खपतका लागि गरिने टिप्पणी पनि नितान्त राजनीतिक नै हुनुपर्छ, अराजनीतिक टिप्पणीले अराजकता मात्रै निम्त्याउँछ । नेपाली समाजको चरित्र कस्तो बनाउने भन्नेमा नेतृत्व प्रस्ट हुनुपर्छ । केही समयका लागि कार्यकर्ताको थपडी पाउन नेताहरूले आफ्नो औकातलाई नखसाल्नु नै उत्तम हुन्छ । फेरि यस्ता अमर्यादित टिप्पणीमा ताली बजाउनेहरू सुझबुझपूर्णभन्दा पनि अन्धभक्त कार्यकर्ता मात्रै हुन् । यतिबेला, नेताहरूको छुद्र वचनले सम्पूर्ण राजनीतिक माहोललाई नै विषाक्त बनाएको भान हुन्छ । यस्तो असभ्य शैली सरासर त्याज्य छ । सामान्य घोचपेचसम्म सबैका लागि पाच्य होला, तर नियोजित वचनवाण सर्वथा आलोच्य छ । त्यसैले, नेताहरूले आफूलाई नसच्याई धरै छैन । यस्तै, नागरिक समाजका प्रतिनिधिहरूका अभिव्यक्तिहरू पनि मर्यादित हुनुपर्छ । नागरिक समाजका एक सदस्यको न्यायाधीशलक्षित अभिव्यक्ति त्यत्तिकै अशिष्ट छ । नेताहरूलाई सच्याउनुपर्ने अभिभारा भएका भनिएका समाजका सदस्यहरूको बोली त अझ अनुशासित हुनुपर्छ ।
नजानिँदो गरी नेताहरूमा परपीडक स्वभाव हुर्किरहेको भान हुन्छ, नत्र यतिबिघ्न अरूलाई खेद्नुपर्ने आवश्यकता नै हुँदैन । असुरक्षाभाव र त्रसित मनोविज्ञानको उपज हुन सक्छ यस्तो प्रवृत्ति तर यसले पूरै समाजलाई हानि पुर्याइरहेको छ । देशलाई नकारात्मकतातर्फ धकेलिनबाट जोगाउन पनि नेताहरूले यस्तो मुखाले प्रवृत्ति त्याग्नुपर्छ । घृणास्पद अभिव्यक्तिले सम्पूर्ण समाजमा घृणा व्याप्त गर्छ भन्ने यथार्थबोध गर्नुपर्छ । आलोचना र गाली एउटै होइनन्, वर्षौं राजनीतिमा खारिएका व्यक्तिले यति तथ्य त बुझ्नैपर्छ । जो–कोहीले पनि आफ्नो कुण्ठालाई सार्वजनिक तहमा विसर्जन गर्दा अरूको मर्यादाको पनि ख्याल राख्नुपर्छ । गाली संस्कृतिलाई संस्थागत हुनबाट आजै रोकिएन भने भोलि पूरै देशलाई महँगो पर्न सक्छ, यति न्यूनतम चेतना सम्बन्धित सबैमा हुनैपर्छ ।
घृणास्पद अभिव्यक्तिले नाघेको हद
घृणास्पद अभिव्यक्तिले नाघेको हद
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

