काठमाडौँ — सरकारले सन् २०२२ को सुरुवाती तीन महिनाभित्रै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए पनि त्यसअनुसारको काम अघि बढेको छैन । देशभित्र ५–११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् । खेर जाने ५ प्रतिशत खोपसमेत हिसाब गर्दा ती बालबालिकालाई दुई मात्रा लगाउन ७३ लाख ५० हजार मात्रा खोप आवश्यक पर्छ ।
५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । सरकारले तीन महिनाअघि आउन बाँकी ६० लाख मात्रा फाइजर खोपलाई ५ देखि ११ वर्षसम्मलाई दिन मिल्ने गरी व्यवस्था गर्न फाइजर कम्पनीलाई पत्राचार गरको थियो ।
पत्राचारअघि सरकारले विश्व बैंकसँग पनि सहमति लिएको थियो । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वयस्कलाई दिइने फाइजरको एक मात्रा खोपको मूल्यको दाँजोमा बालबालिकालाई दिइने खोपको मूल्य कम पर्ने भएकाले यसमा विचार गर्न फाइजरलाई पत्राचार गरे पनि जवाफ आइसकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्रा.डा. आरपी बिच्छाले बालबालिकालाई खोप लगाउन धेरै ढिलो नहुने दाबी गरे । ५ देखि ११ वर्षसम्मकालाई यो खोप दोस्रो मात्रा लिएको एक सातापछि ९०.७ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप २१ दिनको अन्तरालमा लगाइने उनले बताए । बालबालिकाका लागि आउने भनिएको फाइजर कम्पनीको यो खोप माइनस ६० देखि ९० डिग्री सेल्सियससम्मको तापक्रममा उत्पादन भएको ६ महिनासम्म राख्न सकिन्छ ।
खोप २ देखि ८ सेल्सियसको तापक्रममा ‘अन–डाइल्युटेड’ अर्थात् उपयोग गर्न पातलो नबनाइएको अवस्थामा १० सातासम्म राख्न सकिन्छ । त्यस्तै प्रयोग गर्न मिल्ने गरी बनाइएको ‘डाइल्युटेड’ खोपलाई भने कोठाको तापक्रम (२५ डिग्री सेल्सियससम्म) मा १२ घण्टासम्म राख्न मिल्छ ।
हालसम्म मुलुकमा १२ वर्षदेखि १७ वर्षसम्मका ९१ प्रतिशतलाई पहिलो र ६७ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइएको छ । मन्त्रालयका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ जनाले एक मात्रा र २३ लाख ११ हजार ९ सय ९८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । शनिबारसम्म मुलुकमा कुल जनसंख्याको ७५ प्रतिशत अर्थात् २ करोड १८ लाख ९२ हजार ४ सय २६ जनाले एक मात्रा र कुल जनसंख्याको ६४.१ प्रतिशत अर्थात् १ करोड ८७ लाख ३ हजार ७ सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म ३ करोड ९२ लाख ३२ हजार ७ सय २५ मात्रा कोभिडविरुद्घ खोप लगाइएको छ ।

