काठमाडौं : नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले मुख स्वास्थ्यमा स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा गम्भिर नभएको भन्दै ध्यानाकर्षण जनाएको छ। दन्त स्वस्थ्यका कार्यक्रम जनतालाई जनचेतना अभिवृद्धि गर्ने खालको नभइ पैसा र भत्तामुखी बनाएको, कुनै पनि वार्षिक कार्यक्रम बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको र एक समूह प्रति मात्र उत्तरदायी भई समग्र मुख स्वास्थ्यलाई धारासायी बनाएको भन्दै एशोसियसनले आपत्ति जनाएको छ।
अध्यक्ष माइकल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाले तर्जुमा गरेका सम्पूर्ण बैठकहरुमा यस संथाले उपस्थिति जनाएको भएतापनि डेन्टल सर्जन (शाखा प्रमुख ) बाट हरेक कार्यक्रममा एक बोली अर्को कार्य गरेको, बैठकमा भएको निर्णय विपरित राजनीति गरेको, मुख स्वास्थ्यमा शून्य कार्य कार्य भएको र हालसम्म एसोसिएसनले पेश गरेका मागहरुसमेत पुरा गरेको छैन । ’
विज्ञप्तीमा भनिएको छ, ‘सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने डाक्टरलाइ पहुँचको आधारमा सुविधा सम्पन्न ठाउमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको कोडिमा ओरल यूनिटले शून्य कार्य गरेको र एक समूह प्रतिमात्र उत्तरदायी भई समग्र मुख स्वास्थ्यलाई धरासायी बनाएको, कृत्रिम दन्त शिविरको नाममा भत्ता र आर्थिक लाभ लिन आफ्ना वरिपरिका ब्यक्ती संकलन गरी ओरल हाइजीन कार्यक्रमलाई अवमुल्यन गरेको जस्ता आदिका कारण यस एसोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ। यथाशिघ्र छलफल र समस्या समाधानको लागि गम्भिर कदम चाल्न प्रमुख समक्ष अनुरोध गर्दछौं।’
एसोसिएसनले मुख स्वास्थ्य एकाई जिम्मेवार नभए आन्दोलन गर्ने जनाएको छ।

