काठमाडौं) – नन्दी रात्रि माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । काठमाडौंमा रात्रि यातायातको सुविधा नहुँदा संख्या घटेको हो । विगतको द्वन्द्व र महाभूकम्पको प्रभावले पनि विद्यार्थी संख्या उल्लेख्य रूपमा बढन सकेको छैन । ‘द्वन्द्व र भूकम्प जानुभन्दा अघिसम्म ५०० विद्यार्थी अध्ययन गर्थे । द्वन्द्व र भूकम्पपश्चात निरन्तर विद्यार्थीको संख्या घटदै गयो । त्यो बेला घरवारविहीन भएका विद्यार्थी गाउँ फर्किन बाध्य भएका थिए,’ प्रधानाध्यापक मोहनराज शर्माले भने । यो विद्यालयमा हाल करिब १५० जना मात्र विद्यार्थी छन् । प्रधानाध्यापक शर्माले रात्रि यातायातको व्यवस्था गर्ने हो भने विद्यार्थी बढ्न सक्ने बताए । विद्यालयमा प्रायःजसो दिउँसो जागिर गर्ने, अर्काको घरमा काम गर्ने, बिचमै पढाइ छाडेका व्यक्तिहरू पढ्न आउने गरेका छन् । समयको अभाव र समस्याले गर्दा शिक्षा लिने अवसरबाट वञ्चित विद्यार्थीलाई यो विद्यालय ज्ञान, सीप र क्षमता उजागर गर्ने मुख्य थलो थियो । दिवा समुहकै पाठ्यक्रम रात्री समुहमा पनि अध्यापन गराईने प्रअ शर्माले बताए । उनले नयाँ शैक्षिक सत्रबाट प्लस टुमा मानवीकी, व्यवस्थापन र शिक्षा संकायको अध्ययनअध्यापन सुरु हुने जानकारी दिए ।
विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म पढाइ सञ्चालन हुँदै आएको छ । यहाँ भर्ना हुनका लागि ५ कक्षा पास गरेको प्रमाणपत्र हुनु पर्ने व्यवस्था छ । रात्रि कक्षा साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शिक्षक राजेश हुमागाईंका अनुसार राजनीतिको केन्द्रमै रहेका चित्रबहादुर केसी, रामचन्द्र पौड्यालजस्ता व्यक्तित्व पनि कुनै बेला यसै विद्यालयमा अध्ययन गर्थे । ‘यस्तै दिग्गज व्यक्ति जन्माउनका लागि पनि हामीले विद्यालयलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका छौं । काठमाडौंमा रहेका अन्य रात्रि सेवा प्रदान गर्ने विद्यालयहरू अहिले खारेज भएका छन्,’ हुमागाईंले भने, ‘उपत्यका बाहिर वीरगन्जमा पनि हाल रात्रि विद्यालय सञ्चालन भइरहेको छ ।’
युनेस्को नेपालमार्फत कोरियाले रात्रि विद्यालयका लागि लाइब्रेरी, विज्ञान ल्याब बनाइदिएको छ । तर दिवाको विद्यालयले त्यो सबै सुविधा ओगटेको उनको गुनासो छ । दिवाको छुट्टै र रात्रिको छुट्टै भवन हुन पाएमा विद्यार्थीलाई अध्ययनमा सजिलो हुने हुमागाईंले बताए । ‘यहाँ १२ वर्ष उमेर समूहका विद्यार्थीदेखि लिएर ६० वर्षसम्मका विद्यार्थी पढ्न आउने गरेका छन्,’ उनले भने । विद्यार्थी प्रायः स्वविवेकले पढ्न आउँछन् । कुलेखानी घर भएका १२ वर्षीय रमेश दुबे पनि उक्त विद्यालयमा अध्ययन गर्छन् । गाउँमा आर्थिक अवस्था कमजोर भएको र स्कुल पनि टाढा भएकाले आफूले पढ्न नपाएको र सहरमा आएर काम पनि गर्ने र साँझ नन्दी रात्रि माविमा पढ्न पाएकोमा उनी खुसी व्यक्त गर्दछन् । ‘पढाइलाई उमेरले छेक्दैन’ भनेझैं कक्षा ८ मा पढ्ने ३६ वर्षीय आशा तामाङ भन्छिन्, ‘पहिले इच्छा भएर पनि पढ्न पाएन । अहिले दिउँसो काम गरेर भए पनि रात्रि विद्यालयमा पढ्ने अवसर पाएकाले खुसी महसुस भएको छ ।’
-देबु कुवँर

