काठमाडौं : गत १ वैशाखदेखि २४ फागुनसम्म मुलुकका २ हजार ६३ स्थानमा आगलागी भएको छ। यी घटनामा ८१ जनाको ज्यान गएको छ। ३ सय ५० जना घाइते भएका छन्। २ हजार ४ सय २८ घरपरिवार प्रभावित भएका छन्। २३ फागुनमा एकै दिन ११ जिल्लामा आगलागी भयो। आगो निभाउन सेना, प्रहरी, स्थानीयवासी खटिए। दमकलको सहयोग लिइयो। कतिपय ठाउँमा हेलिकप्टर प्रयोग गरिएको छ ।
गर्मी मौसममा बढी पिरोल्ने विपद् हो, आगलागी। यस्ता घटनाबाट भौतिक मात्रै होइन, मानवीय क्षतिसमेत हुने गरेको छ। पछिल्लो पाँच वर्षमा १४ अर्ब रुपैयाँबराबरको क्षति भएको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। यही अवधिमा ४ सय ७ जनाले ज्यान गुमाएका छन्।
डढेलोले बर्सेनि नयाँ–नयाँ ठाउँलाई खरानी पार्ने गरेको छ। भौगोलिक रूपमा चुरे, तराई र मध्यपहाडी क्षेत्र सबैभन्दा बढी डढेलो लाग्ने क्षेत्रमा पर्छन्। चैत–वैशाखमा सबैभन्दा धेरै डढेलो लाग्छ। चुरे विज्ञ डा. विजय सिंहका अनुसार मध्यपहाडीभन्दा चुरे र तराईमा बढी डढेलो लाग्छ। कतिपयले चोरीसिकारीका साथै नयाँ घाँस उम्रिने र वन अतिक्रमणका लागि पनि आगो लगाउने गरेको डा. सिंह बताउँछन्।
‘चुरे क्षेत्रमा बसोबास र चरिचरन बढेको छ। त्यसले गर्दा पनि डढेलो बढी लाग्ने गरेको छ’, उनी भन्छन्। सन् २०१६ मा सबैभन्दा बढी डढेलो लागेको पाइएको छ। उक्त वर्ष ३१४ पालिका प्रभावित भएका थिए।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्रदेशगत रूपमा प्रदेश १ र मधेसमा बढी घटना भएका छन्। ‘जनघनत्व बढी भएका क्षेत्रमा आगलागीका घटना धेरै भएका छन्’, प्रवक्ता डा. भट्टराई भन्छन्।
प्रहरी र स्थानीय प्रशासनमार्फत आगलागीका घटनाको पञ्जीकरण हुने गरेको छ। त्यसअनुसार डढेलो र आगलागीका घटना चिन्ताजनक देखिएको छ। ‘जंगलमा घाँस उम्रने, जंगलको पातपतिंगर सहितको पानी बगेर खेतबारीमा मलिलो हुन्छ भनेर पनि डढेलो लगाउने गरेको पाइन्छ’, डा. भट्टराई भन्छन्, ‘आगोका स्रोतहरू ननिभाई त्यसै फालिदिनाले जंगलमा फैलन्छ।’
वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट प्रकाशित नेपालको वनको अवस्था, २०१५ ले नेपालमा वनविनाश र क्षयका कारकमध्ये डढेलोलाई चरिचरनपछिको प्रमुख कारक मानेको छ। जंगलमा हुने क्षति वैज्ञानिक मापदण्डअनुसार मापन गर्न सकिएको छैन। स्याटेलाइटको उपकरणबाट कैद गरिएको तस्बिरले डढेलोको अवस्था भयावह देखिएको छ। ‘जंगलमा लागेको डढेलोको क्षति वस्तुपरक छैन। मापदण्ड बनाएर क्षति मापन गर्नुपर्ने जरुरी छ’, उनी भन्छन्।
आगलागीको मुख्य कारण असावधानी र मानवीय गतिविधि भएको प्रवक्ता डा. भट्टराई बताउँछन्। ‘सचेतनाको कमीले नै आगलागीका घटना बढिरहेका छन्। जनता जुन ढंगले सचेत हुनुपथ्र्यो त्यो हुन सकेका छैन’, उनी भन्छन्, ‘असावधानीवश भएका घटना बढी देखिएको छ। कतै विद्युत् सर्ट भएर पनि आगलागी भएको छ।’
पूजाकोठामा बत्ती बालेर छोड्ने, चुरोट सेवन गरेपछि ननिभाएर छोड्नेलगायतका प्रवृत्तिले घरमा आगलागी भइरहेको छ। खाना पकाउने क्रममा ग्यास वा दाउराको चुलोबाट हुने आगलागीले पनि मानवीय एवं आर्थिक क्षति बढाएको प्राधिकरणले जनाएको छ।
दमकल छिर्न मुस्किल हुने साँघुरा गल्लीमा आगलागी भइहालेमा पनि नियन्त्रण गर्न ढिलाइ हुने गरेको डा. सिंह बताउँछन्। त्यस्तो ठाउँमा हेलिकोप्टर एवं रोबोटिङ फायर फाइटिङको प्रयोग गर्नुपर्ने डा. भट्टराई बताउँछन्।
वातावरणमा प्रतिकूल असर
आगलागी वा डढेलोबाट हुने मानवीय क्षतिसँगै पर्यावरणमा पनि ठूलो क्षति पुगेको छ। वनमा डढेलो लागेपछि वनस्पति, जनावर मर्छन्। ‘डढेलोले जंगलभित्रको जैविक विविधतामा ह्रास ल्याइरहेको छ । वायु प्रदूषण बढाएको छ’, उनी भन्छन्, ‘जंगलको उत्पादकत्व र कार्बन सञ्चयमा ह्रास आउँछ। धुवाँले मानव स्वास्थ्यमा ठूलो असर पार्छ।’
यद्यपि वन व्यवस्थापनमा प्रयोग गरिने नियन्त्रित डढेलो पारिस्थितिकीय प्रणालीको सन्तुलन मानिन्छ। तर, नेपालमा अनियन्त्रित किसिमले हुने डढेलोले क्षति बढी भइरहेको विज्ञहरू बताउँछन्।
अन्तिम विकल्प हेलिकप्टर
विपद्का घटना हुनासाथ तत्कालै गरिने खोज, उद्धार एवं राहतसँग सम्बन्धित कार्य विपद् प्रतिकार्य प्रभावकारी हुन नसक्दा क्षति बढी भइरहेको छ। वनमा आगलागी भए अन्तिम विकल्पका रूपमा हेलिकप्टरको प्रयोग हुने गरेको डा.भट्टराई बताउँछन्।
‘स्थानीय जनता, सुरक्षाकर्मी र दमकल नै पहिलो प्राथमिकता हो। हेलिकप्टरको प्रयोग खर्चिलो भएकाले अन्तिम विकल्प हो। रोबोटिङ फायर फाइटिङको प्रयोग पनि गर्नुपर्ने हुन्छ’, उनी भन्छन्। ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रस्थित वनमा लागेको डढेलो निभाउन पहिलोपटक हेलिकप्टर प्रयोग गरिएको थियो।
विपद् जोखिम न्यूनीकरण
आगलागीका घटना न्यूनीकरणका लागि सचेतता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। संघीय एवं प्रादेशिक र स्थानीय सरकारले विपद्पूर्व गरिने जोखिमको विश्लेषण तथा मूल्यांकन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्नुपर्ने डा. भट्टराई बताउँछन्। ‘जोखिम न्यूनीकरणलाई मूल प्रणालीमा आबद्ध गर्नुपर्छ। घटनापछि गरिने लगानीभन्दा विपद् हुनु अघि लगानीलाई प्राथमिक दिनुपर्छ। यस्तो लगानी निकै थोरै पर्छ’, उनी भन्छन्।
प्रमुख जिल्ला अधिकारीले जिल्ला विपद् व्यवस्थापन कोषमा हिमाली जिल्लाको हकमा ४ लाख रुपैयाँ, पहाडी जिल्लाको हकमा ५ लाख र तराई जिल्लाको हकमा ७ लाख रुपैयाँ न्यूनतम रकम मौज्दात राख्ने व्यवस्था मिलाउनु पर्ने प्राधिकरणले जनाएको छ। विपद्को घटनामा परी कुनै परिवारमा १ जनाको मृत्यु भएमा दुई लाखका दरले, सोही परिवारमा अन्य व्यक्तिको समेत मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनुपर्ने व्यवस्था छ। यसरी मृतकको परिवारलाई उपलब्ध गराइने राहत एकद्वार नीति अवलम्बन गरी उपलब्ध गराउने व्यवस्था छ।
विपद्का घटनामा परी घाइते हुनेहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानि गर्नुपर्ने व्यवस्था छ। त्यस्ता व्यक्तिलाई अस्पतालबाट घरजान आर्थिक सहयोग स्वरूप प्रतिव्यक्ति एक हजार र यातायात खर्च दिने व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता डा. भट्टराईले बताए।
डढेलो निभाउँदा १ को मृत्यु
म्याग्दीमा डढेलो निभाउने क्रममा मंगलबार एक जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि पोखरा लगिएको छ। मृत्यु हुनेमा मालिका गाउँपालिका–५ का २६ वर्षीय मबहादुर बोहोरा छन्। उनी सोही वडाको देवीस्थानस्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बोहोराको घटनास्थलमै ज्यान गएको बताए। घाइते हुनेमा स्थानीय २१ वर्षीय मनबहादुर सार्की छन्।
उनलाई दरवाङ प्राथमिक उपचार केन्द्रमा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ। गाउँपालिका केन्द्र दरबाङ बजारनजिकै रहेको वनको सबै क्षेत्र डढेलोले सखाप पारेको छ।



