काठमाडौं : क्यान्सरका बिरामीलाई खुसीको खबर ! यो रोगको औषधि नेपालमै बनेको छ। औषधिको खोलमा लेखिएको छ, ‘मेड इन नेपाल।’
यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। ‘इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना छ’, कार्यकारी निर्देशक वैद्यले भने, ‘अहिले मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा छ। केही समयपछि इन्जेक्सन स्वरूपमा पनि जानेछौं।’
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वल पाण्डेले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुनु गौरवको विषय भएको बताए। यसले बिरामीमा राहत पुग्ने विश्वास विशेषज्ञले व्यक्त गरेका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एमके पियाले भने, ‘पहिला विदेशमै उत्पादित औषधि पनि पर्याप्त पाइँदैनथ्यो। अहिले स्वदेशमै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु खुसीको विषय हो। गुणस्तरमा ध्यान दिंँदै सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्छ। ’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अङकोलोजिष्ट डा. अरुण शाहीले गुणस्तर र औषधिको मूल्य सर्वसुलभ गराउनुपर्ने बताए। भने, ‘औषधि कम्पनीलाई सहुलियत दिएर भए पनि स्वदेशी उद्योगलाई प्रात्साहित गर्नुपर्छ। औषधि उद्योगले पनि आर्थिक रूपमा विपन्नवर्गको पहुँच पुग्ने गरी सर्वसुलभ बनाउनुपर्छ।’
मूल्य केही न केही सस्तो
आयातित औषधिको तुलनामा स्वदेशकै उत्पादन केही सस्तो हुने पनि कार्यकारी निर्देशक वैद्यले बताए। ‘हामीले उत्पादन गरेका औषधि पनि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्नेछ’, वैद्यले भने, ‘उही औषधि स्वदेशमै उत्पादन हुँदा बिरामीलाई केही सहुलियत अवश्य दिनेछौं।’ स्वदेशमा उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धतासमेत हुने उनले बताए। ‘औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन,’ उनले भने।
निर्यात गर्ने लक्ष्य
औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। जसमध्ये पाँचवटा फर्माकोपेल, अरू नन् फर्माकोपेल छन्। यीमध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको वैद्यले बताए। स्वदेशमै बिक्री बितरण गर्न तीनवटा मोलिक्युलको अनुमति प्राप्त गरेको छ। विदेश निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृतिपत्र प्राप्त भएको उनले बताए। भारतको हैदरवादस्थित एसपी एक्युर ल्याबसँग प्रविधि हस्तान्तरण सम्झौता गरी वैदेशिक लगानीसाथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो।
विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले क्यान्सरको स्वदेशमै गुणस्तरीय औषधि उत्पादन हुने प्रत्याभूति हुने बताए। ‘स्वदेशमै क्यान्सरको गुणस्तरीय औषधि उत्पादनले लगानीकर्तालाई प्रोत्साहित गर्छ’, केसीले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीति छ।’ विश्व स्वास्थ्य संगठनको स्टान्डर्ड र नेपालको प्रविधि हस्तान्तरणसम्बन्धी ऐनअनुसार नै सञ्चालनमा ल्याइएको हो। संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरूका पालना हुने निर्देशक वैद्यले बताए।
औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित संगठनको निर्देशिका, नेपालको औषधि ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरूको ग्रन्थमा गरिएका व्यवस्थाबमोजिम हुने जनाइएको छ।

