काठमाडौं । मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
आयामेली कवि काईंलालाई बिहीबार राति मस्तिष्कघात भएपछि ओम अस्पताल भर्ना गरिएको छ । काइँलाकी छोरी नामोती नेम्बाङका अनुसार देब्रे भागमा मस्तिष्कघात भएका कारण शरीरको दायाँ भागमा असर परेको छ । ‘शरीरको दायाँ भाग चलाउन असहज भएको छ । विस्तारै जीउ चटपटाउन थाल्नु भएको छ । बोलि लर्बरिएको छ । ’ उनले भनिन् । चिकित्सकले ‘ईस्केमिक स्ट्रोक’ भएको परिवारलाई जानकारी दिएका छन् ।
सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । ८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अंग्रेजी अनूदित संग्रहमाथि काम गरिरहेका थिए ।
पाँचथर जिल्लामा जन्मेका काईंलाले आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको शुरुवात गरेका थिए । वि.स २०६६ सालदेखि २०७० सालसम्म उनी प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए ।

