काठमाडौं । पश्चिम नेपालको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारकालागि उपयोग गरिंदै आएको रेम्डेसिभिरको प्रयोगमा रोक लगाइएको छ ।
रेम्डेसिभिरको कालो बजारी भइरहेकै बेला सीमापारिबाट समेत भन्सार छलेर नक्कली औषधि ल्याईंदै आएको थियो । रेम्डेसिभिरको कालो बजारी भएको पाईए पछि भेरी अस्पतालले उक्त औषधि प्रयोगमा पूर्णरुपमा रोक लगाएको छ । रेम्डेसिभिरको औषधिको गुणस्तर तथा प्रभावकारिता माथि नै प्रश्न उठेपछि कोरोना भाइरस कोरोना संक्रमितको उपचार गर्दै आएको भेरी अस्पतालले उक्त औषधि प्रयोगमा रोक लगाएको हो ।
एकातिर औषधिको कालो बजारी, अर्कोतिर सीमापारीबाट रेम्डेसिभिरसँग हु –बहु मिल्दोजुल्दो नक्कली औषधि समेत बजारमा विक्रि गर्ने समूह सक्रिय हुँदै गएको पाइए पछि चिकित्सकले रेम्डेसिभिर औषधिको सिफारिस गर्न बन्द गरेका हुन् । भेरी अस्पताल फार्मेसिबाट हुँदै आएको विक्रि वितरण समेत रोकेको हो । भेरी अस्पतालका निमित्त निर्देशक डा. प्रकाशबहादुर थापाका अनुसार पछिल्लो समय (दुईसाताजति भयो ) रेम्डेसिभिर विक्रिवितरणमा रोक लगाइएको हो । हामीले अस्पतालको फार्मेसिबाट औषधि पनि विक्रि गरेका छैनौं ।‘सरकारबाट प्राप्त भएको साढे दुई सय हाराहारिको इन्जेक्सन पनि भर्ना नभएका बिरामीलाई निःशुल्क दिंदै आइरहेका छौं । र त्यो पनि लगभग सकिसकेको छ ।’ डा. थापाले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि रेम्डेसिभिर औषधि कोरोना भाइरसका संक्रमितलाई प्रयोग नगर्न भनिसकेको छ । दुई महिनादेखि भित्रभित्रै सिमा पारीबाट भन्सार छलेर नक्कली औषधि बजारमा ल्याउने र बिरामीका आफन्तलाई विक्रि गर्ने समूह सक्रिय हुँदै आएको थियो । बिरामी बचाउन सकिने आसामा झन् घातक औषधिको प्रयोग भएरहेको पाइएकोले डब्लुएचओले पनि रोक लगाएको हो । परीक्षण विना कुन सक्कली र कुन नक्कली छुट्याउनै नसकिने र भारतबाट ल्याएको औषधि प्रयोग गर्दा संक्रमितको अवस्था सुधार हुनुको साटो उल्टो झन् बिग्रने गरेको पाइएको छ ।
बाँकेमा कोरोना फोकल पर्सन तेज वलीले चिकित्सकको सिफारिसमा आफ्नै एकजना आफन्तलाई रेम्डेसिभिर औषधि प्रयोग गर्दा अवस्था पहिले भन्दा झन् बिग्रेर भेन्टिलेटरमै राख्नु परेको र अन्त्यमा मृत्यु भएको बताएका छन् । फोकल पर्सन तेज वली भन्छन,‘रेम्डेसिभिरको एक डोज लगाउने वित्तिकै उहाँ (आफन्त) सिरियस चाहिं हुनु भएको हो । उहाँ यतिसम्म सिरियस हुनु भयो की हामीले भेन्टिलेटरमै राख्नु पर्ने अवस्था भयो ।’डा. थापाका अनुसार, रेम्डेसिभिर अनुसन्धानमै रहेको एन्टि भाइरल ड्रग हो । कुनै देशले प्रयोग गरिरहेका छन् भने कुनै देशले प्रयोग गरेको छैन । ‘डब्लुएचओले पनि इन्जेक्सन रेम्डेसिभिरलाई प्रयोग नगर्ने भनिसकेको अवस्थामा रेम्डेसिभिरले राम्रो गर्छ, ज्यानै बचाउँछ भन्ने कुरामा पनि हामीले गरिरहेको उपचारबाट निष्कर्ष निकाल्न सकिंदैन ।’ डा. थापाले भने ।
रेम्डेसिभिर औषधिको प्रयोगले कुनै कुनै कोरोना भाइरस संक्रमित निको भएता पनि अधिकांशमा प्रतिकूल असर देखिएको पाइएको छ । जसका कारण भेरी अस्पतालले रेम्डेसिभिर प्रयोग गर्न छोडेको छ । यो औषधिको कारण संक्रमितको ज्यान बचाउन सकिन्छ भन्ने कुनै भरपर्दो आधारको प्रभावकारिता नदेखिएको चिकित्सकको भनाई उदृत गर्दै नेपालगन्जका बरिष्ठ पत्रकार जे.पाण्डेले जनाएका छन् ।

