काठमाडौं ।
* बुटवलस्थित कोरोना अस्पतालमा दुई साता आईसीयूमा उपचारपछि कपिलवस्तुका कोरोना ६० वर्षीय पुरुष डिस्चार्ज भए । डिस्चार्ज भए लगत्तै कालो ढुसि (म्यूकरमाइकोसिस)को संक्रमणले ज्यान गयो ।
* बाँके,कोहलपुरमा कोराना संक्रमणको उपचारमा गराइरहेका दाङका ५८ वर्षिय पुरुषको पनि कालो ढुसि (म्यूकरमाइकोसिस)को संक्रमणले मृत्यु भयो ।
कोरोना भाइरसको संक्रमणपछि फङ्गस अर्थात कालो ढुसीको संक्रमणबाट ज्यान जान थालेको छ । संक्रमणले कतिपयको आँखा, नाक र अनुहार बिगारिरहेको छ ।
कोरोना भाइरस संक्रमितलाई निको हुने बेलातिर कालो ढुसीको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये केहिको ज्यान गएको र केहि उपचाररत रहेको मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईसीसिडि)का निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुरयाउने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईसीसिडि)का निर्देशक डा. पौडेलका अनुसार, झण्डै एक दर्जन व्यक्तिमा कालो ढुसिको संक्रमण पुष्टि भएको छ । जसमध्ये सीमावर्ति नेपालगन्जमा तीन र बीरगन्जमा २ जनामा पुष्टि भएको छ । काठमाडौंमा तीनवटा अस्पतालमा केहि संक्रमितको उपचार भइरहेको छ ।
फङ्गसको त्रास
भारतमा ब्ल्याक, ह्वाइट र येलो फङ्गसका संक्रमितहरु बढ्दै गएका समाचार एजेन्सिहरुले जनाएका छन् । जसमध्ये ब्ल्याक फङ्गस भनिने कालो ढुसीको संक्रमण सीमापारी उत्तर प्रदेश र सीमावर्ति बाँके, पर्सा लगायतका जिल्लामा बढ्दो छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार, फङ्गसहरु अवसरवादी हुन्छन् । ‘यी अपर्चुनिष्ट (अवसरवादी) फङ्गस हुन् । मौका छोप्छन् । रोग प्रतिरोध क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण गर्छन् ।’ डा. पौडेलले भने, ‘स्टेरोईड (अक्सिजन लेभल घटेको बेला दिइने औषधि ) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी हुन्छ ।’एक खालको अवसरवादी फङ्गसका कारण कालो ढुसीको संक्रमण भएको डा. पौडेलले बताए । उनले भने,‘ठ्याक्कै तथ्यांक प्राप्त भइसकेको छैन । नेपालगन्ज,वीरगन्ज र काठमाडौंमा गरि १०\१२ जनालाई संक्रमण भएको छ ।’
भारतसँग सीमा जोडिएका सीमावर्ति वीरगञ्ज र नेपालगन्जमा संक्रमण विस्तार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् । कोहलपुर मेडिकल कलेजमा कार्यरत बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलका अनुसार ४५ देखि ६५ वर्ष उमेर समूहका दीर्घरोगीहरुलाई संक्रमणको जोखिम हुने गरेको छ ।
मधुमेह (डायबिटिज)का बिरामीका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा कालो ढुसिको संक्रमण बढि पाइएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । ‘ रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निन थालेको छ भने एक्युट इन्भेजिभ साइनेसाईटिस हुन सक्छ । कालो ढुसिको संक्रमणले गर्दा पनि यस खालको समस्या देखिन्छ ।’ डा. पौडेलले भने ।
शरीरका विभिन्न अँग कुहाउने संक्रमणलाई यल्लो फङ्गस भनिने डा. ढुण्डिराज पौेडेलको भनाई छ । यस खालको समस्या भएका संक्रमित उत्तर भारतमा रहेका छन् । ‘ यल्लो फंगसको संक्रमणले शरीरका अंग, प्रत्यंग कुहाउँछ ।’ डा. पौडेलले भने,‘ कोरोना संक्रमण पछि नेपालमा देखिएको कालो ढुसिहो । यसलाई ब्ल्याक फङ्गस भनिन्छ ।’
ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विशिष्टिकरण गरि छुट्याउन कल्चर गर्नु पर्ने हुन्छ । ‘यो कल्चरको रिपोर्ट प्राप्त गर्न दुई\तीन साता पनि लाग्न सक्छ । वायोप्सि पनि गर्नु पर्ने हुन्छ । ’ डा. पौडेलले भने,‘ फङ्गसको संक्रमण हुने बित्तिकै ‘एम्फोटेरिसिन बी’ औषधि चलाइहाल्नु पर्छ । यो पनि दुई खालको औषधि हुन्छ । जसमध्ये मिर्गौला बचाउने खालको औषधि प्रयोग गर्नु पर्छ ।’
डब्लुएचओद्धारा औषधि सहयोग
कालो ढुसि संक्रमितको उपचारमा उपयोग गरिने ‘एम्फोटेरिसिन बी’को अभाव हुन थालेको छ । यो औषधि कालाजारका बिरामीमा पनि प्रयोग हुने गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार, यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले औषधि नेपालमा पठाउन थालेको छ । उनले भने,‘अहिले बजारमा खरिद गरेर औषधि सेवन गर्नु पर्ने अवस्था छ । डब्लुएचओबाट जुन ५ तारिखमा औषधि आउँदैछ । त्यो औषधि पाए पछि हामीले निःशुल्क नै बाँड्ने छौं ।’ डब्लुएचओले आगामी शनिवार पहिलो खेपमा एक हजार भायल औषधि पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

