काठमाडौं : नेकपा माओवादी केन्द्रले कोरोना महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले केन्द्रदेखि वडातहमा कोभिड सेवा ईकाई गठन गर्ने निर्णय गरेको हो ।
महामारिबाट जनताको जीवन रक्षा गर्ने कार्यमा सहयोग पुर्याउन स्वयं सेवा अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा विकसित घटनाक्रमका बारेमा समिक्षा गर्न बसेको स्थायी समिति बैठकपछि जारी अपिलमा भनिएको छ, ‘देश अहिले कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त छ । यस्तो वेलामा सम्पूर्ण राजनीतिक तथा समाजिक शक्तिहरुलाई एकजुट बनाएर महामारीको विरुद्ध जुझ्नु पर्नेमा ओली सरकारको यस्तो गैरजिम्मेवार क्रियाकलापका कारण जनताको जीवनरक्षा जस्तो संवेदनशील बिषय गम्भीर बनिरहेको छ । दिनानुदिन संक्रमण विस्तार भइरहेको छ र कयौ जनताले ज्यान गुमाइरहेका छन् ।
हाम्रो पार्टीले केन्द्रदेखि वडासम्मका सबै तहमा कोभिड सेवा इकाई गठन गर्दै कोभिडको महामारीबाट जनताको जीवन रक्षा गर्ने कार्यमा सहयोग पु¥याउन स्वयं सेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ र अघि बढाइ पनि रहेको छ । स्वास्थ्यको कोणबाट देखिएको यो गम्भीर संकटको अतिरिक्त गरीव एवं विपन्न समुदाय कामको अभावमा बिहान बेलुकीको छाक टार्न नसकी भोकले मर्ने दर्दनाक स्थिति प्रवल हुदैछ । अर्थतन्त्र धाराशायी बन्ने खतरा उत्पन्न हुदैछ ।’


