काठमाडौं । कोरोनाका बिरामीको उपचारमा प्रयोग गर्ने गरिएको रेम्डेसिभिर औषधि उत्पादनको अनुमति पाएको नेपाली कम्पनीले परीक्षण उत्पादन शुरु गरेको छ।
औषधि व्यवस्था विभागका अनुसार वीरगन्जस्थित नेशनल हेल्थकेअर प्राइभेट लिमिटेडलाई रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिइएको थियो। विभागका सूचना धिकारी सन्तोष केसीले कम्पनीको उत्पादन क्षमता, पूर्वाधार तथा आवश्यक कच्चा पदार्थ उपलब्ध हुने अवस्था लगायतका पक्ष हेरेर उत्पादन अनुमति दिएको जानकारी दिए ।
नेशनल हेल्थकेअर प्राइभेट लिमिटेड कम्पनीका उपाध्यक्ष अजय पाण्डेले रेम्डेसिभिरको ट्रायल ब्याच उत्पादन नै गरिसकेको र औषधि व्यवस्था विभाग त्यसलाई हेर्ने प्रक्रियामा रहेको बताए । औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउन चिनियाँ कम्पनीलाई रकम दिइसकिएको छ ।
नेपालमै उत्पादित रेम्डेसिभिर आउँदो जून महिनाको मध्यसम्म बजारमा उपलब्ध हुनेगरी प्रयास गरिरहेको पाण्डेले बताए। गुणस्तर लगायतका पक्ष आफूहरूले हेरेपछि बजारमा आउने विभागका केसीले जानकारी दिए।
नेपालले हाल बंगलादेशबाट र छिमेकी मुलुक भारतबाट उक्त औषधि आयात गर्दै आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मूल्य प्रति भायल रेम्डेसिभिरको ४,९०० रुपैयाँ तोकेको थियो। नेपालमै उत्पादन हुने भएपछि भारत र बाङ्ग्लादेशबाट आयात गरिएको भन्दा सस्तो पर्ने अपेक्षा गरिएको छ ।
कति प्रभावकारी ?
संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले रेम्डेसिभिरको आपत्कालीन प्रयोग अनुमति दिएको छ।
निर्देशिकामा भनिएको छ,’अस्पतालमा भर्ना भएका अक्सिजन दिनुपर्ने बिरामीहरूमा यसको प्रयोगका लागि अनुमति दिइएको छ।’
यद्यपि मेकानिकल भेन्टिलेशन आवश्यक पर्ने बिरामीको हकमा प्रयोग गर्न यो सामान्यतया सिफारिस गरिँदैन किनकि रोगको यस्तो चरम अवस्थामा यो उनीहरूका लागि फाइदाजनक हुन्छ भनेर देखाउने पर्याप्त तथ्याङ्क छैनन्।कोरोनाभाइरसबाट सङ्क्रमित हुनासाथ र कुनै लक्षण नदेखिए पनि बिरामीलाई रेम्डेसिभिर दिइहाल्नपर्ने औषधि नभएको पल्मोनरी एन्ड क्रिटिकल केअरसम्बन्धी विज्ञ प्राध्यापक डा.अर्जुन कार्की बताउँछन्।’अक्सिजनको मात्रा नै घटेर नाकबाट अक्सिजन दिनुपर्ने चरणमा पुगेपछि रेम्डेसिभिर दिने हो। रोग गम्भीर अवस्थामा पुगिसकेपछि यसको धेरै प्रभावकारिता देखिएको छैन।’

