झापा : प्रधानमन्त्री केपी ओलीले झापाको बी एण्ड सी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बताएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अस्पताललाई मान्यता दिने वचन दिएका हुन् । ओलीले यो विषय झापाको लागि मात्रै नभएर छिमेकी देशका लागि पनि गौरवको कुरा हुने बताए ।
बी एण्ड सीले मान्यता नपाएको विषयमा बोल्दै मंगलबार ओलीले मान्यता पाउने प्रष्ट पारेका हुन् । ‘बी एण्ड सी मेडिकल कलेजको अहिलेसम्म मान्यता पाएको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘यो माग छिट्टै पूरा हुन्छ ।’
निरोगी देश बनाउनका निम्ति बी एण्ड सी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यकता भएकोसमेत उनले बताएका छन् । ‘हामी नेपाललाई निरोगी देश बनाउन चाहन्छौँ । त्यसको लागि बी एण्ड सी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यता पर्छ’, ओलीले भने ।
ओलीले सबै संरचना बनिसकेको बी एण्ड सीलाई मान्यता नदिने कुरै नहुने प्रष्ट पारे । ‘संरचना तयार पारेको बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने कुरै भएन’, ओलीले भने, ‘सबैलाई थाहा छ नेपाल मेडिकलको क्षेत्रमा संसारको सबैभन्दा सस्तोमा उपचार पाउने ठाउँ हो ।’ बिर्तामोड निवासी दुर्गा प्रसाईँले ६ अर्ब निजी लगानीमा सो अस्पताल निर्माण भएको हो । अस्पतालमा तीन सय शय्या छन्।
गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान अस्पतालले जनाएको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए .

