काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद( एनएचआरसी)ले मुलुकमा बुधबारदेखि लगाउन शुरु गरिने कोरोना विरुद्धको खोपको प्रभावका बारे अध्ययन गर्ने भएको छ ।
परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले खोपको व्यवस्थापन,भण्डारण एवं ढुवानीका साथै खोप लगाइसकेपछिको प्रभावको बारे पनि अध्ययन गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर पहिलो चरणको खोप बुधबार शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतले अनुदानस्वरुप उपलब्ध गराएको कोभिशिल्ड खोप अक्सफोर्ड युनिभर्सिटि र एस्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्तरुपमा विकास गरेको हो । भारतस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो खोपको तेस्रो चरणको ट्रायल समेत पार भइसकेको डा. ज्ञवालीले बताए । ‘ खोप निर्धक्क भएर लगाए हुन्छ । लगाइसकेपछि पनि त्यसको प्रभावको के कस्तो देखिन्छ । त्यसको बारेमा पनि हामी अध्ययन गर्छौ ।’ डा. ज्ञवालीले भने ।
कोरोना विरुद्धको १० लाख डोज खोप करीब ४ लाख ३० हजार जनालाई पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशका ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप शुभारम्भ गरिने छ । माघ १८ गतेभित्र ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रमार्फत यो खोप प्रदान गरिने भएको छ । पहिलो चरणको खोप शुरु गरेको बढीमा दश दिन भित्र सम्पन्न गरिने छ ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सोही अनुसार, पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेन्स तथा शव बाहन चालक तथा सहचालकहरु, प्रत्यक्ष उपचार सेवा दिने तथा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु रहेका छन् । त्यस्तै महिला स्वास्थ्य स्वयंसेवक ÷स्वयंसेविका, अन्तर्राष्टिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी तथा जेलमा रहेका केही कैदी तथा सुरक्षाकर्मीहरुलाई खोप सेवामा सहभागी गराइने छ ।
खोप प्रभावको अध्ययन गरिंदै
खोप प्रभावको अध्ययन गरिंदै
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

