काठमाडौं । नेपाल चिकित्सक संघले आवश्यक पर्ने आईसीयू बेड, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधिको सहज उपलब्ध गराउन माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवं संक्रमणका लागिआवश्यक पर्ने आइसियू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधीहरुको सहज उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गरेका छन् ।
नेपालमा हालसम्म १ लाख २१ हजार ७ सय ४५ जना संक्रमित भई सकेको र ६९४ जनाले मृत्यु वरण गर्नु परेको विद्यमान अवस्थाले कोरोनाको संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जना हुन गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको जनाइएको छ ।
ननकोभिडका बिरामीले उपचार गराउन समेत कठिनाई उत्पन्न भईरहेको गम्भीर परिस्थितिप्रति सरकार संवेदनशील हुन र अबिलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न जरुरी भइ सकेको विज्ञप्तिमा उल्लेख छ ।

