काठमाडौं । पहिलो पटक कोरोना संक्रमित बिरामीको मृत शरीरको आइतबार पोष्टमार्टम गरिएको छ ।
संक्रमितको बारेमा अनुसन्धान गर्नको लागि भारतमा शवको पोष्टमार्टम गरिएको जनाईएको छ । शरीरमा कति लामो समस्यसम्म कोरोना भाइरस रहन्छ ? र कुन अंगलाई भाइरसले कति हदसम्मको असर गर्दछ ? भन्ने अनुसन्धानको लागि पोष्टमार्टम गरिएको हो ।
भारतीय चिकित्सा अनुसन्धान परिषद (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) बाट स्वीकृत लिएर भोपालस्थित अल इन्डिया इन्स्च्टीच्यूट अफ मेडिकल साइन्सेज(एम्स) ,भोपाल ले पोष्टमार्टम गरेको हो । एम्सले यस अघि पनि कोरोनाबारे अध्ययनका लागि संक्रमित व्यक्तिको शवको पोष्टमार्टम गर्न मन्जुरी मागेपनि दिइएको थिएन । संक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अनुमति दिइएको थिएन । पोष्टमार्टम गर्ने उन्नत प्रविधिको बारेमा जानकारी पठाएपछि भारतीय चिकित्सा अनुसन्धान परिषदले अनुमति दिएको थियो ।त्यसपछि बल्ल संक्रमण रोकथामका उपायहरु सहित पोष्टमार्टम गर्नका लागि अनुमति दिइएको थियो ।
पोष्टमार्टमा चिकित्सकहरुको पोष्टमार्टम टोलीले पीपीई कीट सहित अन्य सुरक्षात्मक मापदण्ड पालना गरेको थियो । भोपाल एम्सका निर्देशक डा. सरमन सिंहका अनुसार पोष्टमार्टमले शरीरका अंगहरुमा कोरोना भाइरसको प्रभावबारे जानकारी पाउन सकिन्छ । संक्रमित भइसकेपछि कसरी भाइरसले मुटु, फोक्सो, मस्तिष्क वा अन्य अंगलाई असर गर्छ भन्ने बारेमा पनि थाहा पाउन सकिन्छ । फरेन्सिक विज्ञबाहेक अन्य तीन विभागका टोलीले करिब दुई घण्टा लगाएर शवको पोष्मार्टम गरेका छन् । शरीरको कुन अंगमा भाइरसले बढि प्रभाव पारेको छ ? यसबारे जानकारी हासिल हुने चिकित्सकको अपेक्षा छ ।

