काठमाडौं । सम्माननीय प्रधानमन्त्री ज्यू, आगो बलिरहेको छ । आधा बाल्टिन पानी छ भन्दै समयमा आगो ननिभाउँदा डढेलो लाग्छ । त्यो बेला अर्को एक बाल्टी पानीले पनि नभ्याउन सक्छ । भन्न खोजेको के हो भने हामीसँग बजेट एवं स्रोत न्युन छ भन्दै पीसीआर परीक्षण गर्न डराएर हुँदैन । आइसोलेसन एवं आइसीयु बेड थप्न डराउनु हुँदैन ।’
नेपाल चिकित्सक सघका अध्यक्ष डा. लोचन कार्कीले प्रधानमन्त्री केपी ओलीका सामुन्ने अलि फरक शैलीमा सुझाव दिए । शब्दलाई लक्षणा र व्यञ्जनामा ढाल्दै उनले थपे,बजेट कम छ भनेर चुप लागेर बसियो भने भोलीका दिनमा भयावहस्थिति हुँदा एक बाल्टि पानीले आगो निभाउन सकिने अवस्था हुँदैन । आगो सानो हुँदा नै झयाप्पै आगो निभाउनु पर्छ । बजेट खर्च गर्न डराउनु भएन । ’
भुङग्रोमा स्वास्थ्यकर्मी
चिकित्सकहरुका नेता डा. कार्कीले पेशागत हकहितका सवालमा पनि चनाखो हुँदै सुझाव दिन पछि परेनन । नेपालमा अहिले दुई सय भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसके । बंगलादेशमा एक शय जना भन्दा बढीको मृत्यु समेत भइसक्यो । नेपालमा पनि स्वास्थ्यकर्मीहरु भोली ज्यान नजाला भन्न सकिंदैन ।’ उनले भविष्यको मोटामोटी आँकलन गरे । स्वास्थ्य उपचारको जिम्मा सरकारले लिनु पर्ने अभिभावकीय दायित्व स्मरण गराउँदै उनले डेडिकेटेड अस्पतालको खाँचो औल्याए ।
उपत्यका बाहिर संक्रमित भए हेलिकोप्टर चढाएर ल्याउन पनि तयार हुने गरि व्यवस्थापकीय कार्य गर्न सुझाए । एउटा डाक्टर संक्रमित हुँदा धेरैजना लाई असर पुग्छ । स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि पनि सरकारले यो कार्य गर्नुपर्छ । अर्को कुरा चाहिं स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन । सेवामा खटिंदा पनि दुव्र्यवहार भएका छन ।’ उनले गुनासो पोखे ।
चरणबद्ध खोलिनु पथ्र्यो, लक डाउन
गत चैत ११ गते सरकारले लक डाउनको घोषणा गरी साउन ६ गते लक डाउन अन्त्य गर्न हतार गरिएकोमा उनले टिप्पणी गरे । पूर्वाधारको तयारी विना नै लक डाउन खोलियो । लक डाउन खोल्दा जनतामा पनि कोरोना नियन्त्रण भइसकेको महसुस हुन पुग्यो । एकैचौटी लक डाउन खोल्ने भन्दा पनि फेज वन, फेज टू , फेज थ्री गरेर लक डाउन खुकुलो बनाउनु पथ्र्यो ।’ डा. कार्कीको सुझाव थियो । जनस्वास्थ्यका मापदण्ड पालना भयो की भएन ? त्यो पनि हेरिएन भन्दै डा.कार्कीले कटाक्ष गरे ।
काठमाडौं उपत्यका जोखिममा रहेको चर्चा गर्दै उनले संक्रमित व्यक्तिलाई नाकाबाट छिर्न नदिने उपाय अवलम्बन गर्न सुझाए । संक्रमित व्यक्ति छिर्न दिनु भएन । यदि छिरेका छन भने पनि कुन क्षेत्रमा संक्रमित छन । त्यहाँ कडा रुपमा निगरानी गर्नु परयो । ’
स्वास्थ्यविज्ञलाई सचिव
मुलुक संघियतामा गएकोले स्थानीय तहमा अहेबको मातहतमा छैंठौं/सातौ तहका चिकित्सक रहने व्यवस्था रहेकोले पुनरावलोकन गर्नपर्ने बताए । स्वास्थ्य सचिवमा खाली रहेको दरबन्दीमा चिकित्सकलाई यथाशीघ्र पूर्ति गर्ने व्यवस्था गर्नु पने माग सहितको सुझाव दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समेत उपस्थिति रहेको छलफलमा डा. कार्कीले स्वास्थ्य सेवा समूहबाट सचिव नियुक्तिमा पनि ध्यानाकर्षण गराए । चिकित्सक संघले प्रशासन तर्फका सचिवले जनस्वास्थ्यका विषय नबुझ्ने भएकोले स्वास्थ्य सेवाबाट नै सचिव नियुक्ति हुनु पर्ने माग अघि सार्दै आएको छ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको गत पुस २१ गते राजीनामा स्वीकृत भएपछि पद रिक्त राखिएको छ ।
स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचवि पदमा नयिुक्त हुन सक्ने व्यवस्था स्वास्थ्य सेवा ऐनको दफा १९ मा छ । स्वास्थ्य मन्त्रालयको १२ औं तहमा तीनवटा पद छन । जसमा डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा. दीपेन्द्ररमण सिंह छन । स्वास्थ्य सचिवमा खाली रहेको दरबन्दीमा चिकित्सकलाई यथाशीघ्र पूर्ति गर्ने व्यवस्था गर्नु पने माग सहितको सुझाव दिए । ॅ यस्तो विषम परिस्थितिमा यथाशीघ्र चिकित्सकहरुबाट स्वास्थ्य सचिव नियुक्त गरियोस , प्रधानमन्त्री ज्यू ।’ डा. कार्कीले सुझाव दिए ।

