काठमाडौं, साउन १२ । मुलुकमा तीनवटा प्रमुख सुरक्षा निकायमा कोरोना संक्रमण बढेको छ ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक र अन्य शाखा अन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगी सहित १३ जनालाई कोरोना संक्रमणको साउन ११ गते पुष्टि भएको छ । नेपाल प्रहरीमा हालसम्म १ सय १९ जना संक्रमित भइसकेको छन । जसमध्ये २४ उपचाररत छन । ९५ जना निको भई डिस्चार्ज भइसकेका छन ।
त्यस्तै सशस्त्र प्रहरीमा पनि हालसम्म ९१ जना संक्रमित भएको पुष्टि भएको छ । जसमध्ये २६ जना उपचाररत छन । बाँकी ४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।
जनतासँग प्रत्यक्ष सम्पर्कमा नआएका नेपाली सेनाका ७९ जना संक्रमित भएका छन । जसमध्ये ९ जना उपचाररत छन । ७० जना निको भइसकेका छन । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत चार जनामा पनि कोरोना संक्रमण देखिएको थियो । सबैजना निको भई घर फर्किसकेको जनाइएको छ ।

